सिराहाको लक्ष्मिपुरमा जन्मिएर हाल मस्कोमा जीवनयापन गर्दे रहनु भएकि डा. नाज सिंह सूर्यनाथ प्रसाद सिंह र बिल्टि सिंहका चार संतान मध्येकी सबैभन्दा कान्छी हुन् । दुई दाइ र एक दिदीकी बहिनी डा.सिंहले प्रविणता तहको अध्यन राराब क्याम्पस जनकपुरमा सम्पन्न गरेकी थिइन् । स्नातकतहको अध्ययन महेन्द्र मोरङ क्याम्पस बिराटनगर बसेर गर्दागर्दै पिपल्स फ्रन्डशिप युनिभर्सिटी मस्कोमा चिकित्सा बिषयक अध्ययनको लागि उनी जान पक्का भयो । पछि मस्को निस्कनु भएकि सिंह लामो समयदेखि प्रवासमा नै छन् ।
चिकित्सा बिषयको अध्ययन सम्पन्न भए पनि हाल पेशाले भने ब्यापार व्यावसाय गर्दै आएकी डा. सिंह बाल्यकालदेखि नै साहित्य र सृजनामै आकर्षित थिइन् । महाकवि लक्ष्मी प्रसाद देवकोटाको यात्री कविता पढेपछि भने कविता लेखनमा उनी लागेको बताइन् । २०५१ सालमा प्रकाशित ‘रित्तो संसार’ शिर्षकको कविता उनको पहिलो कविता हो । यो कविता रसियन भाषामा समेत अनुवादन गरेको उनि बताउछिन् । अत्यन्तै मिलनसार अनि गहकिला शब्दको लेखाईसंगै सुरिलो अनि चोटिलो प्रहारमा खप्पिस उनि हिन्दी, नेपाली मैथिली भाषामा समेत उतिकै कलम चलाउछिन् । साहित्यलाई माया गर्नपर्छ, कला अनि साहित्यलाई जहाँ भए पनि संरक्षण गर्नपर्छ भन्ने उच्च सोचकी धनि सिंहले तिर्खा नामक कविता संग्रह प्रकाशित गरिसकेकि छन् । सो कविता अन्य तिन भाषाका संग्रहित भएको उनको भनाइ छ । चर्चित साहित्यकार डां नाज सिंहसँग साहित्यकै सन्दर्भमा केन्द्रित रही मध्य नेपाल सन्देश पत्रिकाका लागि गीता भण्डारीले गरेको बिशेष कुराकानी :
साहित्यमा प्रवेश कहिले र कसरी गर्नु भयो ? यसको अलवा अन्य के गर्नुहुन्छ ?
साहित्यको क्षेत्रमा प्रवेश त धेरै पहिले नै गरिएको हो । जति बेला म स्कूलमा थिएँ कक्षा ७÷८ मा पढ्दा नै कविताहरु लेख्थे । तर ती सार्वजनिक नगरी कोपीमा राख्थे । मैले लेख्ने विषय वस्तु कुन बिधा अन्तर्गत पर्दछ भनेर विस्तारै लेख्दै जाँदा कक्षा ९ मा पढ्दा अलि बढि ज्ञान भयो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको यात्री कविता पढेपछि भने कविता विधाबाट सुरु भएको मेरो साहित्यिक यात्रा सुन्दर नेपाल, यात्री, रित्तो संसार र मैथिली कविता, दहेज आदि हुँदै अगाडी बढ्यो । २०५१ सालमा मेरो पहिलो प्रकाशित हुने कविता ‘रित्तो संसार’ जो नेपालको राष्ट्रिय पत्रिका सोपानमा प्रकाशित गरिएको थियो । रित्तो संसारलाई पछि रसियन भाषामा पनि अनुवाद गरिएको थियो । यि कविताहरूलाई कविता संग्रह तिर्खामा समावेश गरिएको छ ।
आधुनिक नारीहरूले त झन किचेनदेखि अफिससम्म सबै कार्यहरू गर्नुपर्ने हुन्छ । मैंले मेरो सजिलोको लागि आफ्ना कामहरूलाई तिन वटा प्रोजेक्टको रुपमा डिभाइड गरेकी छु । मेरो घर, मेरो अफिस र मेरो साहित्य यिनैं एरियाका कामहरुलाई आवश्यकता अनुसार प्राथमिकता दिएर काम गरिरहेकी हुन्छु । यसको अलावा किताब पढ्नु र ट्राभल गर्नु मेरो हवि हो।
साहित्यलाई कसरी बुझ्नु भएको छ ? यहाँको बुझाइमा साहित्य के हो ?
झट्ट भन्नुपर्दा साहित्य मेरो लागि खुशीको भंडार हो । किनभने जति भौतिक सुखले मलाई खुशी दिन्छ त्योभन्दा बढि खुशी मेरो कविताले दिइरहेको हुन्छ । मैले साहित्यलाई मार्गदर्शनको रुपमा बुझेकी छु । मानिस भौतिक रुपमा धन सम्पत्तिले मात्र होइन बौद्धिक सम्पदाले पनि धनी भएको हुन्छ । भौतिक रूपमा धनी भएका केही मात्र लेखकहरु रोलिंग, स्टेफेन किंग, जेम्स पेर्टरसन, रविन्द्र नाथ टैगोर, चेतन भगत इत्यादि हुन् । बौद्धिक सम्पदाले धनी हुने लेखकहरू अलेक्सान्दर पुश्किन, ल्यो टोल्सटोई, आन्तोन चेखब, विल्यम शेक्सपियर, ओ, हेनरी, मुंशी प्रेमचंद इत्यादि हुन् । साहित्यले समाजमा निकै अहम भूमिका निर्वाह गरिरहेको हुन्छ । साहित्य बिनाको देश, समाज वा मानिसको जीवन निरस हुन्छ ।
यहाँको रोजाइको विधा कुन हो र किन ?
मेरो साहित्यको बिधा कविता हो । तर मैले साहित्यको विधालाई रोजेको होइन । मैले मेरा मनका कुराहरुलाई लेख्दै जाँदा मेरा शब्दहरु मिलेर कविता बनेका हुन् । हुन सक्छ म कम लेख्छु वा छोटो लेख्छु त्यसकारणले कविता बन्न गएको हो वा अन्य कुनै कारणले भएको हो । मेरो प्रकाशित कृति कविता संग्रह तिर्खा जसमा नेपाली, मैथिली र हिन्दी तिन भाषाका लगभग ६० वटा कविताहरू समावेश गरिएका छन् । एउटा शुभ समाचार यहिँबाट साझा गर्न चाहान्छु । यसै संग्रहमा भएको मैथिली कविता ‘सिया’ लाई नेपालको माध्यमिक शिक्षा कक्षा १२ को ऐच्छिक बिषय मैथिली को पाठ्यक्रममा समावेश गरिएको छ । म यसका लागि निर्णायक समिति शिक्षा बिभाग नेपाललाई हार्दिक आभार पनि व्यक्त गर्दछु ।
मधेसमा नारी हस्ताक्षरको अभाव कत्ति छ साहित्य छेत्रमा ?
हाम्रो समाजको हरेक क्षेत्रमा महिला र पुरुष बिच अहिले पनि कतिको असमानता छ ? यस्ता प्रश्नहरु उठेको बेला मलाई जहिले पनि संसारकै पहिलो फेमिनिष्ट सुमोन द बुवाको त्यो हरफले तान्छ । नारी जन्मिदैन उसलाई बनाइन्छ । हो यो सही कुरा हो । हाम्रो समाजमा नारीलाई बनाइन्छ, उसको नाम, उस्को स्वरूप, उसले बोल्ने, हिंड्ने सोच्ने सबथोक एउटा निश्चित सिमानामा अवस्थित रहेको छ । त्यसैले कुनै पनि क्षेत्रमा नारी र पुरुष एक समान उभिनु असम्भव रहेको छ ।
साहित्यको छेत्रमा नारीहरुको निकै अभाव महसुस भएको छ । हुन त आजकल पहिलेको अपेक्षा नारी लेखकहरुको संख्या बढ्दै गइरहेको छ । तर कुनै सिमित ठाउँहरुमा मात्र हो । म मधेसकी छोरी भएको कारण मलाई थाहा छ मधेसमा अहिले पनि नारी लेखकहरुको संख्या नहुनु । कारणहरू अशिक्षित, असमानता, असुरक्षित र अस्वतन्त्रता इत्यादि हुन् । मधेसमा नारी हस्ताक्षरको अति नै अभाव देखिएको छ । यदि पुरै समाजलाई समेटेर हे¥र्यो भने जहाँ शिक्षित नारी लेखकहरु छन् । त्यहाँ पनि लेख्ने स्वतन्त्रता छैन । जसले लेख्छ उसले समाजमा विभेदित दृष्टिकोणको शिकार हुनुपरेको छ ।
पछिल्लो समय साहित्य लेखन प्रति युवाहरुको चासो बढेकोछ । यसलाई कसरी लिनु हुन्छ ? साहित्यमा महिला सक्रियता कस्तो हुनुपर्छ ?
यो सही कुरा हो कि पछिल्लो समयमा साहित्य लेखन प्रति युवाहरुको चासो बढेको छ । देशको साक्षरता दिन बदिन बढ्दै गइरहेको छ, मेडियाका विभिन्न रिसोर्सेजहरु छन् । जस्तै टिभीका विभिन्न च्यानलहरुबाट, इन्टरनेटका अनेकौं माध्यमहरूबाट प्रसस्तै जानकारीहरू प्राप्त भैरहेका छन्न् । मानिसहरूको लाइफस्टाइलको स्तर बढ्न थालेको छ, यूवाहरु वैदेशिक रोजगारमा संलग्न हुन विदेशिन थालेका छन् । जब देशबाट, घर परिवारबाट, बाहिरी वातावरणमा बसिन्छ, नयाँ हावापानी र नयाँ नयाँ अनुभवहरूलाई अनुभुत गरिन्छ, नेपालमा नदेखेका कुराहरु बाहिर देशहरूमा देखिन्छ तब आफ्नो देशको मायाँ, आमाको मायाँ, प्रेमिकाको मायाँ र नयाँ नयाँ अनुभवहरूलाई कतै पोख्न मन लाग्छ, शेयर गर्न मन लाग्छ जब यि कुराहरु कागज मार्फत शेयर गरिन्छ वा पोखिन्छ अनि त्यही सम्वेदनशील अभिव्यक्तिहरू साहित्य हुन पुग्छन् । साहित्यमा यूवाहरुको चासो बढ्नुको अर्को एउटा कारण प्रसस्त समय हुनु पनि हो ।
साहित्य क्षेत्रमा महिला सक्रियता यतिको हुनुपर्छ भन्ने त छैन । तर हुन चाहिँ अति जरूरी छ । पहिलो पाठशाला घर हो भने पहिलो गुरु आमा हो । यस भनाइलाई पनि पुष्टि गर्दछ । यो प्रश्नको उत्तरले । प्रत्येक व्यक्तिले विकास चाहन्छ । त्यो विकास सर्वप्रथम त आफूबाट नै सुरु गर्नु पर्ने हुन्छ । त्यसपछि परिवार अनि समाज, यसै विकास र उत्थानका लागि महिलाहरुको पनि सक्रियता साहित्यमा हुनुपर्छ । किनभने जसरी एउटा परिवारलाई शिक्षित, सुसंस्कृत बनाउन र सजाउन एउटी आमा, श्रीमती वा छोरी आवश्यक हुन्छ त्यस्तै गरी साहित्यमा पनि महिलाको सक्रियता आवश्यक हुन्छ । नारी बढी सम्वेदनशील, भएको कारण साहित्यको कुनै पनि पाटोलाई भावनात्मक रुपले दर्शाउन सक्षम हुन सक्छ ।
आजको एकाइसौं सताब्दीमा आइपुग्दा पनि जताततै चेली बेटी हरूको बलात्कार भैरहेको छ, हत्या भैरहेको छ र महिलाहरू आफ्नै घर परिवारमा, समाजमा सुरक्षित छैनन् । यि कुराहरु एकदमै लाजलाग्दो कुरा हो ।
आफ्नो जन्मभूमिभन्दा पर बसेर पनि नेपाली भाषा तथा साहित्यको जगेर्ना गरिरहनु भएको छ । अन्य राष्ट्रमा बसेर साहित्यमा कलम चलाउन कत्तिको सहज छ ?
‘सकिन्न कहिलै बिर्सन जन्म दिने आमा र जन्मभूमि
गाउँ गाउँ र शहरहरु भए थकित संसार घुमी’
मेरो कविता संग्रह तिर्खाको जन्मभूमि कविताबाट लिएको यो हरफले मातृभूमिको याद दिलाउँछ । जब म मस्कोको नदीको क्रूजमा घुम्छु मलाई कमला र कोशीको याद आउँछ, म जब मस्कोको मेट्रो र रेलमा चढ्छु मेरो मन दुखेर आउँछ मेरो देशमा किन मेट्रो र रेल छैन भनेर । जब म पदमस्कोको दाचा फार्म हाउस घुम्न जान्छु र रुखमा चढेर स्याउ टिपेर खान्छु मलाई मेरो लक्ष्मीपुरको अम्बाको रुख याद आउँछ, । रुखमा चढेर दिदी दादासंगै अम्बा टिपेर, र जामुनको हांगाबाट जामुन झारेर खाएको याद आउँछ, । मस्कोमा हिमपात भएको देख्दा गाउँमा नांगै खुट्टा भिज्दै कर्कलाको पातको छाता ओढ्दै नुहाउदै गरेको याद आउँछ, मस्कोको हिऊंदमा स्किंईग गरिरहेको बेला लाहन स्कूलको चौरमा कबड्डी खेलेको याद आउँछ । छोटकरीमा भन्ने हो भने तन मात्र परदेशमा हुन्छ मन त आफ्नै घर देशमा रूमलिएको हुन्छ । त्यसैले जब हरेक पल आफ्नै जन्मभूमिको सम्झनामा बित्ने गर्छ ।
साहित्यमा कलम चलाइरहदा कठिन कार्य के हो जस्तो लाग्छ ?
साहित्य समाजका लागि ऐना मात्र नभई वास्तविक चित्रण गर्नु पनि हो । समाजलाई गतिशिल राख्न साहित्यकारले अहम भूमिका खेलिरहेको हुन्छ । साहित्यमा कलम चलाउँदा कलमकारहरूले ठुलठुला कठिनाइहरुलाई छिचोल्दै आफ्नो लेखनलाई गतिशीलता दिनुपरिरहेको हुन्छ । हरेक पाइलामा भिन्न कठिनाइहरु भेटिन्छन् । लेख्दा एउटा कठिनाई भएको हुन्छ भने लेखिसके पछि अर्कै कठिनाइहरुको सामना गर्नु परिरहेको हुन्छ ।
एक कुशल साहित्यकार बन्न कस्तो किसिमको सिर्जना गर्नुपर्छ ?
इमानदारी नै मुल सुत्र हो । यो सुत्र साहित्य लेखनमा पनि लागु हुन्छ । तसर्थ एक कुशल शाहित्यकार बन्नका लागि आफ्नो हृदयको इमानदार आवाजलाई कलात्मक रूप दिएको सिर्जना गर्न सक्नुपर्छ ।
समाज परिवर्तनमा साहित्यले कस्तो भूमिका खेलेको हुन्छ ? के जीवनको भोगाइ र लेखाइमा एकरुपता हुन्छ ?
समाज परिवर्तनमा साहित्यले एउटा जिम्मेवार भुमिका खेलेको हुन्छ । जहाँ शिक्षा छ त्यहीँ साहित्य हुन्छ, जहाँ साहित्य छ त्यहीँ शिक्षा हुन्छ, साहित्यले समाजलाई शिक्षित र सभ्य बनाउँछ । समाजको बौद्धिक विकासमा बृद्धि गराउँछ, संवेदनशील भावहरूलाई संतुलित गर्न सिकाउँछ र कम समयमा बढी अनुभव गराउँछ, । जीवनको भोगाइ र लेखाईमा एकरूपता हुन पनि सक्छ र नहुन पनि सक्छ । वास्तवमा भन्ने हो भने जीवनमा भोगेकै कुराहरुलाई विषयवस्तु बनाएर साहित्यमा उतार्ने हो । यस अवस्थामा भोगाइ र लेखाईमा एकरूपता हुन्छ । तर जब साहित्यले काल्पनिक रूप लिन्छ त्यतिबेला भोगाइ र लेखाइमा एकरूपता नहुन सक्छ ।
महिला जो साहित्यको बाटोमा पाइला टेक्दैछन् उनीहरुको लागि के भन्न चाहनु हुन्छ ?
म आफैं एक नारी भएको कारण अरु नारीहरुको जीवनलाई नजिकैबाट बुझ्न सक्छु । साहित्यको बाटोमा पाइला टेक्ने महिलाहरुलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु । अझ प्रोत्साहित गर्न चाहान्छु । आफूमा भएको विश्वासलाई जहिले पनि जिवित राखेर इमान्दारी र लगनशीलताका साथ आफ्नो लक्ष्यको बाटोमा मेहेनतका पाइलाहरुलाई गतिशील राख्नु, सफलता आफै आउने छन् ।
आफ्ना सृजना उत्तिकै प्रिय हुन फेरि पनि के भन्नु हुन्छ ?
वास्तवमा आफ्ना सृजनाहरु अति प्रिय हुन भावनात्मक भावहरूको निवेश गरिएको हुन्छ । चाहे त्यो व्यक्ति होस् वा ठाउँ । साहित्य, मनले रोजेको र मनले सृजना गरेको सबै प्रिय लाग्छ ।
१२ अन्त्यमा पाठक माझ यो कुरा चाही पुगोस् भन्ने केही भन्न चाहनु हुन्छ ?
महिला दिदी बहिनीहरुलाई म एउटा सानो संदेश दिन चाहन्छु । हामी एकाइसौं शताब्दीमा आइपुगेका छौं । संसार निकै तिब्र गतिमा शिक्षित र विकसित हूँदै गरिरहेको छ । हामी अब जागरुक हुनु अति आवश्यक छ । हिंसा सहेर बस्नु हूँदैन । हिंसा गर्ने व्यक्ति र हिंसा सहने व्यक्ति बराबरको हिंस्रक हो । पीडित महिला दिदी बहिनीहरु हिंसात्मक कार्यको विरुद्धमा आवाज उठाउनुपर्छ । प्रतिकार गर्नुपर्छ तर पुरुषलाई मात्र कति दोष दिराख्ने संधै । सर्वप्रथम आफैले आफैलाई विश्वास गर्न सिकौं र आत्मनिर्भर बनौं । म यही संदेश दिन चाहन्छु ।