हेमराज तम्राकार र बिना ताम्राकारका तिन सन्तान मध्यकी पहिलो सन्तान हुन् रुबिना ताम्राकार । वि.सं. २०३५ सालमा काठमाण्डौको प्रसुति गृह थापाथलीमा जन्मिएकी रुबिना युवावस्थामा पुगेपछि ताम्राकारसँगै थरमा गुरुङ्ग जोड्न पुगेकी हुन् । हाल वीरगन्जको बयोधा अस्पतालमा उनै रुबिना ताम्राकार गुरुङ्ग स्त्री तथा प्रसुति रोग विषेशज्ञ ( डाक्टर ) का रुपमा परिचित छन् ।
विद्यालयका प्रबन्धक बुबा र प्रधानाध्यापक आमा भएको पुराना दिनको आधारले नै चिकित्सकीय शिक्षा आर्जन गर्नमा उनलाई प्रेरणा मिलेको उनले बताइन् । वि.सं २०५१ सालमा जनकपुरको जानकी बोर्डिङ्ग स्कूलबाट एस.एल.सी उतीर्ण गरेकी डा रुबिनालाई सानैदेखि बिरामीको सेवा गर्ने रुचि र सोच भएकोले त्यसपछिको पढाइले डाक्टरसम्मको अध्ययन गर्ने बाटो तय हुँदै गएको हो । अन्ततः भारतको विजयबाडाबाट उच्च माविको अध्ययन गर्दै चाइनाको सिआङ्ग च्याउथोन विश्व विद्यालयबाट एम बिबीएस सम्मको अध्ययन पूरा गरी पुनः फिलिपिन्सको फातीमा मेडिकल कलेजबाट एमडीसम्मको अध्ययन गरेकी छन् ।
२०६३ सालमा डा. गोविन्द गुरुङ्गसंग वैवाहिक जीवनमा बाधिएकी ताम्राकारका एक सन्तान छन् । वि.सं. २०६१ सालदेखि नै उनी स्त्री तथा प्रसुति रोग विशेषज्ञको रुपमा सेवा दिंदै आएको उनले प्रष्ट पारिन् । हाल वीरगन्ज स्थित गण्डकमा रहेको नारायणी बयोधा अस्पतालमा प्रसुति रोग विशेषज्ञका रुपमा रहेकी उनै डा. रुबिना ताम्राकार गुरुङ्गसँग स्त्री रोग सम्बन्धी बिषयमा केन्द्रित रही मध्य नेपालले गरेको बिशेष कुराकानी ः
१) प्याप स्मेयर टेस्ट भनेको के हो ?
प्याप स्मेयर टेस्ट महिलाहरुको पाठेघरको मुखमा गरिने विशेष किसिमको जाँच हो । ह्युम्यान प्युपुलोमा भाइरसले गर्दा पाठेघरको मुखमा हुने क्यान्सर छ कि छैन ? भनेर पत्ता लगाउन यो जाँच गरिन्छ ।
२) प्याप स्मेयर परीक्षणका विधि के के हुन ?
प्याप स्मेयर टेस्टमा महिलाको योनीबाट कोषिका निकालेर परीक्षणका लागि ल्याबमा पठाइन्छ । महिलाको पाठेघरको मुखमा क्यान्सर छ कि छैन ? भनेर पत्ता लगाउन यो टेस्ट गरिन्छ । त्यस्तै, यौन रोगको संक्रमण छ कि छैन भनेर तथा यौन सम्पर्कबाट सर्ने रोगबारे पत्ता लगाउन पनि यो परीक्षण गरिन्छ ।
३) कुन उमेर समूहका महिलाहरुले यो जाँच गराउन पर्छ ?
यसलाई उमेर अनुसार छुट्याएको छ । सामान्यतया २१ वर्षदेखि ६२ वर्षसम्मका महिलाहरुलाई यो जाँच गरिन्छ । विवाहित महिला, जो शारीरिक सम्पर्कमा सक्रिय हुनुहुन्छ उहाँहरुले वर्षमा कम्तीमा एक पटक प्याप स्मेयर टेस्ट गरे पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्न सकिन्छ । तर जसको पाठेघर निकालिएको छ उहाँहरुले यो जाँच गराउनु पदैन ।
४) पाठेघरको मुखमा हुने क्यान्सरको कारण के हो ?
यो खास गरी धरै यौन सहकर्मी भएका महिलाहरु, बढी ध्रुमपान गर्ने, पौष्टिक आहार कमी भएका महिलाहरु, कम उमेरमा विवाह भएकाहरु र निलोकन चक्की बढी प्रयोग गरेका महिलाहरुमा पाठेघरको मुखको क्यानसर हुने जोखिम बढी हुन्छ ।
५) यसका लक्षणहरु पनि छन् कि ?
योनीबाट सेतो र गन्हउने पानी बग्ने, महिनावारी भएको १५ बिस दिनमा पनि अलिअलि रगत देखा पर्ने, शारीरिक सम्बन्ध राख्दा दुख्ने वा रगत बग्ने, कसै–कसैमा खुट्टाहरु सुनिने दुख्ने, तल्लो पेटहरु दुख्ने र तौलमा कम हुदै जाने लगायतका लक्षणहरु देखिन्छ ।
६) कति वर्षको अन्तरमा प्याप स्मेयर जाँच गराउनु पर्छ ?
सुरुको तीन वर्ष एक–एक वर्षको फरकमा परीक्षण गछौं । यदी क्यान्सर छ भने कुन स्टेजमा छ त्यो निक्र्यौल गरेर अन्य थप उपचार गर्छौ । सामान्य अवस्था छ भने तीन तीन वर्षको अन्तरमा परीक्षण गराउने सल्लाह दिन्छौ ।
७) नेपालमा यस रोगको अवस्था कस्तो छ ? प्याप स्मेयर जाँचको बारेमा महिलाहरु कत्तिको जानकार भएको पाउनु भएको छ ?
नेपालमा वर्षेनी एक हजारको हाराहारीमा पाठेघरको मुखको क्यान्सर भएर मुत्यु हुने गरेको पुराना तथ्याङ्गकहरुले देखाएको छ । यसको परीक्षणको बारेमा जानकारी नहुने हुँदा अन्तिम अवस्थामा अस्पताल आउनेहरुको संख्या बढि छ । सुरुमा नै अस्पताल आउने हो परिक्षण गराउने हो भने उपचारले पनि धेरैजनालाई निको पार्न सकिन्थ्यो ।
८) यो परिक्षणको विधि खर्चिलो छ कि ? जाँचका केही साइड ईफेक्ट पनि छन् ?
खासै खर्चिलो छैन । समय पनि लाग्दैन । केही असहज भए पनि दुखाई हुँदैन । यसो कुनै साइड ईफेक्ट पनि छैन ।
९) नेपालमा सुरुवातकै अवस्थामा उपचार गर्ने चलन नहुनुमा दोषी को जस्तो लाग्छ ?
यसमा बिरामीको मात्र दोष हो भन्न मिल्दैन । यसो हुनुमा धेर थोर सबैपक्ष जिम्मेवार छन् । एकातिर समाजमा जनचेतना अभाव छ भने अर्कोतिर हाम्रो देशमा स्वास्थ्य उपचारमा सबैको समान पहुँच छैन । स्थानीय तहसम्म क्यान्सर पहिचान तथा उपचारका लागि आवश्यक प्रविधि र जनशक्ति पुग्न सकेको छैन ।
जसले गर्दा पनि समयमै क्यान्सर पत्ता लगाउन ढिलाइ हुने गरेको छ । विकसित मुलुकहरूमा प्रविधिको पहुँचले गर्दा क्यान्सर समयमै पत्ता लाग्छ । अझ अहिले त प्रायः बाहिरी मूलूकमा त नौदेखि तेह्रवर्ष उमेरका सबै वालक र वालिकालाई खोप अनिर्वाय गरेको छ । त्यसैले बाहीरी मूलूकमा पाठेघरको मूखको क्यान्सरको दरमा कमी आएको छ ।
नेपालमा बिरामी स्वयं नियमित स्वास्थ्य जाँच गर्न जाने चलन पनि कम छ । कतिपय क्यान्सरका बिरामी लामो समयसम्म आयुर्वेदिक उपचारको भरमा पर्छन् र अन्तिममा मात्र अस्पताल आएको देखिन्छ । यस्तो प्रवृत्तिले गर्दा पनि क्यान्सर छिप्पिने गरेको पाइन्छ । उपचारमा समान पहुँच र जानकारी नहुनुले पनि नेपालमा पाठेघरको मुखको क्यान्सर सुरुकै अवस्थामा पत्ता लाग्न नसकेको हो । तर पछिल्लो समयमा सरकारले पनि यसको जाँच बारे प्रचारप्रसार गर्न थालेको छ । अनि अस्पतालहरुले पनि आफ्नो तर्फबाट यो रोग र जाँच बारे विभिन्न क्याम्पहरु गर्न थालेका छन् ।
१०) पाठेघरमा क्यान्सर लाग्ने रोगको रोकथामका उपायहरु के के हुन् ?
क्यान्सर हुन नदिन ध्रूम्रपान नगर्ने, गर्भनिरोधक औषधीहरु डाक्टरको सल्लाह बमोजिम प्रयोग गर्ने, माथि उल्लेखित लक्षणहरु देखिएमा प्याप स्मेयर परीक्षण गराउने । यदि अवस्था सामान्य भए पनि तीन तीन वर्षको अन्तरमा एक पटक जाँच गराउने र यहाँ भ्याक्सिनको उपलब्धता छैन र नेपाल सरकारले भ्याक्सिनको अनिर्वायता गरेको पनि छैन । त्यसैले सरकारले खोपको उपलब्धता गुर्न प्रचार प्रसारमा जोड दिने गर्न राज्य र स्वास्थ्य संस्थामहरु सबैको भूमिका अहम् हुनु पर्छ ।