२०६२ देखि ०६९ सम्म वीरगंजको रेडियोहरुमा सन्देश मुलक तथा मनोरञ्जनात्मक कार्यक्रमको बाढी नै थियो । घण्टै पिच्छे प्रतिषपर्धात्मक कार्यक्रमहरुले वीरगंजबाट गुञ्जने प्रायः रेडियोहरु सुनौं सुनौं लाग्ने गर्दथ्यो । त्यो बेलाका खटमीठि, इङ्गलिश बाबु, देशी म्याम, हसि मस्तकरी, दुनु बेकत, मगरु सैलुन, काका भतिजा, मार गोबरमे लात, जिजा सालि, गोलमाल, देवर भौजी, नोक झोक, मेलापात, यु एण्ड मी लगायतका कार्यक्रमहरु नसुन्ने कमै रेडीयो श्रोताहरु थिए । जस्ले यी कार्यक्रमका नामहरु बिर्सेका नहोलान् । रेडियो सुन्दै जिब्रो पटकाउने चुटकिला, हासो र स्थानीय भाषा मै दिने सन्देश मुलक जनकारीले गाऊँ टोलमा क्यारिक्याचर गर्न बाध्य बनाउने गर्दथ्यो । कति रेडियोकर्मी समय नपाएकाले एक दुई हप्ता अगाडी नै राती जाग्रम गरेर भए पनि कार्यक्रम रेकर्ड गराउथे । एउटा कार्यक्रमका लागि धेरै रिसोर्स जुटाउने, विभिन्न तरिका अपनाउने र धेरै मेहनत गर्ने गरेको त्यो बेलाका निकै चर्चित नोकझोक, खटमिठी लगायत कार्यक्रमकी संचालिका प्रतिमा चौधरी बताउँछिन् । उनी भन्छिन् मेहनतको संगसंगै श्रोताहरुको चिठीपत्रले बक्स भरिन्थ्यो । त्यो मेहनतकै फल हो । जहाँ जादाँ पनि रेडियो सुन्नेहरुले ती प्रस्तोताको नामैले चिन्थे ।
रेडियोको प्रस्तुतिले उतिबेला छिटो छरितो गाऊँ टोलसम्म सुूचना खबर सम्प्रेषण गरी ग्रामीण परिवेशमा रहेका समुदायलाई केहि शहरीया तरिकाले बाच्ने उपायहरु सिकाएको भने नकार्न मिल्दैन् । नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयबाट प्रेषित सूचना होस् या बोक्सी, बाल विवाह, दाईजो लगायतको कुरीति विरुद्धको सुचना होस् । धेर थोर भए पनि तुल्नात्मक रुपमा दशकांै देखि सुधार हुन नसकेको कुप्रथा माथि चर्चा परिचर्चा गराउन बाध्य हुन्थ्यो । त्यतिबेला रेडियोले समाजिक परिवेशमा सुधार समेत ल्याएको श्रोताहरु बताउने गर्छन् । तर अहिलेको सन्दर्भ फेरिएको छ उनीहरुले भने ।
पहिले एउटा एफ.एम. रेडियोमा एकल र जोडि प्रस्तोता गरेर कमसेकम ८/९ वटा सम्म कार्यक्रम हुने गर्दथ्यो । तर अहिले मनोरञ्जनात्मक कार्यक्रमको नामनिसान छैन । फाटफुट रुपमा मुस्किलले एकाध एफ एम बाहेक कुनै पनि रेडियोले यस्ता कार्यक्रमहरु ल्याउन नसकेको रेडियोकर्मी राधेश्याम पटेलले बताए । वीरगंजमा धेरै र।ेडियोहरुको स्थापना भएर विज्ञापनहरु कम हुदै गयो । जसको कारणले प्रस्तोताले चाहे जतिको पैसा पाउन सकेनन् । पटेलले भने रेडियोहरु खस्किदो अवस्थामा छन् । धेरै लामो विज्ञापन भएको कारण कार्यक्रमलाई चाहिने समय पनि कम हुदै गयो जसको कारणले मैले चलाउदै आएको मनोरञ्जनात्मक कार्यक्रम हसी मस्करी छोड्नुप¥यो । अहिले म नारायणी एफ एम मा रिपोर्टिङ्ग गर्ने गर्छु । अरु सहकर्मीहरु सामाचार मुलक कार्यक्रम सञ्चालन गर्ने गरेको पटेलले बताए ।
नारायणी एफ. एम.मा यु एण्ड मी, मेलापात लगायतका कार्यक्रमहरु श्रोताले बिर्सेका होइनन् पहिलेकी रेडियोकर्मी सबनम श्रेष्ठले भनिन् । मेलापात कार्यक्रम छोड्नुको कारण श्रोताहरुको रेडियोप्रति लगाव कम भएको जस्तो लाग्यो । आफ्नो इच्छा पनि कार्यक्रम प्रति कम हुदै गयो, नयाँ नयाँ खुल्ने रेडियोहरुमा विना अन्तवार्ता छनोट हुन थाले, जसले गर्दा रेडियोकर्मीहरुको गरिमा खस्किए । त्यसैले पनि क्वालिटि आउन सकेनन् । यसका साथै विभिन्न एफ एमहरुले पैसा पनि दिन छाडे । जसका कारण जनकारी मुलक र मनोरञ्जनात्मक कार्यक्रमहरु हराउदै गए । यस संगसंगै रेडियोमा करियर पनि देखिन । भने जतिको पैसा छैन, त्यहि भएर रेडियो छाडेर शिक्षण पेशामा लागेको उनले थपिन् ।
रेडियोमा आउने मनोरञ्जनात्मक र सन्देश मुलक कार्यक्रम सुन्न पाए रमाईलो लाग्छ । नेपाल विहार रेडियो श्रोता संघका अध्यक्ष हरेन्द्र यादवले भने । अहिले आधुनिक सुविधाहरुले गर्दा पनि रेडियो प्रति कम लगाव भएको जस्तो लाग्छ । यससंगै रेडियो संचालकहरुले रेडियो श्रोताहरुले लिने संघ संस्थाहरुको नामसंग चिढिएका थिए । त्यस कारणले गर्दा श्रोताहरु पनि चिठी पत्र पठाउन छोडे त्यसैले कार्यक्रमहरु बन्द हुदै गएको अध्यक्ष यादवले बताए ।
रेडियोहरुका संचालकले रेडियोकर्मिहरुको मेहनत अनुसारको तलब नदिएको रेडियोकर्मी राजु साहले बताए । मार गोबर मे ला, मार द मुस्की लगायतको कार्यक्रममा चर्चा पाएका राजु साह अहिले भोजपुरिया एफ.एम. र वीरगंज टिभीमा काम गरिरहेका छन् । एफ.एम. संचालकहरुले आर जे को मेहनतको कदर नगरेको उनको आरोप छ । जसले गर्दा त्यसप्रति चासो घटदै गयो र कार्यक्रम चलाउन छोडिदिए । अहिले प्रोडक्सनको काम गर्छु रेडियोमा भविष्य देखिन त्यसैले विकल्पको खोजीमा छु उनले थपे ।
रेडियोमा फोन गर्ने प्रायः एकै प्रकारका श्रोताले सबै कार्यक्रममा नामको लागि मात्रै सहभागिता जनाउने गरेकोले कार्यक्रमहरु बन्द भएको नारायणी एफ.एमका प्रबन्ध निर्देशक गोविन्द देवकोटाले बताए । विषय वस्तु अनुसारको कुरा आउदैन्थ्यो । जसले गर्दा कार्यक्रम सुन्दा नराम्रो लाग्ने गरेको गुनासोको अधारमा कार्यक्रमको स्तर खस्किदै जादाँ त्यस्ता कार्यक्रमहरु बन्द गर्नु परेको प्रबन्ध निर्देशक देवकोटाको भनाइ छ । यससंगै रेडियोकर्मीहरुको गुनासो प्रति उनले भने अहिले धेरै रेडियोहरु सञ्चालनमा आए । त्यस अनुसारको कमाई पनि छैन, पहिला २०÷२५ हजारमा बजाउने विज्ञापन अहिले ३ हजारमा बजाउनु परेको छ । पुरानो मेशिनरी भएकाले मर्मत सम्भार गर्नैपर्यो । धेरै रेडियो भएसँगै आम्दानी कम भएपछि कार्यक्रम प्रस्तोताले भने जतिको पैसा दिन नसकेर पनि यस्ता कार्यक्रमहरु बन्द हुदै गएको उनले तर्क छ ।
पहिला जस्तो जेनेरेशन अनुसारको कार्यक्रमहरु रेडियोमा छैनन् । रमाईला, सन्देश मुलक कार्यक्रम नभएकाले रेडियो सुन्दा खल्लो महसुश हुने गरेको नेपाल भारत मैत्री रेडियो श्रोता संघकी सुरुची बेगमले बताईन् । एक समय थियो, हामीले कुरेर भए पनि रेडियो सुन्ने गथ्र्यौं । तर अहिले यहि कार्यक्रम राम्रो चर्चित भनेर भन्न सकिदैन । किन भने त्यस अनुसारको रेडियो कर्मीहरुमा मेहनत नभएको वि.कम्पनी श्रोता क्लबका अध्यक्ष जलिल हवारी एम.डिले बताए ।
पहिले मानिसहरु कहाँ मनोरञ्जनको साधन थिएन, रेडियो नै सुन्ने गर्थे, अहिले मनोरञ्जनका साधन सबैको हातहातमा छ । त्यसैले त्यस्ता कार्यक्रमहरुको चासो घटेको भोजपुरीया एफ.एम.का प्रबन्ध निदेशक महेश दासले बताए । अहिले धेरैका हातहातमा मोबाईल, ईन्टरनेटको सुविधा छ, यस्ता कार्यक्रममा सहभागिताको समेत उति चासो नभएको र रेडियो संचालकले पनि भने जतिको पैसा दिन नसकेको उनको भनाइ छ ।
यता रेडियो वीरगंजका सञ्चालक धु्रब साहको भने फरक मत छ, । मेरो अनुभवमा सबभन्दा पहिले तलबको समस्या हो । अर्को पहिला जस्तो रेडियोमा महिला प्रस्तोतालाई सुरक्षित वातावरण पाइरहेका छैनन्, पुरुष प्रस्तोता मात्रै धेरै भए । त्यसमा पनि अवाज राम्रा नभएका, विषय वस्तु अनुसार वादविवाद गर्न सक्ने क्षमता नभएका धेरै छन् । यी सबै समस्याले गर्दा सन्देश मुलक कार्यक्रमहरु बज्नै छाड्यो । यसै पनि मधेशको ठाउँमा अभिभावकहरुले पहिला जस्तो छोरीहरुलाई रेडियोमा जान दिदैनन् । अर्को कुरा राम्रो सुविधा सहित हामीले स्टाफलाई पैसा दिन सक्दैनौँ । अहिलेको महंगाईमा १० हजार भन्दा तल तलब दिएर काम गर्ने स्टाफ पाउन गाह्रो भयो । अनी हामीलाई १० हजारभन्दा बढी तलब दिन गाह्रो छ, त्यसैले गित बजाउने मनोरञ्जन गराउने मात्र भईरहेको छ उनले भने ।
– बिमला गुप्ता
२०७३ असोजमा मध्य नेपाल पत्रिकामा प्रकाशित समाचार अध्यावधी गरिएको ।