चुरे मधेश विकास मंचले तराई मधेश राष्ट्रीय परिषदको सहयोगमा निजगढ़ बजारको बुद्धचोकमा “चुरे वन जंगल तथा वातावरण जोगाऔं” शिर्षकमा वृहत सभाको आयोजना गरेको छ । स्थानीयका साथ-साथै टांगिया बस्तीका जनताको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रम चुरेको अव्यवस्थित दोहन बाट भइरहेको हानी नोक्सानी तथा प्रस्तावित अंतर्राष्ट्रीय विमानस्थलले ल्याउन सक्ने वातावरणीय प्रभावको न्युनिकरण माथि केन्द्रित रहेकाे थियो ।
सभामा आफ्नो विचार राख्दै पर्सा जिल्लाका चर्चित सामाजिक कार्यकर्ता प्रकाश थारूले चार-कोसे जंगलको दक्षिणी भेगका थरुहट क्षेत्रमा कृषकले अहिले वर्षको तिन बाली भित्र्याईरहेको तर अनियंत्रित जंगल फड़ानी भए पानीका मुहानहरू सुक्दै जाने खतरा रहेको औंल्याए थिए । पानीकाे सतह पछिल्ला केही वर्षमा धेरै तल गइसकेकोले विमानस्थल निर्माणको लागि न्युनतम चाहिने जग्गामात्र अधिग्रहण गर्नुपर्ने र अहिले प्रचारित विश्वको तेस्रो सबभन्दा ठूलो विमानस्थल बनाउनेतिर लागेर विश्व सामू हाँसोको पात्र नबन्न उड्ययन प्राधिकरणलाई सुझाउ समेत दिएका थिए ।
उता लालबकैयाको छेउमै गाँउ भएका समाजशास्त्री भरत शाहले चुरेको अनियंत्रित दोहनले नदिको उँचाई खतरनाक गतिले बढ़ीरहेको र वर्षैपिच्छे बाढ़ी आउने त्रास जनमानसमा फैलिदैं गएको कुरा बताउदै वहाँले निजगढ़ एयरपोर्टको लागि माटो पुर्ने बेला फेरी चुरे कटान गरे समस्या झन बल्झिने तर्क गरेका थिए । साथ-साथै विश्वका साना तर धेरै यात्रीलाई सेवा पुर्याइरहेका लंडनको ग्याट्विक, मुम्बईको क्षत्रपति शिवाजी, चीनको जियामेन इत्यादि जस्ता कुशल र प्रभावकारी एयरपोर्टबाट सिक्न समेत सरकारलाई आग्रह गरे । वहाँले प्रश्न गर्नुभयो - “६७४ हेक्टेयर बाट ५ करोड़ यात्रीलाई सेवा दिनसक्ने ग्याट्विक विमानस्थलबाट किन नसिक्ने ?” भनि प्रश्न गरेका थिए ।
टागियावस्ति सरोकार समितिका अध्यक्ष रमेश सापकोटाले सरकारले बस्ती सार्न मुआब्जा वितरणमा ढिला-सुस्ती गरेको तथा विमानस्थललाई बारा भन्दा बाहिर लग्ने चलखेल शुरूभएको प्रति खबरदारी प्रकट गर्दै, सरकारले चुरे छेउ-छाउ बसेका जनतालाई समतल भूभागमा नसारुन्जेल चुरेमा उत्खनन तथा सड़क निर्माण भइरहने हुनाले मधेशका उर्वर खेतियोग्य जमीन बचाउन चुरे-भावरका जनतालाई समथल भूभागमा पुनर्वासको माग गरेका थिए ।
निजगढ़का स्थानीय समाजसेवी कुमार लामाले निजगढ़ विमानस्थल ठुलो सानो जस्तो सुकै बनाएपनि निजगढ़ भन्दा अन्यत्र सार्न नहुने र पर्यावरणको ख्याल राखी निर्माण गर्नुपरेमा जोड़ दिए । वहाँले कुनैबेला दक्षिण कोरिया र जापान जस्ता मुलुकलाई दान दिने हैसियत राखेको हाम्रो मुलुकको दुर्दशा फेर्ने परियोजनाको रूपमा निजगढ़ विमानस्थललाई सबैले सघाउनुपर्ने आग्रह समेत गरेका थिए ।
यस्तै सामाजिक अभियन्ता सरोज राय अनुसार जंगल कटानीको सोधभर्ना स्वरूप जति सुकै रुख रोपे पनि त्यो जंगल बन्न नसक्ने बरू बगैचा जस्तो हुने तर्क गरेको थियोे । रुख रोप्न सकिएपनि दुर्लभ जंगली जनावरको बासस्थल कुनै बगैचा हुननसक्ने कुरा राख्नु भयो। सरकारले यस परियोजनाका कुनै दस्तावेज सार्वजनिक नगरेकोले सरकारको रुख काट्ने नियत माथि शंका गर्न प्रशस्त ठाँउ रहेको कुरा समेत प्रष्ट गर्दै । विमानस्थलको सम्भाव्यता भएको २५ वर्ष अघि र आजको परिस्थिति र प्रविधि धेरै फरक भइसकेको, उ बेला निजगढ़ र सिमरा सानो गाँउ छँदा भएको अध्ययनले इ दुबै शहर विकसित हुने अनुमान नगरेको तथा दुबै ठाँउलाई बाइपास गरेर नयाँ एयरपोर्ट शहर बनाउने सुझाउ रहेको सो रिपोर्ट अहिले काम नलाग्ने प्रष्ट्याउनु भएकाे थियोे । कार्यक्रमको समापन गर्दै चुरे मधेश विकास मंचका अध्यक्ष सुनिल यादवले अहिलेको बेला तराई-मधेशका सबै समुदाय मिलेर वन जंगल तथा चुरे संरक्षणका लागि हातेमालो गर्दै अघि बढ्नुको विकल्प नरहेको मंतव्य व्यक््त गरेका थिए ।
चुरेको अव्यवस्थित उत्खनन र बाटो-घाटो निर्माणमा सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बेला आएको तथा कठोर नियमनकारी विभाग संचालन गर्नुपर्नेमा पनि जोड़ दिएका थिए ।
सोमबार सांझ समापन भएको सो कार्यक्रम मंचका उपाध्यक्ष रामाधार यादव, प्रवक्ता राजेश भण्डारी, सचिव लक्ष्मी सिंह, पर्सा अध्यक्ष रॉकी झा, बारा अध्यक्ष लक्ष्मी यादव, रौतहट अध्यक्ष लक्ष्मण साह, सर्लाही अध्यक्ष संजय साह, केन्द्रीय सदस्यहरू पन्नालाल पटेल, सूरज गुप्ता, अरविन्द यादव, कोषाध्यक्ष कृष्णाउति देवी साह तथा तराई मधेश राष्ट्रीय परिषद का सदस्य शशी यादव लगायतकााे उपस्थिति रहेको थियोे ।