सिन्धुपाल्चोको बलेफी गाउँपालिका २ फुलपिडकोटका स्थानीय हिरालाल न्यौपाने र अम्बिका न्यौपानेका नवौ सन्तान चन्द्र प्रसाद न्यौपाने नेपाली साहित्य आकाशका चम्किलो तारा हुन् । कवितामा पद्य लेखनमा सक्रिय उनले गद्य, पद्य, कथा, समिक्षा अनि समालोचनाका विविध पक्षमा कलम चलाउने गरेका छन् । २०२४ सालमा सोही जिल्लामा जन्मिएका प्रखर कल्पनाशिल न्यौपानेले २०४७ मा पहिलो खण्ड काव्य ‘पालुवा’ लेखेका थिए । त्यसयता २०७७ सालको यात्रा संस्मरण ‘घुमफिर’ सम्म गरी तिन दर्जनभन्दा बढि साना ठूला कृति प्रकाशित गरेको बताउँछन् र्। महाकाव्यमा सबैभन्दा धेरै श्लोक भएको महाकाव्यको रेकर्डमा पहिलो बनेका न्यौपानेको ‘चन्द« युग’ बृहत महाकाव्य प्रकाशन भएको छ । जसमा २१ हजार श्लोक भएको दावी गरिएको छ । न्यौपानेको दोश्रो खण्ड काव्य ३२ हजारभन्दा बढी श्लोक भएको महाकाव्य समेत प्रकाशनको अन्तिम चरणमा रहेको उनले खुलासा गरे ।
महाकाव्यको इतिहासमै शक्तिशाली कलमका धनी मानिने न्यौपाने बाल्यकालदेखि नै तिक्ष्ण वुद्घि भएका र पढाइमा पनि अत्यन्तै जेहेन्दार विद्यार्थीको रुपमा सधंै कक्षामा प्रथम हुने गरेका पनि उनलाई नजिकबाट चिन्नेहरुले बताए । लेखन कार्यमा अकल्पनीय तेज साहित्कार उनी त्यस्तैपर्दा दुबैहातले कलम चलाउन सक्ने जस्तो ठान्निछन् । तीन घण्टाको परीक्षा डेड घण्टामै समाप्त गर्ने उनी अत्यन्तै तेज व्यक्तिका रुपमा परिचित छन् । हेर्दा सामान्य अनि सरल स्वभावका उनी मध्यम परिवारमा जन्मिएका हुन् । शिक्षण पेशामा समेत केही समय कार्यरत रहेका उनी अहिले खेती किसान गरेर गाउँमै बस्दै बुवा र दाइसँगै ज्योतिष विद्याको पनि जानकारी लिइरहेका छन् । पद्य कवितामा कलम चलाउने बहु–प्रतिभाका धनी उनै साहित्कार चन्द्रप्रसाद न्यौपानेसँग मध्य नेपालका लागि गीता भण्डारीले गरेको बिशेष कुराकानी :-
१) साहित्य क्षेत्रमा प्रवेश र यो क्षेत्र रोज्नुको कारण के हो ?
वि.सं. २०३७ सालमा कक्षा ५ मा पढ्थे म । त्यतिबेला ‘सरस्वती वन्दना’ शीर्षकको कविता लेखे । त्यो कविता नेपाली सवाई लयमा थियो । सो कविता मैले हुलाक मार्फत् रेडियो नेपालको बालकार्यक्रमा पठाएको थिएँ । प्रसारित पनि भयो । शायद त्यही कविताबाट मेरो साहित्यिक लेखनयात्रा प्रारम्भ भएको हो । तत्पश्चात् प्रकाशनका हिसाबले वि.सं. २०४३ सालमा एक पेजी १० वर्षे भित्तेपात्रो ( वि.सं. २०४३–२०५२) प्रकाशनमा ल्याएँ । पुस्तककारका रूपमा वि.सं. २०४७ सालमा प्रकाशित पालुवा खण्डकाव्य पहिलो हो ।
२) साहित्य के हो यहाँको बुझाइमा ? साहित्य बाहेक अन्य के गर्नु हुन्छ ?
हरेक मानवको मानवीय भावनामा प्रवेश गर्न सक्नु साहित्य हो । जहाँ सत्यसँगका कल्पनासँग खेलिन्छ । जसले समसामयिक युगको विश्लेषणसहितको चित्रण गर्दछ । भविष्यका लागि इतिहास बन्दछ । मेरो साहित्य चाहिँ अतिरिक्त हो । म खेती किसानी गर्छु अहिले । पहिले शिक्षक थिएँ ।
३) लक्ष्मीप्रसाद देवकोटालेभन्दा पनि बढी महाकाव्य लेख्ने कवि भनेर चिनिन थाल्नु भएको छ, पछिल्लो महाकाव्य बारे बताइदिनुस न ?
घटीबढी भन्ने केही होइन । मैले एउटा पूर्ण महाकाव्य पनि लेख्न सकेको छैन । चन्द्रयुग बृहत्तर महाकाव्य लेख्दैछु । जसले समसामयिक विश्वको विविध विषयको चित्रण गर्न सकोस्, महाकाव्य पूर्ण गर्ने प्रयास मात्र हो । तर आफूसँग रहेको लेखनक्षमता कमजोर रहेको महसुस भएको छ ।
४) यहाँले लेख्दै गरेको काव्यको व्यग्र पर्खाइमा हुनेहरुका लागि त्यो काव्यबारे केही बताइदिनु हुन्छ कि ?
म अहिले चन्द्रयुग लेख्दैछु । दोस्रो परिमार्जित संस्करणमा ३२ हजार २० श्लोक रहेका छन् । तेस्रेमा २२ पर्वहरू रहेका छन् जसमा, (१) चन्द्रयुगः प्रारम्भ पर्व, (२) चन्द्रयुगः सोल्मुपर्व, (३) चन्द्रयुगः बालपर्व, (४) चन्द्रयुगः प्रत्याघात पर्व, (५) चन्द्रयुगः सिमाना पर्व, (६) चन्द्रयुगः गौतमबुद्ध पर्व, (७) चन्द्रयुगः सिपाही पर्व, (८) चन्द्रयुगः मान्छेको यात्रापर्व, (९) चन्द्रयुगः म पर्व, (१०) चन्द्रयुगः अरनिको पर्व, (११) चन्द्रयुगः मोतीराम पर्व, (१२) चन्द्रयुगः प्रवाह पर्व, (१३) चन्द्रयुगः आन्दोलन पर्व (१४) चन्द्रयुगः सिद्धि पर्व, (१५) चन्द्रयुगः गान्धी पर्व, (१६) चन्द्रयुगः विपी पर्व, (१७) चन्द्रयुगः भ्रमण पर्व, (१८) चन्द्रयुगः प्रकृति पर्व, (१९) चन्द्रयुगः नेपाल पर्व, (२०) चन्द्रयुगः रसालङ्कार पर्व, (२१) चन्द्रयुगः छन्दशास्त्र पर्व र (२२) चन्द्रयुगः समापन पर्व (क) पूर्वार्ध र (ख) उत्तरार्ध । चन्द्रयुग तृतीय संस्करणमा ३ सय ६४ सर्गहरू छन् । हरेक सर्ग कम्तीमा १०१ देखि बढीमा २ हजार ५ सय श्लोकसम्मका छन् । शास्त्रीय वार्णिक, नेपाली वार्णिक, शास्त्रीय मात्रिक, जापानी वार्णिक र स्वतन्त्र गद्य गरी पाँच किसिमका छन्दहरूको प्रयोग भएका छन् । प्रस्तुत काव्यमा उपर्युक्त पाँच किसिमका ५ हजार ३९ छन्दमा ४६ हजार २ सय १८ श्लोकका २१ लाख ६८ हजार २ सय ९७ अक्षरहरू रहेका छन् । प्रति श्लोक ३२ अक्षर हुने शास्त्रीय वार्णिक अनुष्टुप् छन्दको हिसाबले चन्द्रयुग सं. दोस्रोमा ६७ हजार ७ सय ६० श्लोकहरू रहेका छन् । चन्द्रयुगः समापन पर्व पूर्वार्ध र उत्तरार्ध पर्वको श्लोक गणना उपर उल्लेखित अङ्कीय तथ्याङ्कमा गणना गरिएको छैन ।
५) यहाँका प्रकाशित कृति कुन कुन हुन् ?
मेरा प्रकाशित कृतिहरूः (१) पालुवा (खण्डकाव्य, २०४७), (२) नयाँ घर (कथासङ्ग्रह, २०४९), (३) बेचिएकी चेली (खण्डकाव्य, २०४९), (४) सगरमाथा माथि (खण्डकाव्य, २०५०), (५) युद्धको नाइके (उपन्यास, २०५०), (६) आँसुको थोपा (खण्डकाव्य, २०५१), (७) विद्रोही (खण्डकाव्य, २०५२), (८) फुलपिङकोट एक परिचय (शोधपरिचय, २०५२), (९) कहाँ छ ईश्वर ? (कविता सङ्ग्रह, २०५२), (१०) कुविण्डे र संघर्ष (खण्डकाव्य, २०५२), (११) सोल्मू (महाकाव्य, २०५३), (१२) जीवनलक्ष्य (कविता सङ्ग्रह, २०५४), (१३) एउटा बालमजदुर (खण्डकाव्य, २०५५), (१४) चन्द्रप्रसादका १०१ कविता (कविता सङ्ग्रह, २०५५), (१५) प्रत्याघात (महाकाव्य, २०५५), (१६) केही साहित्यिक व्यक्तित्व–कृतित्व–१ (समालोचना, २०५६), (१७) मनका गुनासा (कविता सङ्ग्रह, २०५६), (१८) व्यावहारिक सन्देश (नीतिकाव्य, २०५७), (१९) उज्यालोको खोजीमा (निबन्ध सङ्ग्रह, २०५८), (२०) सिमाना (महाकाव्य, २०५८), (२१) गौतम बुद्ध (महाकाव्य, २०५९), (२२) केही शीर्षस्थ प्रतिभाहरू (खण्डकाव्य, २०६०), (२३) सिन्धु साहित्यिक इतिहास (शोध ग्रन्थ, २०६०), (२४) मान्छेको यात्रा (महाकाव्य, २०६१), (२५) सिपाही (महाकाव्य, २०६१), (२६) आधुनिक वाल्मीकि रमेशचन्द्र (खण्डकाव्य, २०६१), (२७) म (महाकाव्य, २०६२), (२८) तीतामीठा कुरा (सहलेखन, नीतिकाव्य, २०६३), (२९) छन्दकुञ्ज (कविता सङ्ग्रह, २०६३), (३०) माधुरी (कवितासङ्ग्रह, २०६३), (३१) राता फूलहरू (खण्डकाव्य, २०६३), (३२) अरनिको (महाकाव्य, २०६४), (३३) चन्द्रयुग (बृहत्तर काव्य, २०६५), (३४) आकस्मिक (महाकाव्य, २०७०), (३५) व्यावहारिक सन्देश (सूक्तिकाव्य, २०७०), (३६) मेरी चरी भँगेरी, (बालकविता सङ्ग्रह, २०७१), (३७) छन्दशास्त्र (कविता सङ्ग्रह, २०७१), (३८) श्लोक एकः छन्द अनेक (श्लोक सङ्ग्रह २०७१), (३९) घुमफिर (यात्रा संस्मरण, २०७७) आदि हुन् ।
६) पछिल्लो समय साहित्य लेखनप्रति युवाहरुको आकर्षण बढेको देखिन्छ । अहिलेको साहित्यमा के भिन्नता पाउनु हुन्छ ?
हो, सत्य कुरा भन्नु भयो । अहिले लेख्नेहरूको संख्या बढेको छ । प्रश्नानुसार म बीचको पुस्ता हुँदा मैले लेख्नुभन्दा पहिलेका साहित्य स्तरीय लाग्दछ । जुन साहित्यमा गहिरो अभ्यास, अध्ययन, चिन्तन, दर्शन, विचार, साधनाको संयोजन पाइन्छ भने मैले यी सबै कुरालाई पच्छ्याउन सकेको छैन । अझ मभन्दा पछि जन्मिएकाहरूको त युगै फरक आइसक्यो । अहिले बेफुर्सदी छ मान्छे । फुर्सद भए पनि विश्व एकैचोटि जान्न बुझ्न चाहन्छ । त्यसैले साहित्यमा गहिरो चिन्तन विचार, साधना कम हुँदै गइरहेको छ भन्ने लाग्दछ ।
७) साहित्यको आडमा राजनीतिले कस्तो असर पारेको छ ?
खासै राजनीतिले साहित्यमा असर पार्ने होइन । बरू साहित्यले राजनीतिलाई चाहिँ असर पार्ने हो । यदि साहित्यमा दम छ भने । साहित्यको आडमा राजनीति गर्नु त राम्रो कुरा हो नि । हामीले महाभारतलाई आड, आधार बनाएर राजनीति गनुपर्छ भन्ने पनि बुझेका छौँ । तर सही तरिकाले प्रयोग गर्न नजानेको हो । साहित्य भनेकै मूल दस्ताबेज हो । जसले राजनीतिका नौ पाटाहरूलाई अँगालेको हुन्छ । शासन व्यवस्थामा नौ रस हुन्छन् । अझै साम, दाम दण्ड भेद हुन्छन् । आदि इत्यादि हुन्छन् । जो साहित्यबाटै प्रतिपादन भएका हुन् ।
८) निकै लामो समयदेखि यस क्षेत्रमा हुनुहुन्छ । १२ वटा जति महाकाव्य लेखिसक्नु भएको यहाँको अनुभवमा पाठकको प्रतिक्रिया प्रति संतुष्ट हुनुहुन्छ ?
सन्तुष्ट छु । जो प्राप्त छ त्यसैमा सन्तोष लिनु पर्दछ । नभएको कुरा खोजेर पाइने होइन त !
९) साहित्यमा कलम चलाइरहँदा कठिन कार्य के हो जस्तो लाग्छ ? र किन ?
मन हो, किनभने उसलाई नियन्त्रण गर्न सके अफूलाई वा कलमलाई जसरी पनि चल्न र चलाउन सकिन्छ ।
१०) नेपाली भाषा तथा साहित्यको विकासको पाटोमा राज्यले के चैँ गरिदियोस् जस्तो लाग्छ ?
दमदार साहित्य दिन सकियो भने सरकारले साहित्यिक क्षेत्रलाई उपेक्षा गर्नै सक्दैन । नेताहरूलाई नियन्त्रणमा लिनसक्ने क्षमता साहित्यकारमा हुनुपर्दछ । अहिले हामी साहित्यकारभन्दा सरकार वा राज्य व्यवस्थापकहरू नै साहित्यकार छन् । उनीहरूले आफ्नो हुँदो गरेकै छन्, राज्यले गरेको जे छ ठीकै मान्नु परेको छ ।
११) एक कुशल साहित्यकार बन्न कस्तो किसिमको सिर्जना गर्नुपर्छ ?
त्रिकालदर्शी सिर्जना हुनु पर्दछ ।
१२) समाज परिवर्तनमा साहित्यले कस्तो भूमिका खेलेको हुन्छ ? के जीवनको भोगाइ र लेखाइमा एकरुपता हुन्छ ?
समाज परिवर्तनका लागि साहित्यले मूख्य भूमिका नै खेलेको हुन्छ । दोस्रो प्रश्न छ नि, लगभग जीवन भोगाइकै पेरिफेरिमा हरेक सर्जकका सिर्जना हुने हो । जीवनले देखेभोगेका सांसारिक कुराहरू नै साहित्यमा आउने हो । जसमा हरेक विषयसँग नातो गाँसिन सक्दछ ।
१३) अन्त्यमा पाठक माझ पुग्नै पर्ने केही कुरा छन् ?
प्रायः साहित्यका बारे धेरै कुरा समेटिएका छन् । बाँकी कुरा गर्न थाले त्यसको त सीमा नै हुन्न । अहिलेलाई यति नै ।