बालकृष्ण गिरी र प्रेमलता गिरीको पहिलो सन्तानका रुपमा जन्मिएकी हुन् शशिलता गिरी । धनुषा जिल्लाको महोत्तरीमा वि.स. २०१८ साल मंसिर १८ गते सामान्य परिवारमा उनको जन्म भएको हो । दुई बहिनी र दुई भाइहरुकी दिदी शशिलताले काठमाण्डौको पद्मकन्या माध्यमिक विद्यालयबाट एस एलसी उतीर्ण गरेकी थिइन् । त्यसपछि वीरगन्जको ठाकुरराम बहुुमुखी क्याम्पसबाट आइए, बिएड र त्यसपछि हरिखेतान बहुमखी क्याम्पसबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेको उनले बताइन् । छोरीहरु घरबाट निस्कनु हुदैन भने समयमा पनि छोरीलाई पनि पढाउनु पर्छ भन्ने पारिवारिक सोचका साथ आफूले अध्ययन गर्ने मौका पाएको उनको भनाइ छ । विद्यालयमा पढ्दा नेपाली र स्वास्थ्य पढाउने गुरुआमाहरुको अध्यापन शैली, व्यवहार देखेर म पनि शिक्षक शिक्षक बन्छु भन्ने सोच बनाएर अगाडी बढ्दा अहिलेको अवस्थामा आइपुगेको उनको तर्क छ । अहिले उनी वीरगन्जमा रहेको एकमात्र छात्रा विद्यालय राम सुन्दर मल कन्या माध्यमिक विद्यालयकी प्रधनाध्यापिका भइसकेकी छन् । मध्यनेपाल सन्देशले उनै प्रधानाध्यापिका शशिलत्ता गिरीसँग गरेको बिशेष कुराकानी :
१) अध्यापन कार्यको प्रारम्भ कसरी कहाँबाट गर्नु भयो ?
वीरगन्जकै सिद्धार्थ माध्यमिक विद्यालयबाट सुरुमा मैले अध्यापन थाले । त्यहि विद्यालयमा रहँदा नै २०७३ सालदेखि म सह–प्रधानाध्यापकको रुपमा कार्यरत थिए । जीवनको लामो समय अर्थात ३३ वर्ष सो विद्यालयमा नै मैले विताए । अस्ती २०७८ असार ३ गतेबाट भने म राम सुन्दरमल कन्या माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीमा आएको हुँ ।
२) प्रधानाध्यापक भएर कार्यभार सम्हालिरहदा कत्तिको सहजता महसुस गरिरहनु भएको छ ? ।
शिक्षण पेशामा ३३ वर्ष समय विताएर यो स्थानसम्म आइपुग्दा गर्व संगसंगै जीम्मेवारी बढेको महसुस भएको छ । मैले असार ३ गतेदेखि यस विद्यालयमा प्रधानाध्यापकको भूमिकामा रहेदेखि यो विद्यालयलाई नमुना विद्यालय बनाउन लागिपरेको छु ।
३) कोभिडको कारण थलिएको सामुदायिक विद्यालयलाई स्तरीय विद्यालय बनाउन तपाईको योजना के छ ?
देशकै शिक्षाको अवस्था नाजुक छ । त्यसमा पनि प्रदेश न २ अन्तर्गतका विद्यालयहरुको शिक्षाकोस्तर सन्तोषजनक छैन । नीजि विद्यालयहरुले त जसो तसो इन्टरनेटको सहायताले अनलाइन कक्षा संचालन गरेका पनि छन् । तर सामुदायिक विद्यालयको हकमा त्यो अलि असम्भव जस्तै छ । त्यसैले अझ केही समय यस्तै रहिरहने हो भने ८, ९ र १० कक्षाका छात्राहरुलाई स्वास्थ्य मापदण्डहरुको पालना गरी सिफ्ट विभाजन गरेर भए पनि कोचिङ्ग कक्षा संचालन गरी विद्यार्थीहरुको शिक्षाकोस्तर सन्तुलन राख्ने प्रयत्नमा छौ । विद्यालय चल्ने अवस्था स्थानीय सरकार र जिम्मेवार निकायबाट भयो भने त्यसमा पनि स्तरीय शिक्षा प्रदानका लागि थप योजनासाथ अगाडी बढ्ने तयारी छ ।
४) प्रदेश नं. २ का सामुदायिक विद्यालयको शैक्षिकस्तर कस्तो पाउँनु भएको छ ?
प्रदेश नं. २ को हकमा भन्नु पर्दा बारम्बार शिक्षाको गुणस्तर माथि प्रश्न उठ्ने गरेको छ । चाहे त्यो निजी होस् वा सरकारी । यसलाई हामीले स्वीकार्नु पनि पर्छ । सामूदायिक विद्यालयमा शिक्षाकोस्तर खस्केको छ । शिक्षक, विद्यार्थी र अभिभावक यी त्रिशक्ति एक भएर लाग्ने हो भने यो प्रदेशमा पनि शिक्षाकोस्तर माथि नउठ्ने कुरा हुँदैन । तीन शक्ति एक नभएसम्म शैक्षिक गुणस्तर उकास्न सकिदैन । अहिलेको समयमा हामी तीनै पक्ष कमजोर छौ । तीनै पक्षमा सुधार आवश्यक छ । शिक्षकमा पनि कमिकमजोरी नभएका होइनन् । त्यो हामीले स्वीकार्नु पर्छ । अभिभावकहरुले पनि आफ्नो वालवालिकाको अध्ययन प्रति जुन चासो देखाउनु पर्ने हो, त्यो छैन । आफ्ना बच्चा विद्यालय हिडेका छन् । विद्यालयसम्म पुग्छन् कि पुग्दैन्न् भन्ने सम्मको जानकारी अभिभावकलाई हुनुपर्छ । विद्यार्थीहरु पनि पहिलाभन्दा अहिलेका अलि बढी उछृंखल देखिन्छन् । विभिन्न प्रविधिको प्रयोग र आगमनसँगै अनुशासन र नैतिक शिक्षामा उनीहरुको रुची देखिदैन । पढाइप्रति प्रायः धेरैमा रुचि देखिदैन । त्यसैले तीनै पक्षले आ–आफ्नो जिम्मेवारी पूरा गरी शैक्षिक गुणस्तर राम्रो बनाउनु पर्छ ।
५) महिला भएर काम गर्दा कत्तिको चुनौति छ ?
पुरुषको तुलनामा महिलालाई हरेक क्षेत्रमा चुनौति छ । यहाँका प्रशासकीय कामहरु पुरुषद्धारा नै भएको हुँदा अहिले महिला आएर काम गर्दा केही अन्यौलता छ । तर यसलाई मैले ठूलो चुनौतिको रुपमा लिएको छैन । सबै सहकर्मीहरुले पनि सहयोग गरिरहनु भएको छ । आफूमा ढृढता र इच्छा शक्ति हुने हो भने जस्तोसुकै चुनौति पनि सहज बन्दै जान्छ ।
६) विद्यालयहरु स्थानीय सरकार मातहत आइसकेपछि कार्य सम्पादनमा कत्तिको सहज छ ?
पहिला जिल्ला शिक्षा कार्यालयले मात्र हेर्दा र अहिले स्थानीय सरकारको मातहतमा जाँदा निकै फरक छ । पहिला विद्यालयको अनुगमन निरीक्षण गर्ने एउटै आँखा थियो । अहिले आँखा धेरै छन् । पहिलाभन्दा अहिले विद्यालय र शिक्षाको गुणस्तर सुधारात्मक छ, । जनचासो पनि बढेको छ । महानगरपालिकाले विद्यालयमा भेन्डिङ्ग मेसिन उपलब्ध गराएपछि महिनावारीको समयमा छात्राहरु विद्यालय नआउने संख्यामा कमी आएको छ ।
७) अन्त्यमा थप केही भन्न चाहनु हुन्छ ?
समाजमा महिलाको शैक्षिकस्तर माथि नउठेसम्म परिवार, समाज, देशको उत्थान र उन्नति सम्भव छैन । यसको लागि सबै पक्ष मिलेर कार्य सम्पादन गर्दै जानु पर्छ ।