डा शौरभ शर्मा नारायणी वयोधा अस्पतालको सर्जन डिपार्टका अब्बल चिकित्सक हुन् । वालचन्द्र शर्मा र निर्मला शर्माको कोखबाट वि.स. २०४१ सालमा चितवनको टाडीमा जन्मिएका उनी नारायणी वयोधा अस्पतालको जेनेरल लाप्रस्कोपिक सर्जनका रुपमा परिचित छन् । एवीवी एस, एमएस डिग्री प्राप्त डाक्टर शर्मा विगत सम्झँदै भन्छन् उति वेला अलिअलि पढ्ने मान्छे साइन्स नै पढ्थे । साइन्स पढेपछि डाक्टर नै पढ्ने एउटा ट्रेन पनि थियो त्यो समयमा उनले भने । फेरि आफ्नो रुचि पनि चिकित्सा तर्फ नै भएको कारण अध्ययनका लागि नाम निकाल्न खासै अप्ठ्यारो नभएको डा.शर्माले बताए । मध्य नेपाल सन्देश पत्रिकाको लागि उनै डा. शौरभ शर्मासँग सन्ध्या पौडेलले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित रहेर गरेको विशेष कुराकानी :
एपेन्डिक्स भनेको के हो ?
एपेन्डिक्स भनेको ठूलो आन्द्रा र सानो आन्द्रा जोडिने तल तिर हाम्रो हातको कान्छी औला जस्तो निस्किएको आन्द्रा जस्तै हो । जसको लम्बाइ दुईदेखि तीन इन्च सम्मको हुन्छ । यो मलद्वारसँग जोडिएको हुन्छ । एपेन्डिक्समा हुने दुखाइ र यो सुन्निनुलाई एपेन्डिसाइटिस भनिन्छ । त्यसमा कहिले संक्रमणले गर्दा कहिले त्यसको प्वालमा खानेकुरा, दिशा पसेर अड्किएर एपेनिडक्स सुनिन्छ । कहिलेकाहीँ फुट्छ पनि त्यसलाई एपेन्डिसाइटिस भनिन्छ ।
एपेन्डिसाइटिस कति प्रकारको हुन्छ ?
यो दुई प्रकारको हुन्छ । एउटा एक्युट एपेन्डिसाइटिस र क्रोनिक एपेन्डिसाइटिस । एक्युट यो एपेन्डिसाइटिस छोटो समयमा विकास हुने गर्छ । यो केही घन्टा या दिनमै विकसित हुने गर्छ । सुरुमै यसको पहिचान गर्न गाह्रो पनि हुन सक्छ । यस्तो एपेन्डिसाइटिस भएमा तत्काल सर्जरीको गर्नु पर्ने हुन्छ । एपेन्डिक्समा जीवाणु संक्रमण, दिसा या कुनै अन्य प्रकारको रोकावटका कारण यसले शरीरलाई नै जोखिमपूर्ण बनाउँछ । जब एपेन्डिक्समा ब्याक्टेरिया उत्पन्नको गति बढेसंगै यसको दुखाइ पनि त्यही गतिमा बढेर जान्छ । उपचारमा ढिलाइ भएमा यसले ज्यान समेत लिन सक्छ ।
त्यसै गरी क्रोनिक एपेन्डिसाइटिसले एपेन्डिक्समा बिस्तारै समस्या पार्न थाल्छ । बिस्तारै एपेन्डिक्स र मलद्वार सुन्निन थाल्छ । यसको दुखाइ लामो समयसम्म हुन्छ । भित्री दबाबका कारण सुन्निएको एपेन्डिक्सले गम्भीर समस्या निम्त्याउन सक्छ र समयमै उपचार नगर्दा एपेन्डिक्स फुट्न पनि सक्छ ।
एपेन्डिसाटिस भएको कसरी थाहा पाउने ? लक्षणहरु के के हुन् ?
प्राय त यो अकास्मात देखिने स्वास्थ्य समस्या हो । सुरुवाती समयमा सामान्य लक्षण देखिन्छ । यसले पेट दुख्नुका साथै भोक पनि कम लाग्ने समस्या हुन्छ । बान्ता हुने लक्षण पनि देखिन थाल्छ । बिस्तारै एपेन्डिसाइटिस बढ्दै जान्छ । र, दुखाइ मुख्य लक्षणको रूपमा देखा पर्छ । यसको दुखाइ प्रभावित ठाउँमा मात्र सीमित हुँदैन । शरीरका अन्य भित्री अंगमा पनि दुखाइ फैलँदै जान्छ । रोगीलाई दुखाइको निश्चित ठाउँ पहिचान गर्न निकै गाह्रो पर्छ । यसले पेटको सम्पूर्ण भाग दुखेको अनुभूति हुन्छ । र, बिस्तारै यस्तो दुखाइ पेटको तल्लो भागतिर सर्दै जान्छ । यसले पेटको माथिल्लो भागमा हल्का दुखाउँछ भने दाहिने तल्लो भागमा भने दुखाइको मात्रा अत्यधिक हुन्छ ।
९९ देखि १०२ डिग्री फरेनहाइटसम्मको ज्वरो अउने गर्छ । बिस्तारै पेटको माथिल्लो भाग, पिठ्युँ मलाशयमा पनि दुखाइको अनुभूति हुन थाल्छ । पिसाब गर्दा समस्या उत्पन्न हुन थाल्छ । ग्यास्ट्रिकका साथै कब्जियतको समस्या पनि बढ्दै जान्छ ।
यो रोग कसरी लाग्छ । रोकथामको उपाय के के हुन ?
यो कुन कारणले हुन्छ भन्ने पनि स्पष्ट थाहा छैन । त्यसैले कसरी रोक्ने भन्ने पनि भन्न सकिन्न । यो जसलाई पनि हुन सक्छ । जुन सुकै उमेर समूहकालाई यो रोग लाग्न सक्छ ।
यसको उपचार कसरी गरिन्छ ? कतिको खर्चिलो छ ?
यसको उपचार भनेकै सल्यक्रिया हो । अप्रेसन दुई तरिकाको हुन्छः ओपन सर्जरी र लेप्रोस्कोपिक दूरबीन पद्धति । यी दुई पद्दतिमा जुन तरिका पनि अपनाउन सकिन्छ । पछिल्लो समय लेप्रोस्कोपिक विधि बढी चलनमा छ । यसबाट सानो–सानो तीन वटा प्वाल पारेर अप्रेसन गरिन्छ । यो पद्धतिबाट अप्रेशन गर्दा दुखाई कम हुन्छ भने औषधिको प्रयोग पनि कम लाग्छ । यससँगै चाडै निको समेत हुन्छ । तर यो विधि अलि खर्चिलो छ । तर घाउँ पाक्ने डर कम हुन्छ । कामको प्रकृति हरेर बिरामी ८ देखि १० दिनमै काममा फर्किन सक्छ ।
हाल यो सेवा हाम्रो नारायणी वयोधा अस्पतालमा पनि उपलब्ध छ । कुन पद्धतिबाट उपचार गर्ने विरामीको आर्थिक अवस्था र स्वास्थ्य अवस्थामा निरर्भर पर्छ । अप्रेशन नगरिए एपेन्डिक्स पटक–पटक सुन्निने खतरा हुन्छ । साथै फुट्ने सम्भावना समेत हुन्छ । एपेन्डिक्स फुट्दा इन्फेक्सन पुरै पेटमा फैलिन्छ जसले ज्यान समेत जानसक्छ । त्यसकारण एपेन्डिक्सका लक्षणबाट सचेत हुन जरुरी छ ।