कोभिड–१९ को दोस्रो लहरका कारण विद्यालय पुनः बन्द भएपछि विद्यालयहरुले गरेको आन्तरिक मूल्याँकन कै आधारमा कक्षा चढ्दै गएकी १६ वर्षीय आमाईरा पटेल विद्यासदन माध्यमकि विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा हुन् । पढाइप्रति अत्याधिक रुचि भएकी उनलाई पटक–पटकको लकडाउन र विद्यालय बन्दले अध्ययन अध्यापनमा असर पारेको उनले बताइन् ।
वीरगंज महानगरपाकि वडा नं १४ चिनीमिल पिपराका प्रमोद पटेल र अनिता पटेलकी पहिलो सन्तान हुन् आमाईरा । उनका दुई भाइ छन् । उनको ठूलो भाइ संजय पटेल सोही विद्यालयको कक्षा ७ मा अध्ययनरत छन् भने सानो भाइ अजय पटेल पनि कक्षा ५ मा अध्ययनरत छन् । उनका वुवा प्रमोदको प्रमोद निमार्ण सेवा छ भने आमा अनिता सिलाई कटाई गर्छिन् ।
भौतिक दुरी र जनस्वास्थ्यका मापदण्डको पालना गराई गएको आइतबारदेखि विद्यालय सञ्चालनमा आएपछि उनी विद्यालय आउन थालेकी छन् । विद्यालय आउनुपूर्व भने उनी अनलाईन कक्षा मार्फत अध्ययन गर्दै थिइन् । लामो समयपछि विद्यालय आउन पाएकोमा निकै खुसी लागेको उनले बताइन् । एकदमै रमाइलो लागिरहेको छ । कक्षामै उपस्थित भएर पढ्नुको मज्जा नै बेग्लै उनले भनिन् । अनलाईन कक्षामा त राम्ररी बुझिदैन, त्यसमा पनि छिनछिनमै विजुली जाने, इन्टरनेटको समस्या अनि लामो समयसम्म मोवाइलको प्रयोग गरेर होला टाउको र आँखा दुख्ने समस्या पनि हुने गरेको उनले तर्क गरिन् । विहान ७ बजेदेखि कक्षा सुरु हुन्थ्यो उनले बताइन् ।
तर अहिले विद्यालयमै पढ्न पाउँदा निकै सहज भएको आमाईराले बताइन् । कोरोनाको जोखिम कहाँ छैन र ? बजार, खुलेको र भिडभाड उत्तिकै छ । हामी घरमाभन्दा बढी सुरक्षित त विद्यालयमा छौ । यहाँ जनस्वास्थ्का सबै मापदण्ड पूरा गरिएको छ उनले भनिन् । लगातारको लकडाउन र निषेधाज्ञाले गर्दा आफ्नो अध्ययन र भविष्य नै अनयौलमा परेको उनको भनाइ छ । उनी भन्छिन् कहिलेसम्म यसरी विद्यालय बन्द गर्ने ? हाम्रो भविष्य हाम्रो शिक्षण सिकाइलाई कहिलेसम्म स्थगित राख्ने । सधै यसरी विद्यालय बन्द गरेर बच्चाको भविष्य अन्धकारमा राख्नु त राम्रो संकेत होइन । विद्यालयमा भन्दा बढी भिडभाड त बजारमा छ । बन्द गराउने हो भने सबै क्षेत्र बन्द गराउनु पर्छ । नभए विद्यालय पनि संचालन गर्ने वातावरण तयार गरिदिनु पर्छ आमाइराले आक्रोस मिसाउँदै बताइन् ।
विज्ञान विषय मन पराउने उनी भविष्यमा गाइनेक्लोजिष्ट बन्ने बताउँछिन् । मेरो आमाको सपना थियो गाइनोक्लोजिष्ट बन्ने । तर परिवारको समस्याको कारण उहाँको सपना पूरा हुन सकेन । त्यसैले आमाको सपना पूरा गर्न पनि म त्यो सोचमा छु उनले संक्षिप्तमा बताइन् । घरका अभिभावकले पनि साथ दिने उनले तर्क गरिन् । घरमा नेटको समस्या र सिकाउने कोही नभएकोले दुई महिनादेखि आफ्नो मामा घरमा बस्दै आएको उनले तर्क गरिन् । मामा घरमा मलाई सिकाउने मामा माइजु र छिमेकी दाइ हुनुहुन्छ । यो वर्ष मेरो एसइई हो । मलाई मेरो पढाइ बिग्रेला कि भन्ने चिन्ता लागिरन्छ । किनकी मेरो अध्ययनले नै मेरो लक्ष्य निर्धारण गर्छ । मेरो मामा माइजु शिक्षक हुनुहुन्छ । उहाँरुले नजानेका सबै सिकाउने भएकोले एसइईसम्म म त्यही बसेर पढ्छु उनले निकै सोचमग्न हुदै बताइन् ।
तर यो कोभिड–१९ मेरो लक्ष्यको बाधा बनेको मैले महसुस गरेकी छु । कोभिड सुरु भएदेखि राम्ररी अध्ययन गर्नै पाएका छैनौ । सबै घरमा बसेर मोवाइलामा मात्रै घोत्लिरहँदा हाम्रो मानसिक स्वास्थ्यमा के असर पर्छ भन्ने बारे सबैले सोच्नु पर्छ आमाईराले निकै गम्भिर कुरा गरिन् ।