जन्मको आधारमा नेपाली नागरिकता बनाएकाहरुका सन्तानले नागरिकताको माग गर्दै वीरगंजमा प्रदर्शन गरेका छन् । आमा बुवा दुबैको जन्मसिद्ध नागरिकता हुँदा समेत आफूहरुले नागरिकता नपाएको भन्दै नागरिकता बनाएका सन्तानहरुले आईतबार प्रदर्शशन जिल्ला प्रशासन कार्यालस पर्सामा प्रदर्शन गरेका हुन ।
प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाउँदै उनीहरुले नेपालको संविधान २०७२ को भाग २ धारा ११ को उपधारा ३ मा संविधान जारी हुनु भन्दा पहिले जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानले बाबु र आमा दुबै नेपाली नागरिक रहेछन् भने नीज सन्तान भएपछि बंशजको नागरिकता प्राप्त गर्ने उल्लेख रहेपनि नागरिकता दिन बन्देज लगाईएको बताए । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले संसदमा विचाराधिन नागरिक सम्बन्धी विधेयक पास गराउन पनि सरकारसँग माग गरेका छन् ।
ज्ञापनपत्र मार्फत उनीहरुले अहिलेसम्म नागरिकता नभएका कारण आफूहरुले गुमाएका अवसर र सेवाको क्षतिपूर्ति पनि सरकारले दिनुपर्ने माग गरेका छन् । नागरिकता नभएकै कारण आफूहरुमध्ये कतिपयले उच्च शिक्षा अध्ययन गर्न नपाएको, बैंकमा खाता सम्म खोल्न नपाएको, देशभित्रै रोजगारी नपाएको, वैदेशिक रोजगारीमा समेत जान नपाएको गुनासो पनि उनिहरुले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।
पर्साको पटेर्वासुगौली गापा ५ निचुटाका २८ वर्षीय युवक अमर राउत मेस्तरले दाईहरुले २०६३ सालमा बुबाको जन्मका आधारमा नागरिकता बनाईसकेको तर त्यो बेला मेरो उमेर नपुगेकाले मेरो नागरिकता बन्न नसकेको बताए । उनले भने, ‘‘अहिले २८ वर्ष कटिसके तैपनि हातमा नागरिकता छैन,’ दुई दाजुभाई बीचमा पनि सरकारले किन विभेद गरेको ?’’
स्नताक अध्ययन सकिसकेको भए पनि नागरिकता नभएकै कारण आफूले जागीर नपाएको नागरिकता नपाएका युवाहरुले दुःखेसो पोखे । नागरिकता नपाएर आफूहरु जिउँदो मरिरहेको उनीहरुले फेरी दुःखेसो पोखे । उनीहरुले भने,‘‘कि त नागरिकता देऊ, नत्र देश निकाला गर सरकार ।’’