वीरगंज महानगरपालिका वडा नं.१२ की ५५ वर्षीया भागमनी देवी महत्तो विगत ३ दशक देखि छठ गर्दै आएकी छिन् । माटोको चुह्लो बनाउँदै गरेकी उनलाई छठको तयारीमा भ्याइ नभ्याइ छ ।घरको छतको एक कुनामा गहुँको बिस्कुन सुकाइएको छ भने अर्को कुनामा आँप लगायतका दाउरा राखिएको छ । भगवान प्रतिको आस्था र कारण खुलस्त पार्दै उनले भनिन “छठमा सबै कुरा शुद्ध हुनुपर्ने मान्यता भएकोले छठका लागि बनाइने परिकारहरुका लागि नयाँ माटोको चुह्लो, आँपका दाउरा, आवश्यक पर्छ । गहुँकै पिठोको परिकार छठी मातालाई चढ्ने भएकाले गहुँको पिठोबाट बनाइएका ठेकुवा, पुरी लगायतका पकवानहरु बनाइन्छ । मेरो छोरा सानै हुँदा उसको स्वास्थ्य लाभको लागि छठी माता संग मेरी आमाले भाकल गरिदिनु भएको थियो त्यही समय देखि आज सम्म छठीमैयाको वर्त बस्दै छु ।
”विशेष गरी तराई क्षेत्रमा मधेशी समुदायमा मनाइने छठ पर्व अहिले पहाडी समुदायले पनि मनाउन थालेका छन् । वीरगंज महानगरपालिका १३ तेजारथ टोल निवासी मुनु भण्डारीले पनि विगत ११ वर्ष देखि छठको ब्रत बस्दै आएकी थिइन । आफू यहि ठाउँको बसिन्दा भएकाले छठ पूजा गरेको देख्दा आफूलाई पनि छठ गर्ने चाहाना भएकाले आफूले पनि छठ गरेको बताउँछिन । उनि भन्छिन ः “धर्म प्रतिको आस्था बुझे । निकै कठोर हुन्छ ब्रत विधि ३६ घन्टे निर्जला उपवास सुरु हुन्छ । भागदौडमा हुँदा पनि शरिरमा त्यो उर्जा हुँदा मातामा शक्ति छ भन्ने विश्वास हुन्थ्यो ।” छठीमाता कै कृपाले आज सबैकुरा राम्रो छ । यत्रो कोरोनाको समयमा पनि छोराहरु बाहिर थिए । कोरोनाको हटस्पट बनेको ठाउँमा रहदा पनि उनीहरुलाई केही भएन । यो पर्वले भगवान् प्रतिको आस्था संगसंगै आफूलाई अनुशासनमा रहन सिकाउँछ ।
वास्तवमा यो त कुनै जात जातिमा सिमीत नभएर जसले पनि गर्न मिल्ने पर्व रहेछ भन्ने महसुस भयो । त्यसपछि अरुले गरेको हेरे, ब्रत विधिबारे सोधे र आफै बस्न लागे । आस्थाको कुरा रहेछ । तयारीदेखि समापनसम्म छठले सबै समुदाय र जातजातिलाई एउटै आचरण र व्यवहारमा सूत्रबद्ध गरेको हुन्छ । तिहारलगत्तै छठ पूजाको उत्सव धुमधामसाथ सुरु हुन्छ । कात्तिक शुक्ल पक्षको चौथी तिथिमा छठ पूजाको व्रत आरम्भ हुन्छ ।
पहिलो दिन विधिपूर्वक नुहाएर खाने चलन छ, जसलाई भोजपुरी भाषामा ‘नहाए–खाएके दिन’ भनिन्छ । यसपटक सोमबार यो विधि पूरा गर्दै व्रतालुले छठ पर्व सुरु गरेका छन् । यस दिन व्रतालुले नुहाएर पवित्र भई शुद्ध सात्विक भोजन गर्छन् । मंगलबार ‘रसियाब रोटी’ खाएर ३६ घन्टे निर्जला उपवास सुरु हुन्छ । बुधबार जलाशय किनारमा सामूहिक पूजापछि अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाइने छठ बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुन्छ ।२०६३ साल देखी मैले छठको ब्रत बस्न सुरु गरेकी हु,। आमालाई लामो समय देखी रोग लागेपछि सन्चो होस् भनी भाकल गरेर छठ व्रत बस्न सुरु गरेकी थिए ।
७ बर्ष सम्म रोगले थलिएको मेरो आमालाई के भएको हो भनरे डाक्टरले पत्ता लगाउन सकेको थिएन। मैलै ब्रत सुरु गरे पछि रोग पनि पता लाग्यो अप्रेशन पनि भयो स्वस्थ हुनुभयो, अहिले आमा हस्ट पुस्ट हुनुहुन्छ हाल सम्म पनि आमाले छठ गर्नको लागी आफुले सकेको सहयोग गदै आउनु भएको छ। हाम्रो परिवारमा छठ पर्बको बिश्वास र आस्थाले खुसीले भरिएको छ ।
मैले व्रतलाई निरन्तरता दिएँ, गर्दै जाँदा अब के विश्वास लागेको छ भने यो पर्व धार्मिक आस्था र विश्वासमा मात्र सीमित छैन, यसको सामाजिक र वैज्ञानिक पाटो सबभन्दा महत्ववपूर्ण छ,’ सिमरा निवासी लक्ष्मी खरेलले भनिन्, ‘अरु बेला खासै प्रयोगमा नल्याइने वनस्पति र सामग्रीलाई यस बेला महत्व दिई खोजेर ल्याइन्छ ।
मानिसबीच पनि गजबको सद्भाव देखिन्छ, को तल्लो को माथिल्लो भन्ने पनि रहँदैन । यसैले पनि म छठबाट प्रभावित भएकी हुँ ।’छठ विशुद्धरुपमा प्रकृति र पुरुषको पूजा हो । सन्तान उत्पादनका लागि दैवी कृपाको अपेक्षा यस व्रतसँग जोडिएको छ ।
परवानीपुर ५ बहुअरीकी लालमति देवी साहले पनि विगत लामो समय देखि छठको ब्रत गर्दै आएकी छिन् । चार दिन सम्म मनाइने यस पर्व हरेक दिनको आआफ्नै महत्व रहेको बताउँछिन उनी । उनी भन्छिन् सूर्य र उनको देवी रूप उषालाई छठी मैयाँको रूपमा षष्ठी तिथिमा मुख्य पूजा गरिने हुनाले यो पर्वको नाम छठ पर्न गएको हो ।
आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्व अन्तर्गत व्रतालुले कुण्ड, पोखरी र तलाउमा उभीएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिई पूजापाठ गर्ने गछन् ।
यस पर्वमा बाँसको सामग्रीमा अघ्र्य दिएपछि वंशवृद्धि, केरामा भगवान् विष्णुको वास, ठेकुवामा समृद्धि र मौसमी फल प्रकृतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ ।
“पहिलो दिन शुद्ध भएर सादा खाना खाइने र खानामा सकभर लौकालाई विशेष प्राथमिक्तामा राखिने गरिन्छ । तिन दिनसम्म नुनिलो खान नहुने र भोकै रहनु पर्ने हुदा पोषिलो हुने हुँनाले लौका राखिएको हो ।
यस दिन ठेकुवाका लागि गहुँ धोएर सुकाउने किनमेल गर्ने, पुराना छैठी, नाङ्गलो, धोइपखाली राख्ने काम गरिन्छ । छठको दोस्रो दिनलाई रसीयावरोटी भनिन्छ । यस दिन अघिल्लो दिन धोइपखाली राखीएका गँहुलाई पिस्न लगाइन्छ ।
फलफूल किनेर ल्याउने लगायतको कबाम गरिन्छ र बेलुका नयाँ चुह्लोमा बनाइएको खिर, पुरी, चामलको रोटी लगायका चोखो परिकार बनाए खाइन्छ ।” यो चारै दिन आँपको दतिवनले दाँत धुने गरिन्छ (शुद्ध हुने मान्यता)।
त्यस्तै तेस्रो दिन एकाबिहानै पिठोको पुरी, ठेकुवा लगायतका विभिन्न परिकारहरु बनाइन्छन् । हाम्रा बारीमा फलेका कन्दमूल फलफूल, अदुवा, मूला लगायतका सबै सामानलाई मिलाइ छैठी सुपली मा राखिन्छ ।
भाकल भएकाहरुले कोशी भर्ने चलन छ । त्यसका लागि उखु, केरा, माटोका हात्ती लगायतका सामाग्री अनिवार्य आवश्यक पर्ने बताउँछिन उनी । बेलुका अस्ताउदो सूर्यलाई अर्घ दिने र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिइसकेर बनाएका प्रसाद खाएपनि वर्व फुका हुन्छ । उनका अनुशार चारैदिन गित पनि गाइन्छ ।
‘जातीय, सामाजिक र सामुदायिक सद्भावमा छठको विशेष भूमिका पाइन्छ । छठको सबभन्दा महवपूर्ण पक्ष, यसले सबैलाई समाहित गर्छ, सदाचारले आपसी मेलमिलापयुक्त वातावरण बनाउँछ र समाज यस अवसरमा जातीय विभेदरहित हुन्छ,’ ठाकुरराम बहुमुखी क्याम्पसका उपप्राध्यापक एवं संस्कृतिविद् डा. विश्वम्भर शर्माले भने, ‘जातीय भेदभाव, छुवाछूत, उचनिचको भावना छठमा सकिएर जान्छ ।’
कुलीन भनिएको परिवारका बुहारीले छठको आशीर्वादस्वरुप प्रसादका निम्ति थापेको आँचलमा कुनै दलितको अर्घको ठेकुवा आए पनि सहर्ष स्विकार्ने उनले बताए । छठमा प्रायः महिलाले व्रत बस्छन् भने पुरुषले उनीहरूको पूजा सामग्री भएको ढक्की (दउरा) टाउकोमा बोकेर घरबाट छठघाट र घाटबाट घरसम्म लाने ल्याउने गर्छन् । छठको अवसरमा समाजको पुरुषप्रधान चरित्र पनि स्थगित रहने शर्माको बुझाइ छ ।
शुद्धता, सद्भाव र आस्थाको पर्व छठ श्रद्धा एवं हर्षोल्लास पूर्वक मनाइन्छ । विभिन्न जलाशय र नदी क्षेत्रमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै श्रद्धालुहरुले छठ पर्व मनाउने गर्दछन । श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास पाइन्छ ।
इतिहास
सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसँग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।
छठको चार दिनः
नहाए खाएः छठको पहिलो दिन–कार्तिक शुक्ल चतुदर्शी
कार्तिक शुक्ल चर्तुदशीका दिन देखि छठ आरम्भ हुन्छ । दशैं र तिहार लगतै शुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ । छठको शुरुवात मानिने यस दिनलाई ब्रतालुहरू नहाए खाए भन्दछन् । बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाई–धुवाई गरी सफा कपडा लगाएर पूजा गरी रहरको दाल, लौकाको तरकारी लगायतमा शुद्ध भोजन गर्दछन् । भनिन्छ यस दिनमा ब्रतालुहरूले प्रण गर्दछन– ‘म अव जथाभावी खाँदिन र तन मनले प्रभुको शरणमा बस्नेछु ।’
खरनाः छठको दोस्रो दिन–कार्तिक शुक्ल पञ्चमी
विधिवत रूपमा शुरु भएको छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख ब्रतालुहरूले सखरको खीर जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिनमा एक छाक मात्र भोजन गर्नुको कारण भने छठको दिन अर्थात अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिई निराहार ब्रतको पूर्वाभ्यास हो ।
छठः छठको तेस्रो दिन–कार्तिक शुक्ल षष्ठी
छठको तेस्रो दिन अर्थात छठ पर्व । यस दिनमा ब्रतालुहरू पानीसमेत नपिई निराहार वर्त बस्दछन् । साँझपख नजीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् । प्रातःकालीन अर्घका लागि केही ब्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । यस दिनमा रातभर भजन किर्तन र नाचगान हुने गर्दछ । घाटलाई दुलही झै सिंगारिएको हुन्छ ।
पारणः छठको चौथो दिन–कार्तिक शुक्ल सप्तमी
रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । विहानीमा सूर्यको न्यानो किरणसँगै ब्रतालुहरूले अञ्जुलीमा पानी भरि जल चढाउँछन् र पालैपालो ठेकुवा, फलफुल र मिठाईजस्ता प्रसादहरू अर्पण गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी ब्रत खोल्दछन् ।यसैबीच वीरगंजका घडिअर्वा पोखरी, मुर्ली पोखरी, नगवा पोखरी, सिर्सिया नदी लगायतका पोखरी, तथा नदीमा यो पर्व हर्षोल्लासका साथ मनाउने गरिन्छ । अझ यो कोरोनाले गर्दा पछिल्लो समयमा आफ्न्रै टोल छिमेक तथा घरमा कृतिम पोखरी निमार्ण गरि छठपर्व मनाउने चलन पनि देखिन्छ ।
छठ पर्वको वैज्ञानिक महत्व
सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकको रुपमा यो पर्व मनाइन्छ । यस पर्वमा धनी, गरीब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ । यस पर्वको अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पुर्याउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप दृष्टिगोचर हुन्छ ।समाजमा उदाउँदो वा प्रतिष्ठीत व्यक्तीलाई सबैले ढोग्छन् सम्मान गर्छन् तर डुब्न लागेको घाम गरीब तथा बेसहारालाई कसैले हेर्दैनन् तर यस पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिन्छ । सूर्यले सबै प्राणीहरूलाई समानरूपमा प्रकाश दिए जस्तै सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा गरिन्छ ।
छठपूजामा शाकाहारी र अहिंसा भाव र शुद्धतालाई निकै महत्व दिईन्छ । ब्रतालुहरु यस पर्वमा प्याज, लसुन, माछा मासु खादैंनन् । छठको सुरुदेखि अन्त्यसम्म सबै विधिविधानहरु गीतबाटै बुझ्न सकिन्छ । छठ पर्व आउन २० दिन अघिदेखि नै छठको गीत संगीत घरघरमा गुञ्जिन्छ । जसले छठ आएको भान हुन्छ । गीतले ‘छठ आउँदैछ, तयारीमा जुट’ पनि भन्छन् ।
छठ पर्वले कृषि उत्पादनको महत्वलाई स्वीकार गरेको छ । जीवन र प्रकृति एकअर्काका पूरक हुन । प्राकृतिक सम्पदाका संरक्षण गर्नु जीवनको सम्पन्नताको साँचो हो भन्ने तथ्य यो पर्वमा सधैं प्रयोग गरिनेभन्दा फरक उत्पादन चढाउनुले पुष्टि गर्छ । गवडी धान (साठी) सुथनी, अदुवा, बोडी, उखु, नरिवल, सखर(मिठ्ठा), कागती, केराको घरी, उखु, गहुँ आदिको प्रयोगले किसानको श्रमको कदर गरेको छ ।