पर्साको पर्सागढी नगरपालिकाले नगर क्षेत्रका विरामीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी पर्साशाखासँग निशुल्क रगत उपलब्ध गराउने बारे सहमति गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले वीरगञ्जमा रक्तसञ्चार केन्द्र सञ्चालन गर्दै आएको छ । रेडक्रस पर्साका मन्त्री शैलेन्द्र कुमार चौरसिया र पर्सागढीका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवबीच निःशुल्क रगत उपलब्ध गराउने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
अबदेखि रक्तसञ्चार केन्द्रले पर्सागढीका विरामीलाई उपलब्ध गराउने रगत वर्गीकरण, रगत राख्ने ब्याग, क्रसम्याचिङ, ग्रुपिङ एवं परिक्षण वापत लाग्ने शुल्क नगरपालिकाले ब्यहोर्नेछ । सम्झौता पत्रमा विरामीको उपचारको कागजको प्रतिलिपी, नगरपालिकाको सिफारिस वा बिरामीको नागरिकताको प्रतिलिपी उपलब्ध गराएपछि रक्तसञ्चार केन्द्रले आवश्यक रगत उपलब्ध गराउने र प्रत्येक महिनाको ५ गतेसम्म रक्तसंचार केन्द्रबाट उपलब्ध गराईएको रगतको भुुक्तानी नगरपालिकाले रेडक्रसलाई गर्नुपर्ने उल्लेख गरिएको छ । रक्तसञ्चार केन्द्रले रगत ब्याग, क्रस म्याचिङ, ग्रुपिङ एवं परिक्षण गरे वापत प्रति युनिट रगतको १ हजार ५० रुपैयाँ लिँदै आएको छ । सोही दरमा नगरपालिकाले पनि रकम भुक्तानी गर्नेगरि सम्झौता भएको नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाले जनाएको छ ।
यसअघि पर्साको बहुदरमाई नगरपालिकाले र बारा परवानीपुर गाउँपालिकाको एक वडा सदस्यले पनि आफ्नो क्षेत्रका विरामीलाई निःशुल्क रगत उपलब्ध गराउनेगरि सम्झौता गरेका छन् भने वीरगञ्ज महानगरले सुत्केरीलाई निशुल्क रगत दिँदै आएको छ ।जिल्लाका सबै पालिकालाई निःशुल्क रगत उपलब्ध गराउन प्रेरित गरिरहेको नेपाल रेडक्रस सोसाईटी पर्सा शाखा सभापति विरेन्द्रराज कँडेलले बताए ।
‘
पकाहामैनपुर गाउँपालिकाले बजेट छुट्याईसकेको जानकारी आएको छ, सम्झौता गर्न बाँकी छ, जगरनाथपुर गाउँपालिकाले पनि निशुल्क रगत उपलब्ध गराउने कार्यक्रम राम्रो छ भनेका छन् ।’ सभापति कँडेलले भने ‘ पालिकाले गर्दा धेरै ठूलो बजेट खर्च पनि हुने हैन, सबै पालिकाले आफ्नो क्षेत्रका बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउन भन्ने उद्देश्य हाम्रो हो ।’