विश्व परिवेशमा पर्यटन क्षेत्रको दायरा र महत्त्व दिनप्रतिदिन फराकिँदै गएको छ । विकास र समृद्धिमा पर्यटन क्षेत्रले ठूलो योगदान गर्छ । पर्यटन विकासले जीडीपीमा पनि अप्रत्यासित बढोत्तरी गर्न सक्ने र रोजगारका अवसर सिर्जना गर्न कोसेढुंगा सावित हुने गर्छ । पर्यटन प्रवर्द्धनले सामाजिक चेतनाको विकास, सरसफाइ पर्यावरण स्वच्छतामा सकारात्मक प्रभाव तथा स्थानीय पहिचान, कला, संस्कृतिको जगेर्ना र संरक्षण हुने, स्थानीय उत्पादन, हस्तकलाले बजार पाउने सम्भावना बढ्दै जान्छ । हाल वैश्विक महामारी कोभिड– १९ को प्रभावले पर्यटन क्षेत्र थला परेको छ । यसको असर नेपालको पर्यटन क्षेत्रमा सर्वाधिक परेको छ ।
महामारीयता मात्र पर्यटन क्षेत्रले करिब एक खर्बको नोक्सानी बेहोर्नुपरेको छ भने लाखौं रोजगार जोखिममा रहेको छ । नेपालको पर्यटन क्षेत्रको कुरा गरिरहँदा प्रदेश २ पनि यसको मारमा परेको छ । यो प्रदेशमा मासिक ५० करोडभन्दा बढी नोक्सान हुँदै गरेको पर्यटन व्यवसायीको अनुमान छ । प्रदेश २ र समग्र मधेसकै पर्यटन प्रवर्द्धनमा नेपाल सरकार र नेपाल पर्यटन बोर्डको नीति, कार्यक्रम र लगानी सन्तोषजनक रहेको पाइँदैन ।
मात्र हिमाल र पहाडका केही गन्तव्यलाई प्राथमिकतामा राखी नीति, कार्यक्रम र बजेट बनाउँदै आएको तथ्य नेपाल सरकार र पर्यटन बोर्डको पछिल्लो आर्थिक वर्षहरूको वार्षिक कार्यक्रम, नीति र बजेटमा प्रस्ट हेर्न, बुझ्न र अध्ययन गर्न सकिन्छ ।
कोरोनाको कारणले थला परेको प्रदेश २ को पर्यटनलाई पुनः उद्धार गर्न सरोकारवाला गम्भीर र जिम्मेवार हुनुपर्छ, जसअनुसार सरोकारवालाको निम्नअनुसार भूमिका अपरिहार्य छ । प्रदेश २ सरकारको पर्यटन मन्त्रालयलाई प्राविधिक र प्राविधिमा सहयोग गर्न नेपाल सरकारले तदारुकता देखाउन सक्नुपर्छ । थला परेका होटल, पर्यटन व्यवसायीको ऋणमा सहुलियत तथा छुटका लागि राष्ट्रबैंकसँग समन्वय गरेर राहत प्याकेज घोषणा गर्नुपर्ने हुन्छ । अन्तरप्रदेश पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारबीच समन्वयकारी भूमिका खेल्नुपर्ने अभिभारा नेपाल सरकारको पर्यटन मन्त्रालयकै रहेका छ ।
स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई पर्यटनमैत्री व्यवहारका लागि प्रशिक्षित गरी (खासगरी भारतीय पर्यटकका लागि) परिचालित गर्न जरुरी छ । उच्च बजेट लाग्ने नयाँ वा पुराना पर्यटकीय गन्तव्य निर्माण, स्तरोन्नति वा मर्मत–सम्भारमा संघीय मन्त्रालयको पनि साझेदारी हुनुपर्ने, अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदेश २ का पर्यटकीय गन्तव्य र विशेषतः अंकित पम्प्लेट÷ब्रोसर प्रदर्शन र वितरण गर्न व्यवस्था गर्नुपर्ने, व्यवसायकेन्द्रित पर्यटन बैंकको अवधारणा र परिकल्पना साकार गर्दा पर्यटन क्षेत्रलाई दिगो औद्योगीकरण गर्न सहज हुने भएकाले यसलाई प्राथमिकतामा राख्न अभिभावक भूमिका खेल्ने जिम्मावारी केन्द्रीय पर्यटन मन्त्रालयकै हो ।
पर्यटन बोर्डको भूमिका पनि महत्त्वपूर्ण हुन्छ । प्रदेश २ का पर्यटकीय गन्तव्यको व्यापक प्रचारप्रसार गर्नुपर्ने, प्रदेश सरकार शिशुकालमै रहेकाले प्राविधिक र प्रविधि सहयोग उपलब्ध गराउनुपर्ने, प्रदेशस्तरीय पर्यटन बोर्ड स्थापनाको सहयोग, सहकार्य हुनुपर्ने, नेपाल पर्यटन बोर्डको बजेटबाट प्रादेशिक मन्त्रालय वा प्रादेशिक मन्त्रालयमातहतका कार्यालयमा बजेट उपलब्ध गराउनुपर्ने, राष्ट्रिय–अन्तर्राष्ट्रिय फोरममा प्रदेश २ लाई पनि प्राथमिकतामा राख्नुपर्ने डिजिटल मार्केटिङमा यहाँका प्याकेज, गन्तव्य तथा विशेषतालाई समावेश गर्न पर्यटन बोर्डले पनि चासो दिनुपर्छ ।
प्रदेश सरकारले तत्काल पर्यटन पुनः उद्धार समिति गठन गर्नुपर्ने, आफ्नो दायरामा पर्ने सबैखाले ठूलासाना धरोहरमा सडक कनेक्टिभिटी गर्नुपर्ने हुन्छ । सरसफाइ एवं हराभरा बनाउन विशेष पहल गर्नुपर्ने, मुख्य चौक–चौराहामा सहर–गाउँका विशेषता÷धरोहरअंकित तस्बिरसहितका होर्डिङ बोर्ड÷डिजिटल बोर्ड जडान गर्नुपर्ने, (गन्तव्य दर्शाउने निशान (साइन) अंकित गर्नुपर्ने । मुख्य प्रवेशद्वारमा स्वागत तथा धन्यवाद बोर्ड लगाउनुपर्ने, (गन्तव्य जुन अवस्थामा छ कम्तीमा त्यसलाई सफा एवं रङरोगन गर्न सकियो भने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्न सक्छ ।
पर्यटन प्रवर्द्धनका लागि विज्ञको सल्लाहमा विशेष योजना एवं नीति तथा कार्यक्रम तय गर्नुपर्ने हुन्छ । अतिथि देवो भवः को भावना विकास गर्न पर्यटन क्षेत्रका सरोकारवालासँग समन्वय र सहकार्य गरी अगाडि बढ्दै स्थानीय स्तरसम्म अभियान चलाउनुपर्ने हुन्छ । प्रदेश २ को मुख्य पर्यटनको क्षेत्र धार्मिक, सांस्कृतिक क्षेत्र नै रहेकाले खासगरी छिमेकी मुलुक भारतमा प्राथमिकताका साथ प्रचारप्रसारका निम्ति अभियान चलाउनुपर्ने हुन्छ ।
प्रदेश २ का पर्यटकीय धरोहर, विशेषता झल्काउने डकुमेन्ट्री, वेबसाइट, फेसबुक पेज तथा पम्प्लेट, ब्रोसरलगायतका भिजुअल र डिजिटल सामग्री तयार गर्नुपर्ने हुन्छ । प्रदेश २ का महान् पर्वहरू जस्तै– छठ, होली, दिवाली, रामनवमी, जनकपुर परिक्रमा, गढिमाई मेला, सलहेश मेला तथा शक्तिपीठ मेलालाई महोत्सवका रूपमा मनाई पर्यटन प्रवर्द्धन गर्न सक्नुपर्छ ।
सम्भाव्यता
प्रदेश २ को पर्सामा रहेका विन्दवासिनी मन्दिर, गहवमाई मन्दिर, बाराको महागढिमाई मन्दिर, रौतहटको राजदेवी मन्दिर, महोत्तरीको राजदेवी मन्दिर, धनुषाको राजदेवी मन्दिर, सिरहाको राजदेवी मन्दिर, सप्तरीको साखडा भगवती र कन्कालिनी मन्दिरलाई शक्तिपीठ सर्किटका रूपमा रूपान्तरण गर्न सकिन्छ । त्यसैगरी यी शक्तिपीठलाई प्रदेश १ को सुनसरीमा अवस्थित दन्तकाली मन्दिर, बागमती प्रदेशको गैंडाकोटस्थित मौलाकाली मन्दिर, प्रदेश ५ को नेपालगन्जस्थित प्रख्यात वागेश्वरी मन्दिर र गण्डकी प्रदेश पोखरास्थित विन्दवासिनी मन्दिरसम्म जोडेर अन्तरप्रदेश पर्यटन गन्तव्य जोड्न सकिन्छ ।
जनकपुरधाम रामायण सर्किटको महत्त्वपूर्ण भाग रहेको छ । जनकपुरको जानकी मन्दिर, रामायणमा प्रख्यात शिवधनुष रहेको धनुषाधाम, बिहारमा रहेको माता सीता जन्मस्थल रहेको सीतामढी, भारतको उत्तरप्रदेशमा रहेको राम जन्मभूमि अयोध्या जोडेर नेपाल–भारतबीचको बृहत् रामायण धार्मिक सर्किटको अवधारणा प्रवर्द्धन गर्न सकियो भने भारतबाट मात्रै लाखौं पर्यटक भित्र्याउन सकिन्छ । यति मात्रै होइन; रामायण श्रीलंकाविना अधुरो र अपुरो रहेको छ । रामजस्तै रावण पनि रामायणको महत्त्वपूर्ण पात्र हो । यी सर्किटलाई श्रीलंकासँग जोड्न सकियो र प्रचारप्रसार गर्न सकियो भने लुम्बिनी आउने अधिकांश श्रीलंकाका पर्यटकलाई जनकपुरधाममा आकर्षित गर्न सकिन्छ । श्रीलंकामै महत्त्वको चर्चा र प्रचार–प्रसार हुन सक्यो भने लुम्बिनी र जनकपुरधाम भ्रमण उद्देश्यले त्यहाँका थप पर्यटक भिœयाई लाभ लिन सकिन्छ ।
पर्साको दुग्धेश्वर (राम भौरी भाथा), बाराको काटघाटधाम, रौतहटको शिवनगर मन्दिर, महोत्तरीको जलेश्वरधाम, जनकपुरधाम, शाश्वतधाम, काठमाडौंको पशुपतिनाथ र मुक्तिनाथलाई भगवान् शिव सर्किटका रूपमा पर्यटन व्यवसायी प्याकेज बनाई लाभ लिन सक्छ । प्रदेश २ वीरगन्जको भिश्वा स्तुफा (डाँडा) लाई लुम्बिनीसँग जोडेर बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र बनाउन सकिन्छ ।
वीरगन्ज आसपास वा प्रदेश २ का पर्यटकीय गन्तव्यका भ्रमण प्याकेज पस्किन सकिए यो प्रदेशको पर्यटन क्षेत्र विस्तार हुँदै जाने छ । पर्सा जिल्लाको मध्यभागमा रहेको एतिहासिक, पुरातात्विक धरोहर पारसनाथ मन्दिरलाई जैन धर्मको आस्थाको केन्द्रका रूपमा विकास गर्न सकिन्छ । यो मन्दिरमा जैन धर्मसँग सम्बन्धिता प्रचुर आधार र प्रमाण रहेको तथ्यबारेमा अन्तर्राष्ट्रिय स्तरका जैन धर्मका विज्ञहरूले अध्ययन–अनुसन्धान गरेका छन् । यसको स्तरोन्नति गरी जैन सर्किटमा जोडिन बहस, छलफल र कार्यक्रम चल्दै छ । प्रदेश २ कृषि प्रदेशका रूपमा रहेको छ । जेठ–आसार महिनामा धान रोपाइँमा यहाँका आफ्नै मौलिकता रहेको छ ।
धानरोपाइँको महिलाले सामूहिक रूपमा गाउने लोकगीत र महिला–पुरुषको सामूहिक सहभागिताले यो बखत तराईमा अलग्गै रौनक छाएको हुन्छ । धान रोपाइँ प्रक्रियालाई पनि प्रवर्द्धन गर्न सकियो भने आन्तरिक र बाह्य पर्यटक धान रोपाइँमा सहभागी भई रमाउने व्यापक सम्भावना छ । त्यसैगरी मंसिर–पुस महिनामा फस्टाएको बाली, हरियाली, तोरीको फूलले मनोरम देखिएका वातावरणमा पर्यटक तस्बिर लिन आकर्षित हुन सक्छन् । त्यसैगरी यहाँ रहेका पोखरी, तालतलैया, नदीनालामा पर्यटकलाई स्वयं माछा मार्ने र पकाएर खाने सुविधाका साथ व्यवस्था गर्न सकियो भने कृषि र पर्यटन दुवैलाई जोड्न सकिने छ ।
प्रदेश २ मा खासगरी मैथिली र भोजपुरी, थारू संस्कृतिको बाहुल्य रहेको छ । प्रदेश २ को मिथिला क्षेत्रमा एउटा मैथिली गाउँ र भोजपुरा क्षेत्रमा भोजपुरी गाउँको व्यावसायिक रूपमा विकास गरी ग्रामीण पर्यटनको बृहत् विकास र यसबाट लाभ लिन सकिन्छ । यी गाउँमा स्थानीय खाना, रहनसहन, वासको व्यवस्था, मौलिक गीत–संगीतका साथै पारम्परिक खेलकुद, मनोरञ्जनले पर्यटक फरक र नौलोपना अनुभूति गर्न सक्छ । यस्तो अवधारणामै होम स्टेलाई पनि प्रोत्साहन गरेर गाउँगाउँमा पर्यटक भित्र्याउन सकिन्छ ।
प्रदेश २ मा मैथिली, भोजपुरी, मगही, बज्जिका, नेपाली र हिन्दी भाषा बोल्ने गरिन्छ । खासगरी यहाँ मैथिली र भोजपुरीसम्बन्धी कविगोष्ठी वा सभा–सम्मेलन गरेर साहित्यिक पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । त्यसैगरी मैथिलीका महान् साहित्यकार विद्यापतिको सिरहामा रहेको जन्मस्थलको प्रवर्द्धन र प्रचारप्रसार गर्न सकियो भने उनको साहित्यमा रुचि राख्ने विभिन्न देशका साहित्यिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ । त्यसैगरी बाबा भिनकराम भोजपुरीका अन्तर्राष्ट्रिय महान् कविको जन्मस्थल सर्लाहीको सोहर्वा, गोनर्वा ठाउँलाई प्रवर्द्धन गर्न सक्नुपर्छ । विश्वका पहिलो गध साहित्यका लेखक ज्योति रेश्वर ठाकुरको जन्मस्थल बारा जिल्लाको सिम्रौनगढलाई पनि पुरातात्विकका साथसाथै साहित्यिक पर्यटकीय स्थलका रूपमा परिचय दिन सकिन्छ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)