बालबालिकाका स्वभाविका यौन जिज्ञासाको सही सम्वोधन नहुने शान्त नहुँदा उनीहरु कुलतमा लाग्ने र गलत जानकारी तथा आघातका कारण वयस्क हुँदासमेत सामान्य व्यवहार गर्न नसक्ने हुन्छन् ।
बढ्दो उमेरसँगै बालबालिकामा स्वाभाविक यौन जिज्ञासा उठ्न थाल्छ। जिज्ञासाको सही समाधान नपाउँदा बालबालिकाहरु मानिसक प्रताडना खेप्न र अपराधसम्म गर्न पुग्छन् ।
गएको डेढ दशकयता विभिन्न अदालतमा बाल बिजाइँ सम्बन्धी परेका मुद्दाका फैसला नियाल्दा बालसुलभ यौन जिज्ञासा मेट्ने क्रममा भएका घटनाबाट थुप्रै बालबालिकाले कानूनी सजायको भागी हुनुपरेको देखिन्छ ।
बाल्यावस्थामा पाएको गलत जानकारी र हिंसाका कारण कतिपयले वयस्क हुँदा समेत सामान्य व्यवहार गर्न सकिरहेका हुँदैनन् । यसको प्रभाव उनीहरुको समग्र विकासमा पर्छ ।
बालबालिका तथा किशोरकिशोरीको जिज्ञासा, विपरीत लिंगीप्रतिको आकर्षण र व्यवहारलाई सही ढंगले बुझ्नु र बुझाउनु पर्छ । किशोरवयमा एक–अर्काप्रति आकर्षण हुनु सामान्य र जैविक प्रक्रिया हो भन्ने कुरा बाबुआमा र शिक्षक दुवैले बुझ्नुपर्छ । अनावश्यक अनुशासनको अंकुश लगाउन खोज्दा गलत संगतमा लाग्ने र कुलतमा फस्ने जोखिम बढ्छ ।
यौन शिक्षाबाट बालबालिकालाई आफ्नो शरीरका अंगको काम र संवेदनशीलता, राम्रो/नराम्रो छुवाइ आदि बारे ज्ञान दिएमा दुरुपयोग र शोषणबाट बच्न सघाउछ । छोराछोरीलाई किशोरवयमा अन्योलग्रस्त हुन नदिन अभिभावकहरूले पर्याप्त समय र साथ दिनुपर्छ । उनीहरुलाई यौन सम्बन्धी जैविक, भावनात्मक, मनोवैज्ञानिक र सामाजिक पाटोबारे जानकारी दिनुपर्छ ।
अभिभावककै अंकुशका कारण बालबालिका यौनका मामिलामा कुण्ठित र अन्योलग्रस्त बनेका थुप्रै उदाहरण समाजमा छन् ।
बालबालिकाको जिज्ञासा सम्वोधनका लागि अभिभावक र शिक्षक नै जिम्मेवार हुनुपर्दछ भन्छन्– आरआर क्याम्पसका सहप्राध्यापक सिर्जना श्रेष्ठ र पूर्व शिक्षक सुमन सिलवाल–
‘यौन शिक्षाको पहिलो गुरु आमाबाबु’
– सिर्जना श्रेष्ठ, सहप्राध्यापक, आरआर क्याम्पस, मनोविज्ञान संकाय
यौनप्रतिको चाहना जैविक विशेषता भए पनि यसको उपभोग कहिले, किन र कसरी गर्ने भन्ने ज्ञान सबैमा छैन । यो अज्ञानताका कारण समाजमा यौन विकृति बढेको हो । यौनलाई विकृत व्यवहारमा रुपान्तरित हुन नदिने एक मात्र उपाय हो, यौन शिक्षा ।
यौन शिक्षालाई कतिपय अभिभावक तथा बौद्धिकहरूले पनि अनुचित ठान्छन् । यसबाट बालबालिका उच्छृंखल बन्छन् र बढी कुरा थाहा पाएर कुबाटोमा हिंड्छन् भन्ने उनीहरूको धारणा छ । तर, यौन शिक्षाले सजग बनाउँछ ।
किशोरावस्थामा शारीरिक र मनोवैज्ञानिक परिवर्तन हुने भएकाले यौन शिक्षाका लागि यही समय उपयुक्त हुन्छ । यसबेला पाएको यौन शिक्षाले उनीहरूलाई आफ्नो व्यवहार नियन्त्रण गर्न र शोषणबाट बच्न सजग तुल्याउँछ । यौन शिक्षा निश्चित उमेरको लागि मात्र चाहिन्छ भन्ने होइन । कुनै बच्चाले यौनबारे केही सोधेमा उसको उमेर अनुसार बुझ्न सक्ने गरी जवाफ दिनुपर्छ ।
बालबालिकाले सोधेका कुरामा बेवास्ता गरे उनीहरूले आफ्नो जिज्ञासा मेट्न अनुचित स्रोतहरूको खोजी गर्ने खतरा हुन्छ । त्यसैले आमाबाबु नै यौन शिक्षाको पहिलो गुरु बन्न सक्नुपर्छ ।
‘कम हुन्न शिक्षकको भूमिका’
– सुमन सिलवाल, पूर्व स्वास्थ्य शिक्षक (हाल: शाखा अधिकृत, शिक्षा मन्त्रालय)
यौन तथा प्रजनन् स्वास्थ्य भन्नेबित्तिकै अधिकांश शिक्षक जस्तै म पनि संकोच मान्थें । विद्यार्थीलाई आफैं पढ भनेर टार्थें । पढाइहाले पनि एकोहोरो प्रवचन दिएर पाठ सक्न हतार हुन्थ्यो । धेरै विद्यार्थी लाजले टाउको निहुराउँथे, कोही हाँस्थे ।
विद्यार्थीले गृहकार्य र परीक्षामा सोधिएका प्रश्नहरूको हल नगर्ने, छात्राहरू महीनावारी हुँदा चार–पाँच दिन विद्यालय नै नआउने कुराले भने मलाई विस्तारै हीनताबोध भयो । त्यसपछि मैले अग्रज शिक्षकहरूसँग छलफल गर्दै पढाउने विधिमा परिवर्तन गरें ।
स्वास्थ्यका शिक्षण सामग्रीहरू, चित्र, टेम्प्लेट आदि देखाएर पढाउन थालें । साथै, किशोरावस्थामा महीनावारी हुँदाका आफ्ना भोगाइ र सामाजिक कुसंस्कारबारे सुनाउन थालें । विद्यार्थीले पनि संयमित हुँदै प्रश्न सोध्न थाले ।
त्यसपछिका वर्षहरूमा मैले यौन तथा प्रजनन् सम्बन्धी विषयमा विद्यार्थीलाई नाटक खेलाउने, भिडियो सामग्री देखाउने, अस्पतालका प्रजनन् विज्ञहरूलाई विद्यालयमै बोलाएर यौन र यौनिकताबारे अन्तरक्रिया गर्ने जस्ता प्रयास गरें ।
यसबाट विद्यार्थीमा परिवर्तन आउन थाल्यो । सबै विद्यार्थीलाई खुलाउन भने धेरै समय लाग्यो । त्यही मेसोमा पेशागत विकासको तालिमका क्रममा योजना, कार्य, अवलोकन र प्रतिविम्बन जस्ता चार चरणमा पढाउने तरिका सिकें । त्यसपछि प्रश्न सोध्ने विद्यार्थीको संख्या बढ्दै गयो ।