पिता कृष्ण प्रसाद बतौला, अनि माता शान्ता बर्तौलाका सुपुत्र लक्ष्मण बर्ताैला साहित्य क्षेत्रमा नौलो नाम भने होईन । बिर्खे अन्जान नामबाट नेपाली साहित्यको क्षेत्रमा आफ्नो गहिरो पहिचान बनाई सकेका थाहानगरका कवि तथा समालोचक अञ्जान, पालुङ साहित्य परिषद्का अध्यक्ष, जन साहित्य मञ्चका उपाध्यक्ष, पल्लव साहित्य प्रतिष्ठान, साहित्य संगमका मकवानपुर लगाएत विभिन्न संसथामा सदस्य रहनुका साथै सामाजिक संघ संस्थामा समेत आवद्घ छन् । साहित्य संगै सामाजिक कार्यमा अग्रशर व्यातित्व बिर्खे अन्जान कविता लेखनमा बिम्ब र विचारमा उत्कृष्ट प्रस्तुतिकरण गर्न सक्ने क्षमतावान व्यक्तिको रुपमा स्थापित छन् ।
अंञ्जानको गजल बिम्ब संयुक्त गजल, ई प्रतिनिधि नेपाली गजल, समयका स्वरहरु कविता संग्रह, शल्यक्रिया समालोचलना कठाघरामा देश मुक्तक संग्रह प्रकाशित भईसकेकाछन् भने थुप्रै संघ संस्था तथा निवन्ध, मुक्तक, कथा, गजल, आदि प्रतिगोगिताबाट सम्मानित भइसकेका छन् । अञ्जानका लिखित कृतिमा काल, चेतना र समयका विविध स्वर र शैलि पढ्न पाईन्छ । बहु बिधामा कलम चलाउने बिर्खे लामो समयदेखि साहित्य लेखनमा अत्यन्तै क्रियाशिल छन् । यस साता साहित्यकै सेरोफेरोमा रहेर उनै अञ्जानसँग मध्य नेपाल संदेशका लागि गीता भण्डारीले गरेको संक्षिप्त कुराकानी ।
१) साहित्यको छेत्रमा कसरी प्रवेश गर्नु भयो ?
सानैदेखि केही गरौं भन्ने एक किसिमको उत्सुकता थियो । जसको कारण विद्यालयमा हुने सबै खाले गतिविधिमा सक्रिय रूपमा सहभागीता जनाउँने गर्थे । मैले भाग लिएको सबै कार्यक्रममा रित्तो हात कहिले फर्कनु परेन । स्थानीय स्तर, जिल्ला स्तर र राष्ट्रिय स्तरको सबै प्रतियोगितामा पुरस्कृत हुने भएकाले बिद्यालयका शिक्षकहरूले मलाई हौसला दिदै मेरो उत्साहलाई उर्जाको रूपमा रूपान्तरण गर्नेमा उल्लेखनीय भूमिका निर्वाह गरेको अझैसम्म याद आउँछ । रहर , लहडमै कसरी साहित्य क्षेत्रमा प्रवेश गरे अचम्म लाग्छ । मेरो ठाउँमा अहिले पनि भाषा, साहित्यलाई माया गर्ने र संस्थागत रूपमै विकास गर्नुपर्छ भन्ने कोही भेटिदैन भने आज भन्दा दुई दशक अगाडिको अवस्था कस्तो थियोे होला ? अनुमान लगाउन त्यति गाह्रो छैन । र पनि नेपाली विभागका गुरुहरूको हौसला साहित्य क्षेत्रको प्रेरणाको स्रोत हुन् भन्ने कुरामा दुई मत छैन ।
२) हिजोआज के मा व्यस्त हुन्हुन्छ ?
हिजोआज लेखन क्षेत्रमा नै क्रियाशील छु । जन साहित्य मञ्च मकवानपुरको जिल्ला नेतृत्वमा निर्वाचित भएपछि झनै जिम्मेवारी थपिएको छ भने मकवानपुर जिल्लाको उत्तरी क्षेत्रकै एकमात्र साहित्यिक संस्था पालुङ साहित्य परिषद्को संस्थागत विकास र विस्तारमा नीतिगतरूपमै व्यवस्थित गर्न सक्रिय रूपमा लागिरहेको छु । व्यक्तिगतरूपमा मेरो पछिल्लो कृति “कठघरामा देश“ मुक्तक सङ्ग्रहको बजारिकरण र मकवानपुर जिल्लाको साहित्यिक इतिहास खोज अनुसन्धान र लेखनमा व्यस्त रहेको छु ।
३) साहित्य के हो यहाँको बुझाईमा ?
निकै गम्भीर र गाह्रो प्रश्न सोध्नु भो । जसको सर्वमान्य परिभाषा अहिलेसम्म कोही कसैले दिन सकेकै छैन । आ–आफ्नो तर्क, विचार र विवेकको आधारमा गरिएको परिभाषा कहि न कतै अधुरो र अपुरो झै देखिदै आएको छ । साहित्य सिर्जनाको निश्चित उद्देश्य, पाठक र विषय हुन्छन् । त्यसमा पनि कुन तहको विचार, सिद्धान्त र मार्गबाट लेखक अभिप्रेरित छ भन्ने कुरामा साहित्यको परिभाषा निर्भर गर्दछ । तसर्थ ठोस रूपमा साहित्य भनेको यो नै हो भनेर किटानीका साथ परिभाषित गर्न सजिलो छैन । र पनि मेरो व्यक्तिगत बुझाइमा मानवीय भावनाको परिष्कृत र कलात्मक विचार नै साहित्य हो जस्तो लाग्छ ।
४) यहाँको रुचिको विधा कुन हो ? र किन ?
म साहित्यका प्रायः सबै विधामा कलम चलाउँछु । कविता र समालोचनाको त कृति नै प्रकाशित छ भने मुक्तक सङ्ग्रह “ कठघरामा देश “ प्रेषमा छ । गजल, गीत, कथा र लघु कथा फुटकर रूपमा निरन्तर प्रकाशित भएको अवगत नै छ । मैले लेखिएको विधाहरू मध्ये कविता लेखनमा मलाई ज्यादा सन्तुष्टि महसुस हुन्छ । व्यापकरूपमा बैचारिकता तर्क अभिव्यक्त गर्न र कला निर्माणद्वारा आफ्नो क्षमता देखाउन सकिने तथा बौद्धिक पाठकहरूलाई आफूतिर आक्रमण गर्न सक्ने बिधा कविता भएकाले लेख्न र सफलता हासिल गर्न कठिन भएपनि कविता विधा मेरो लागि प्रिय छन् । यसो भनेर अन्य विधालाई कम आँकलन गर्न मिल्दैन । सबै बिधाको आफ्नै महत्व, गरिमा र विशिष्टता छ ।
५) साहित्य बाहेक अन्य के गर्नु हुन्छ ? कहिले देखि लेखन कार्यको सुरुवात गर्नु भएको हो ?
साहित्य सिर्जना बाहेक सामाजिक कार्यमा क्रियाशील छु । लेखनको प्रारम्भ पचासको उतरार्धबाट गरेको हुँ । त्यतिबेला म निबन्ध लेख्थे । विद्यालयमा हुने निबन्ध प्रतियोगितामा मेरो बाक्लो उपस्थिति हुन्थ्यो । त्यतिखेर नै मैले सरकारी स्तरबाट हुने राष्ट्रिय स्तरको निबन्ध प्रतियोगितामा प्रथम भएको इतिहास अझैसम्म याद आउँछ ।
६) यहाँको प्रकाशित कृती कुन कुन हुन् ?
मेरो हालसम्म ६ वटा संयुक्त र ३ वटा एकल कृति प्रकाशित भएका छन् । जसमा अवसान सपना कविता सङ्ग्रह २०७२, शल्यक्रिया समालोचना सङ्ग्रह २०७२ , कठघरामा देश मुक्तक सङ्ग्रह २०७८ सार्वजनिक भैसकेको छ ।
७) पछिल्लो कृतिको बारेमा केही बोलिदिनुस न ?
हरेक विधामा कलम चलाउने रहर अझैसम्म छ । कविता, समालोचना पछि पछिल्लो समय मुक्तक लेख्न थालियो । जानीनजानी एउटा किताब पुग्ने भएपछि अग्रजहरूको सुझाव अनुसार प्रकाशन कार्य गरियो । देख्दा सानो आकारको मुक्तक लेखन सजिलो होला जस्तो लागेको थियो तर लेख्दै जादा सजिलो रहेनछ । पाठकलाई आकर्षित गर्ने विषयको छनोट, अभिव्यक्ति कौसलता र शब्द व्यवस्थापन जस्ता जटिलताले छोटो समयमा सफलता हासिल गर्न खोज्नु असम्भव रहेछ । निरन्तर साधनाबाटै परिष्कृत र परिष्कार हुने कुरा मुक्तक लेखिरहँदा महसुस भयो । झन् सानो विधामा निख्खारता ल्याउन कठिन रहेको कुरा म नयाँ पुस्ताका सर्जकहरूलाई अवगत गराउँन चाहान्छु । लेखन महत्त्वपूर्ण कुरा होइन तर लेखिएको कुराबाट पाठकलाई आक्रषित गर्नु ठूलो कुरा हो । थोरै शब्दले विषयवस्तुमा प्रवेश गर्दै भन्न खोजीएको सन्दर्भलाई चमत्कारी शैलीमा प्रस्तुत हुनसक्नु नै लेखकको दायित्व र जटिलता हो ।
८) यहाँले लेख्ने साहित्यले मानवीय सोचमा कस्तो परिवर्तन होस् भन्ने चाहन्छ ? समाज परिवर्तनमा साहित्यले कस्तो प्रभाव पार्दछ यहाँ को बिचारमा ?
समाज परिवर्तनको मुख्य स्रोत नै स्रष्टा र तिनको सिर्जना हो । नेपालमा आएको राजनैतिक परिवर्तनमा स्रष्टाको भूमिका उल्लेखनीय रहेको कुरा हामीले विर्सन हुदैन । यसको अतिरिक्त समाजमा हुने गतिविधि र सहि दिशानिर्देशमा साहित्यको भूमिका अमूल्य रहेको तथ्य घाम जस्तै छर्लङ्ग छ।वेथिति, विसङ्गतिहरूमाथि कडा रूपमा प्रस्तुत हुदै समतामूलक समाज निर्माणका साहित्यले खेलेको भूमिका अतुलनीय छ।कुन देश कतिको रूपमा विकसित छ भन्ने कुराको मापन त्यो देशको भाषा, साहित्य र संस्कृतिबाट स्पष्ट हुनेभएकोले भौतिक रूपलाई मात्रै बिकास ठान्ने प्रवृत्तिको अन्त्य हुनु जरुरी छ । अन्तर्राष्ट्रिय पहिचानको मुख्य मापन भाषा र साहित्य नै भएकोले परिवर्तनमा यसको उच्च रहने कुरा सधैं हेक्का राख्न जरुरी छ ।
९) लकडाउनको समय साहित्यकारहरुको कलम अझ सकृय भएको छ भनिन्छ, यहाँले कसरी यो समयको सदुपयोग गर्नु भयो ?
केही हदसम्म ठिकै हो । नयाँ पुस्ताको लागि सिक्ने, अभ्यास गर्ने र आवश्यक सुझाव ग्रहण गर्ने उचित समय लकडाउन भएको यथार्थता हामी सबैले महसुस गरेका छौ । परन्तु निरन्तर साधनारथ लेखकीय पहिचान स्थापित गरिसकेको स्रष्टाहरूले आफ्नो पेशा , व्यवसाय र जिम्मेवारीहरू बहन गर्दै निश्चित समय लेखनमा छुट्याएको हुन्छ नै । लेख्नकै लागि विदा, लकडाउन या अरू कुनै तिथि मिति पर्खेर बसेको हुदैनन् ।आफ्नो रुचि ,क्षेत्र र बिधा अनुरूप निरन्तर साधनामा जुट्नेहरूको लागि केही सहजता भएको चाहिँ हो तर लकडाउनले नै साहित्यकार थपिएको, बढेको या लेखनमा वृद्धि भएको भन्ने कुरामा म त्यति विश्वास राख्दिन ।
१०) निक्कै लामो समयदेखि यस क्षेत्रमा हुन्हुन्छ कतिको संतुष्ट हुन्हुन्छ ? कुसल साहित्यकार बन्नको लागि कस्तो सृजना गर्नुपर्छ यहाँको बुझाइमा ?
विषयवस्तु अनगिन्ती छन् र लेखिएको सामाग्री सम्बन्धित पाठक कहाँ पुर्याउनु पर्ने जिम्मेवारी यथावत् छ । कुशल साहित्यका हुनकै लागि बृहत् अध्ययन, साधना र परिष्कारको खाँचो रहन्छ । पाठकले चाहेको, पाठकले बुझ्ने र केही नयाँ सन्देश प्रवाह गर्न सक्ने सामाग्री आजको अपरिहार्य आवश्यकता हो । हिजोकै विषयवस्तु, हिजोको प्रवृत्ति र हिजोकै शैली अवलम्बन गरेर स्थापित हुन सकिदैन । लेखनमा नयाँपन, बैचारिक पृथकता, बौद्धिक सामाग्रीको प्रस्तुति र शैलीगत नविनताको खोज गर्दै कालजयी सिर्जना गर्न सकियो भने मात्रै कुशल साहित्यकार बन्न सकिन्छ । रहर र लहडमा लेख्न थाल्दैमा म साहित्यकार बने भन्ने भ्रमबाट स्रष्टा मुक्त हुन जरुरी छ । म किन लेख्दै छु, कसका लागि लेख्न थाल्दैछु र कसरी लेख्छु भन्ने मुल प्रश्नको जवाफ नखोजी लेखियो भने स्रष्टाको यात्रा लामो नहुन पनि सक्छ।थोर समयमा सफलताको अपेक्षा राख्नुपनि उचित होइन । निरन्तरता , निख्खारता र परिष्कृतता नै साहित्यकारमा हुनुपर्ने सामान्य मापदण्ड हो ।
११) साहित्यमा सबै भन्दा कठिन कार्य के हो जस्तो लाग्छ ? र किन ?
साहित्यमा सबै भन्दा कठिन कार्य पाठकलाई आकर्षित गर्ने क्षमताको विकास गर्नु हो ।
१२) नेपाली भाषा तथा साहित्यको विकासको पाटोमा राज्यले खासै चासो नदिएको गुनासो छ,यस सन्दर्भमा राज्यको आँखालाई कसरी हेर्नुहुन्छ ?
भौतिक निर्माणलाई मात्रै विकास सम्झने राज्य सत्ताको जुन नजर छ त्यसमा व्यापक परिवर्तन आँउनु जरुरी छ । देशमा धेरै खाले परिवर्तन आएको छ तर भाषा , साहित्य र संस्कृतिको क्षेत्रमा राज्यले हेर्ने दृष्टिकोणमा अझैसम्म सुधार आएको छैन । यसको प्रमुख दोषी लेखक साहित्यकारहरू नै हुन् । संस्थागत साहित्यको विकासको लागि एकताबद्ध हुन नसक्नु, साझा धारणा र दृष्टिकोण प्रस्तुत गर्न नसक्नु, मोर्चाबन्दी भएर राज्यसत्तालाई दबाब दिन नसक्नु जस्ता कारणले अझैसम्म स्रष्टा पछि परिरहेका छन् । नीति स्वार्थ, लोभ र राजनीतिक पार्टीको भरौटे बनेर विभाजित हुनुले जुन गतिमा नेपाली साहित्य अघि बढ्नु पर्थ्यो बढ्न सकिरहेको छैन ।
१३) अन्त्यमा के भन्न चाहानु हुन्छ ?
त्यस्तो खास केहि छैन, म जस्तो गाउँमा बसेर कलम चलाइ रहेको र कोही कसैले चिन्न नसकेको मान्छेलाई दुई चार कुरा बोल्ने अवसर दिनु भएकोमा आभारी छु ।