कुनै पनि शहर, बजार, गाउँ, वस्ती आफैमा फोहोर हुदैन । फोहोर जहिले पनि कोही न कोही मानिसबाट नै सृजना हुन्छ । खासमा हामीले हाम्रो शहरको फोहोरको कुरा गर्दा हामीले हाम्रो घर, होटेल तथा अन्य ठाउँबाट निकालेको फोहोरका कारण बढी दुर्गन्धित भएको छ । दिनहुँ मानिसले नै आफ्नो घर, पसल, होटेलबाट निकालेको फोहोरले वातावरण फोहोर बनाइरहेको हुन्छ । कहिले व्यवस्थित तरिकाले फाल्छौ कहिले अव्यवस्थित तरिकाले फाल्छौं ।
व्यवस्थित तरिकाले फालेको बेला शहर चिटिक्क सफा देखिन्छ भने अव्यवस्थित तरिकाले फाल्दा कुरुप देखिन्छ । हेर्दा त सबैलाई सफा सुग्घर शहर नै मन पर्छ । तर मानिसले नै फोहोर गरिरहेका हुन्छौ । हाम्रै दिनहुँको बानीले गर्दा हाम्रो वरिपरि फोहोर भइरहेको हुन्छ । जस्तै चक्लेट खान्छौ खोल बाहिर फाल्छौ । जुस खान्छौ जुसको बट्टा बाहिर फाल्छौं । नयाँ कपडा किन्दा पनि त्यसको प्लाष्टिक व्यवस्थित तरिकाले फाल्दैनौं । जसका कारण शहर फोहोर मात्रै होइन कुरुप पनि देखिन्छ । धेरै कुराहरु परिवर्तन भयो । तर सरसफाइका लागि हाम्रो बानी व्यवहार परिवर्तन भएन । हामीले आफ्नो ठाउँ सफा त खोज्छौ । तर त्यही ठाउँ सफा गर्न अगाडी बढ्दैनौं । हामीलाई थाहा छ । शहर फोहोर भयो भने बाहिरको मान्छे आउँदा स्थानीई नै गाली गर्छन् । तर हामी किन यस्तो कुरामा ध्यान दिदैनौं ? आफ्नो गाउँ, ठाउँ टोलको सरसफाइमा हामी आम नागरिकको भूमिका खोइ ?
वीरगंजको सरसफाइको कुरा गर्दा जहिले पनि हामी नाक खुम्च्याउँछौं । अरु ठाउँको उदाहरण दिएर भन्छौं । पोखरा कति सफा छ ? हेटौडा कति सफा ? तर हाम्रो वीरगंज किन भएन ? कहिले हुन्छ सफा ? यस विषयमा हामी चासो लिंदैनौं, चिन्ता गर्दैनौं । सफा भएन भनेर गुनोसो त गर्छाै । तर किन सफा भएन प्रश्न गर्दैनौं । वीरगंजको सरसफाइ पहिलेभन्दा सुधार भएको छ । भन्सार एरियामा पहिला कति फोहोर थियो । तर गरेपछि सफा भएको छ । व्यवस्थित भएको छ । वीरगंजका केही ठाउँहरुमा स्थानीयले आफनो अगुवाईमा टोलको व्यवस्थापन गर्दा राम्रै भएको छ । सफा भएकै छ । त्यसैले हामीले हाम्रो ठाउँलाई लायकको बनाउन भूमिका खेल्नै पर्ने हुन्छ । हो, सरसफाइको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारको हो । तर त्यसको लागि हामी सचेत नागरिकाको पनि भूमिका सकारात्मक हुनु पर्छ । सरसफाइका लागि अब नागरिक अभियान चलाउन पनि जरुरी छ ।
आमसर्वसाधारणले गर्ने व्यवहारको उदाहरण घण्टाघरको उतरपट्टी रहेको बजारको अगाडी विहान र साँझको समयमा देख्न सकिन्छ । फलफूल त किन्छौ तर त्यसमा रहेको कभर त्यही फाल्छौ । एउटा दुईवटा गरेर जब फोहोर बढछ अनि कुरुप देखिन्छ । पुरानो बस्ती होस् वा नयाँ बस्ती । बस्तीको बीचमा यदि खाली जग्गा छ भने नजिका सबैजनाले त्यहीं फोहोर फाल्ने बानी गर्दा टोल नै फोहोरी को रुपमा देखिन्छ । हामीले फालेको फाहोरका कारण नाला जाम्ह भए पानी नबग्ने समस्या पनि हाम्रै अगाडी छ ।
शहरको फोहोर मानवसृजित भएकाले पनि यसको व्यवस्थापन र शहरलाई सफा बनाउन आम नागरिक र स्थानीय सरकार विच समन्वय हुन जरुरी छ ।
हामीले हरेक कामका लागि कर तिरि रहेका हुन्छौ । शहरको फोहोर मैला व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी महानगरपालिकाको हो तर आम नागरिक, सचेत नागरिकको नाताले स्वच्छता र सरसफाईको लागि भुमिका खेल्नु हाम्रो पनि दायित्व हो । स्थानीय सरकारले फोहोर व्यवस्थापनका लागि बनाएको मापदण्ड पालना भए नभएको, हेर्ने नागरिकको पनि दायित्व हो । आफ्नै आनिबानीले फोहोरलाई कसरी कम गर्ने ? घरबाट निस्केको फोहोरलाई कसरी व्यवस्थापन गर्ने ? कहाँ व्यवस्थापन गर्ने ? यसको बारेमा हरेक टोल टोलमा बहस हुन जरुरी छ । साथै त्यसका लागि आम नागरिकको सक्रिय भूमिका पनि उत्तिकै जरुरी छ ।