वीरगंज । पर्साको ठोरी गाउँपालिकाको विभिन्न स्थानमा अबैध रुपमा लगाईएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । पर्सामा फेरि गाजा खेती फस्टाएको जानकारी भएपछि प्रहरीले गाजा खेती नष्ट गर्ने अभियानलाई तीब्रता दिदै शनिबार ठोरी गाउँपालिकामा लगाईएको गाँजा खेती नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सुर्ती खेती गरिएको खेतमा रोपिएका गाजा फाँडेर नष्ट गरेको हो । ठोरी गाँपालिका वडा नम्बर ३ र ४ स्थित ८ बिघा क्षेत्रफलमा लगाइएको गाजा खेती नष्ट गरिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । यस अघि शनिबार(हिजो) पनि सो क्षेत्रको करिब ११ विग्हा जग्गामा लगाईएको गाँजा खेती नष्ट गरिएको एसपी पाण्डेले बताए । पर्सामा फेरि गाजा खेती गर्न थालिएको सूचना प्राप्त भएपछि प्रहरीले जिल्लाभर नै अभियान थालेर गाजा खेती नष्ट गर्न थालेको प्रहरी उपरीक्षक पाण्डेले बताए ।
प्रहरीले पर्सालाई गाजा खेतीमुक्त जिल्ला बनाउन गाजा खेती फाड्ने अभियान थालेको भएपनि स्थानीय पालिका जनप्रतिनिधिले भने प्रहरीलाई सहयोग नगरि दिँदा प्रहरीलाई समस्या भएको गुनासो पाण्डेले गरे । ’नष्ट गर्न प्रहरी टोली जाँदा जनप्रतिनिधिले गाजा खेती गरेका जग्गाधनीको बारेमा जानकारी दिनै मान्दैनन्, जसका कारण गाजा खेती गर्नेहरुलाई पक्राउ गरी कारबाही गर्न सकिएको छैन, उनले भने ।’ ‘‘गाँजा खेती गर्नेहरुको बारेमा स्थानीय जनप्रतिनिधीले पनि बताईरहेका छैनन् । गाँजा फडानी भएका खेतहरु कसको हो भने जानकारी लिन नापी कार्यालयका कर्मचारीहरुलाई पनि शनिबार लगिएको थियो,’ उनले भने,‘वडाध्यक्षलाई पनि कसको खेत हो भनेर सहयोग गर्न भनेका छौं, प्रहरीलाई सहयोग नगरे अपराधमा सहयोग गर्ने जनप्रतिनिधीमाथि पनि मुद्दा चलाउँछौं ।’’
खासगरी राष्ट्रिय वन र निकुन्जसँग जोडिएका गाउँहरुमा लुकाई छिपाई अहिले व्यापक परिमाणमा गाजाको खेति गरिएको छ । जनप्रतिनिधीहरुकै संरक्षणमा उक्त क्षेत्रमा गाजँ खेती भएको प्रहरीको भनाई छ ।
गाजा खेती गरिएको स्थानहरु पत्ता लगाउन प्रहरीले गाउँगाउँमा सुराकी नै खटाइसकेको छ, सूचना पाउने वित्तिक्कै त्यहाँ पुगेर प्रहरीले गाजा खेती नष्ट गर्दै आएको छ । जिल्लाको कुनै पनि स्थानमा कसैले गाजा रोपेको भए त्यसबारे प्रहरीलाई सूचना दिएर सहयोग गर्न पनि प्रहरी उपरीक्षक पाण्डेले अपिल गरेका छन् ।
एक दशकदेखि गाजाको खेती बन्द भएका कारण पर्सामा गाजाको बीउको अभाव भएपछि यहाँका किसानले मकवानपुर र धादिङका पहाडी गाउँबाट बीउ ल्याएर गाजा रोपेका हुन् । अहिले पर्साको विजयवस्ती, निर्मलवस्ती, ओडार, ब्रम्हनगर, रामनगर,सोनवर्षा, गादी, शंकरसरैया, पटेर्वासुगौली, सुवर्णपुर, मधुवन मथवल, प्रसौनीविर्ता, निचुटालगायतका गाउँमा गाँजा खेती गरिएको छ ।