कोरोना संक्रमणको विश्व महामारीले धेरै देशको अर्थतन्त्रलाई थचक्क बनाएको छ । साह्रै समृद्ध र कोरोनाको प्रभाव कम रहेका मुलुक वाहेक कोभिड १९ को संक्रमणमा हरेक मुलुकको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ ।
यो मारमा नेपाल पनि नपर्ने कुरै भएन । अझ कोरोना भाइरस उत्पति भएको देश चीनको छिमेकी राष्ट्र नेपाल हुनु र कोरोनाको उच्च संक्रमण फैलिएको अर्को छिमेकी देश भारतसँगको पनि बाक्लो आवत–जावत हुने नेपाल हुनुले यहाँ कोरोना संक्रमणको जोखिम नहुने कुरै भएन । यो जोखिमलाई कम गर्न जिल्ला र देशमा नै लगाइएको निशेधाज्ञा तथा लकडाउनले आर्थिक क्षेत्र भने नराम्ररी प्रभावित भएकै हो । यस्तो अवस्थामा अरुले विज्ञापन दिएर चल्ने संचार गृह चलाउनु फलामका च्यूरा चपाए सरह हुन्छ नै । कति संचार गृह त बन्द भएको कुरा पनि बाहिर आएकै छ ।
तर मध्य नेपाल मिडिया प्रा.लि.द्वारा संचालित मध्य नेपाल सन्देश पत्रिका केही खस्किए पनि बन्द नै गर्नु परेन । यसमा हामी निकै गौरवान्भित छौं । यो हुनुमा हाम्रा पाठक, विज्ञापनदाता, शुभचिन्तक र सहयोगी सबैले पनि गौरव गर्ने अवस्था रहन्छ । एउटा संचार गृहको ढोका बन्द भयो र त्यसले उत्पादन तथा सम्पादन गर्ने स्तरीय खोज समाचार रोकियो भने समाजका लागि त्यो निकै प्रत्युत्पादक हुन सक्छ । आम देशवासीले थाहा नपाएका लुकाइएका ठूला भ्रष्टाचारका घटना लगायत नेपालमा पनि संचार गृहले नै उधिनेर बाहिर ल्याएको तथ्य जगजाहेर छ ।
यसको अलावा राज्य सत्ताको दमनका समयमा राजनीतिकर्मी भाग्दै गरेको अवस्थामा संचार गृहका संचारकर्मीले नै काँध थापी गलत कार्यको भण्डाफोर गर्दा अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा तय भएको घटना पनि ताजै छ । यी र यस्ता अनेकन तथ्यले संचारकर्मी र संचार गृहको महत्व उच्च छ भन्ने स्वतः प्रष्टिन्छ । अनि त राज्यले पनि यो क्षेत्रलाई चौथो अंग मान्न बाध्य भएको हो ।
पाँचांै बर्ष पूरा गरी छैठौं बर्ष प्रवेश गर्दै गरेको मध्य नेपाल सन्देशले पनि यस्तो क्षेत्रको अक्षुणताका लागि कोरोना महामारीले पारेको असरलाई नजिकबाट नियाल्ने मौका पायो । यो निकै पीडादायी रहेको छ । यस्तो अवस्थामा पनि यो संचार गृहसँग जोडिएर रहेका संचारकर्मीहरु, लेखक, पाठक, विज्ञापनदाता, सहयोगी र शुभचिन्तकको निरन्तर साथ अविस्मरणीय छ । उहाँहरु सबै प्रति मध्य नेपाल सन्देश पत्रिका प्रकाशन गृह साधुवाद दिन कन्जुस्याईं गर्दैन । साथै आगामी दिनमा पनि यो संस्थालाई माया गर्ने संचारकर्मी, लेखक, पाठक, विज्ञापनदाता, सहयोगी र शुभचिन्तक तथा सल्लाहकारहरुको साथ अपरिहार्य रहन्छ । हामी तपाईहरुको साथको अपेक्षामा छौं । तपाईंहरुको साथ सहयोगले मात्र हाम्रो आगामी यात्रा अझ समधुर बन्दै जानेछ ।