अस्पतालका स्वास्थ्यकर्मी र बिरामीका आफन्तले अक्सिजन सिलिण्डर उचाल्दै र गुडाउँदै बिरामी भएका ठाउँसम्म पु¥याउने बाध्यता अझै हट्न सकेको छैन । मध्य तराईको प्रमुख अस्पतालका रुपमा रहेको वीरगन्जको नारायणी अस्पतालमा कोरोनाको तेस्रो लहर आउँन थाल्दा पनि अवस्था उस्तै रहेको हो ।
यो अस्पतालमा अक्सिजन प्लाण्टका लागि दाताले सहयोग गरी प्रचार गर्न भ्याइसकेका छन् । राजनीति गर्ने स्थानीय सरकारका प्रमुखले मैले प्लाण्ट स्थापना गराँए भनी नाम भजाउन पनि भ्याएका छन् । तर बिरामीले अक्सिजन प्लाण्टबाट सिधै जोडिएको पाइप हुँदै अक्सिजन पाउने कुरा अझै अनिश्चयको भूमरीमा नै छ ।
पर्सा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनीधि सभाका सांसद विमल प्रसाद श्रीवास्तवले संसदीय कोषबाट केही रकम दिई अक्सिजन प्लाण्ट स्थापनाको काम भने भएको छ । यो सँगै नीजि क्षेत्रका क्याल समूह, एनपीएल, सूर्य नेपाल लगायतको सहयोगमा करिब एक करोड ५० लाखको लागतमा नारायणी अस्पतालमा अक्सिजन प्लाण्ट र बेड–बेडमा पु¥याउने पाइपको वाइरिङ्ग पनि जडान भएको नारायणी अस्पतालले जनाएको छ । तर पाइप र प्लाण्टका बीच हुने ‘कनेक्सन’ को व्यवस्थापनमा स्थानीय सरकार बेखबर हुँदा बिरामीले सहज रुपमा अक्सिजन पाउने आशा अपुरो नै रहेको पनि अस्पतालको तर्क छ ।
प्लाण्ट र वाइरिङ्ग गरिएका पाइपका बीच प्रविधिमैत्री सम्बन्ध स्थापित गराउन अब खासै बढी रकम पनि नचाहिने अस्पतालका चिकित्सकहरुले बताए । धेरै लागे ४/५ लाख जति अरु रकम लाग्ला नारायणी अस्पतालका फिजिसियन डा निरज सिंहले भने । नीजि अस्पतालले कोरोनाका बिरामी खासै नहेर्दा कोरोनाको पहिलो र दोस्रो लहरमा अक्सिजनको अभाव खुबै खड्कियो । तथापि तेस्रो लहरको कोरोना आउन थालिसक्दा पनि यो कार्यले पूर्णता नपाउनु पछि पछुताउनु वाहेक अरु विकल्प नहुने कोरोना कालमा अग्रपंतिमा खटेका डा. सिंहले तर्क गरे । तेस्रो लहरको कोरोना अझ भयावह आउने आँकलन गरिदैछ । त्यसैले पूर्व तयारीका सबै काम गर्न चुक्नु हुन्न डा सिंहले भने ।
वीरगन्जको नारायणी अस्पताल राष्ट्रियस्तरको अस्पताल भएर पनि स्थानीय सरकार र राजनीतिकर्मीहरुको सकृयता अपुग हुँदा अपेक्षाकृत रुपमा यो अस्पतालको स्तरबृद्धि हुन नसकेको सर्वसाधारणको भनाइ छ । यो अक्सिजन प्लाण्ट संचालनमा आए पर्साका मात्र नभई छिमेकी जिल्ला बारा, रौतहट, सर्लाहीदेखि सप्तरी र दक्षिणमा भारतका पनि बिरामी लावान्वित हुने उनीहरुको तर्क छ । वीरगन्ज महानगरका नगरप्रमुख विजय कुमार सरावगी पनि यो कुरामा सहमत छन् । तथापि महानगरपालिकाकै थोरै बजेट विनियोजन गरी प्लाण्ट संचालन गर्न भने महानगर चुकिरहेको खुलेको छ ।
‘अस्पतालको विकासको लागि केन्द्रबाट बर्षेनी बजेट नआएको पनि होइन ।’ अस्पतालमा हुने राजनीति चलखेल र त्यहाँका केही कर्मचारीको चंगुलमा त्यो बजेट सदुपयोग हुन नपाई फिर्ता जाने गरेको अस्पतालकै केही स्वास्थ्यकर्मीले बताए । बर्षको अन्त्यमा करोडौंको बजेट आएर फ्रिज भएर जाने वीरगन्ज महानगरका नगरप्रमुख सरावगी पनि स्वीकार छन् । प्लाण्ट र वाइरिङ्ग त भयो । त्यसमा सेड चाहिन्छ, कनेक्शन र सेडको काम वीरगंज महानगरपालिकाले गर्छ । यो काम भएपछि नारायणी अस्पतालमा दिनहुँ ४ सय सेलिन्डर अक्सिजन बोक्ने समस्या हटेर जान्छ नगरप्रमुख सरावगीले भने ।
दैनिक खपत नभएको अक्सिजन संचय गर्ने पनि प्लान्ट जडान गरिने नगरप्रमुख सरावगीको दावी छ । खपत नभएका अक्सिजन टयाङकमा जाने र टयाङकबाट फेरी रिफिलमा जाने व्यवस्थापन पनि गर्ने सोचमा महानगर रहेको उनको भनाइ छ । तर काममा भने महानगरकै सकृयता नपुगेको नारायणी अस्पतालका अगुवा चिकित्सकले बताए ।
प्लाण्ट संचालनको लागि पूर्ण तयारी भइसकेपछि कम्तिमा ४ जना दक्ष जनशक्ति चाहिने नारायणी अस्पतालले जनाएको छ । कोरोनाको पहिलो र दोस्रो लहरमा बिरामीले अन्य ठाउँबाट अक्सिजन खरिद गरी ल्याउने समस्याबाट छुटकारा पाएनन् । यो प्लाण्ट संचालनमा आए बिरामीले सस्तो, सुलभ दरमै स्तरीय उपचार सेवा पाउने अस्पतालको दावी छ । प्लाण्टको व्यवस्थापन गर्ने ठाउँ भएर पनि अस्पताल एक्लैले गर्न सक्ने अवस्था नहुँदा अक्सिजन अभावमा हेर्दा हेर्दै आँखा अगाडी बिरामीलाई गुमाउनु पर्दाको तीतो अनुभव नारायणीको कोभिड विभागमा खटेका नर्स र चिकित्सकको अनुभव छ । त्यसैले पनि दाता र सरकारको मुख ताक्नु वाहेक अस्पताल प्रशासनसँग अर्को विकल्प नभएको उनीहरुको तर्क छ ।
तीन सय स्क्वायर फिट क्षेत्रफलमा बन्दै गरेको सेड निर्माण सम्पन्न भई संचालन हुँदा दैनिक ४ हजार ७ सय किलो अक्सिजन उत्पादन हुने अस्पतालले जनाएको छ । नीजि अस्पतालमा जान नसक्ने गरीब, विपन्न वर्गका लागि नीजि अस्पतालहरुभन्दा सस्तो र शुलभ तरिकाले स्तरीय सेवा पाउँने यो अस्पतालको अक्सिजन प्लाण्ट कोरोनाको यो महामारीमा संचालन अपरिहार्य रहेको स्थानीयको पनि दावी छ ।