बैदेशिक रोजगारीका लागि दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिकाका थप ४ जना युवाहरुलाई उद्धार पश्चात घर फर्काइएका छन् । बहुदरमाई नगरपालिकाका नगर प्रमुख नितेन्द्र साहको पहलमा थप ४ जना युवाहरुलाई २४ दिनपछि उद्धार गरी शुक्रबार घर फर्काईएको हो ।
घर फर्किएका चारै जनालाई स्थानीयले आज एक कार्यक्रमका बिच भव्य स्वागत गरि परिवाजनको जिम्मा लगाएको छ । घुमघाम गर्न दुबई गएका बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहले दुबईमा अलपत्र परेका ७ जनालाई यसअघि नै उद्धार गरी घर फर्काई सकेका छन् । सर्लाहीको भरहथवाका एजेन्ट सुरेन्द्र यादवले होटलमा काम लगाई दिने भन्दै असोज अन्तिम महिनामा २ लाखको दरले ४ जनासंग रु ८ लाख रुपैयाँ असुली टुरिष्ट भिसामा दुबई पठाएका थिए । झुक्याएर पठाइएका बहुदरमाई नगरपालिका–६ का ४ जनालाई मेयर नितेन्द्र साहले उद्धार गरी घर फर्काएका हुन । घर पर्किनेमा सोही वडाका संजय हजरा, बिजय हजरा, भोला हजरा र बिजय हजरा रहेका छन् ।
‘‘एजेन्ट यादवले होटलमा दैनिक ८ घण्टा काम गर्ने शर्तमा दुबई पठाएका थिए । दुबई पुगेका यी ४ जना युवाहरुलाई एजेन्टले भनेका अनुसार चकलेट प्याकिङ्ग र होटलको काम नदिई बन्धक बनाएर गाडी र शौचालय सफाई गराउन थालेकाले आफुहरु ठगिएको भन्दै मेयरलाई घर फर्काइदिन आग्रह गरेका थिए ।
आफूहरुले सफाईको काम गर्न नमान्दा त्यहाँको एक जना बंगाली ठेकेदारले कुटपिट समेत गर्ने गरेको उनिहरुको आरोप छ ।‘‘रातीको खाना पकाएर खादाँ करिब १ बजे सुत्थ्यो, फेरी बिहान ४ बजे नै उठाएर काममा जान तयारी हुने दबाब दिईन्थ्यो । भनेकोभन्दा फरक काममा लगाएको कुरा एजेन्ट सुरेन्द्र यादवलाई भन्दा मेरो पठाउने काम थियो, मैले पठाई सके भन्दै जवाफ फकाउर्ने गरेको संजय हजराले बताए ।
होटल भनेर शौचालय सफाईमा काम लगाएकाले ति युवाहरु एकदिन रोड मै समेत सुतेर रात बिताएको हजराले दुःखेसो पोखे । ऋण लिएर बैदेशिक रोजगारमा गएको हुनाले धेरै दुःख कष्ट सहेर पनि लज्जित भई घरपरिवारमा नभनेर काम गर्दै आएका थिए । एजेन्ट यादवले पैसा लिईसकेपछि चकलेट कम्पनीमा नगई होटलको काममा पठाईने बताएको उद्धार गरिएका गम्हरीयाकै अर्काे स्थानीय बिजय हजराले बताए । दैनिक ८ घण्टाको १२ सय र ओटीको ३ सय (दुबईको रुपैयाका) दरले महिना पाउँने भनेर प्लेनमा बसाई सकेपछि मात्रै आफूहरुलाई भिजिट भिषा पठाईएको थाहा पाएको हजराले बताए ।
दुबई पुगी सकेपछि एकजना बंगलीले रिसिभ गरी ५ दिनसम्म आफ्नै कोठामा राखेका थिए । त्यसपछि अरु एजेन्ट कहाँ लगे । त्यहाँ जाँदा एउटा कम्पनीमा हाम्रो पासपोर्ट राखियो । सुरुमा २ जनालाई ४० तल्ले घरमा बेल्डिङ्ग क्लिनरको काममा लगाईयो,’ बिजय हजराले भने,‘ बाँकीको २ जनालाई कार बासिङ्गमा लगाईयो । आफूहरुले यो काम गर्न नसक्ने बताउँदै बंगालीलाई हारगुहार गरेपनि काम गर्नु छ भने गर नत्र मर भन्दै हामीलाई बिच्चलीमा राखेको थियो ।’’
आफूहरुले घरबाटै लगेको ४ हजार रुपैयाले खाएर बसेका थिए । पछि पैसा सक्दिा पैसा नपाएर २ दिनसम्म भोकै बस्नु परेको उनिहरुको दुखेसो छ । खाना खान पैसा मागेपछि करिब १२ बजे रातीमा बंगालीले खाना खान दिएको पैसा बापत एउटा कागजमा हस्ताक्षर गराएको उनिहरुले बताए । पछि हामीले उक्त सफाईको काम गर्न नमान्दा तिमीहरुको भिसा लागिसकेको र तिमीहरुले कागज पनि गरेको बताउँदै धमकाउन थालेको बताए । भिसा लागिसकेको भनेर फेरी हामीसंग बगालीले २०/२० हजार रुपैया माग्न थालेको हजराले बताए । यसरी विभिन्न धाक धम्की दिदँै आफूहरुले गर्नै नसक्ने काम गराएर खाना खान समेत पैसा नदिएको उनीहरुले दुःखेसो पोखे ।
दुबई भ्रमणमा गएका मेयर साहको सम्पर्कमा आएर उनीहरुले आफ्नो समस्याबारे जानकारी गराएपछि साहकै प्रयासमा उनीहरु नेपाल फर्केका हुन् । गाईपालन, बाख्रापालन जस्ता विभिन्न कृषि कर्म गरेर विदेशमा कमाउने पैसा आफ्नै गाउँठाउँमा कमाउन सकिने हुँदा युवाहरुलाई कृषि कार्यतर्फ लाग्न मेयर साहले जोड दिए । विभिन्न किसिमका तरकारी बाली लगायत अन्य पेशा गर्न चाहने युवाहरुलाई आवश्यक सहयोग गर्ने नगरपालिका तयार रहेको बताउँदै स्वदेशमै काम गरी आत्मनिर्भर हुन मेयर साहले आग्रह गरे ।
स्वागत कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्र नं. २ का क्षेत्रिय अध्यक्ष गम्भिरा साह तेली, वडाध्यक्ष केदारनाथ तिवारी, वडा नं. २ का वडाध्यक्ष जितेन्द्र पटेल, बहुदरमाई नपाका लेखापाल हरि प्रसाद कुर्मी, स्थानीय वासी लगायतको उपस्थिति रहेको थियो ।