पर्साको पर्सागढीस्थित सवैयाटाँडीका पूर्णबहादुर थापाले सहयात्री बचत तथा ऋण सहकारी संस्थामा ३ सयका दरले बचत गर्न थालेको अहिले १४ बर्ष भयो । ‘संस्था स्थापना कै समयदेखि उनी त्यो संस्थाको बचतकर्ता हुन् ।
‘मैले ३० हजार रुपैयामा संस्थाको शेयर खरिद पनि गरेको छु’ उनले भने । त्यहि शेयर खरिदले अहिले साधारण सेयर सदस्य हुन पाइएको छ । सरकारले तोकेकै नियम अनुसार ब्याजदर र भनेकै समयमा ऋण पाउन थालेपछि जीतपुरभन्दा भित्र गाउँबाट वीरगन्ज आउनु पर्ने बाध्यता सर्वसाधारणका लागि सहकारी स्थापना भएपछि टरेको उनले बताए । पैसा पठाउन र पैसा पाउँन पहिला वीरगन्ज बजार धाउनु पर्ने बाध्यता पनि अहिले त टरेको छ । त्यो कुरा अहिले यहि सहकारीबाटै सम्भव भएपछि सहयात्री बचत तथा ऋण सहकारी संस्था प्रति आफ्नो आकर्षण बढेको स्थानीय थापाको भनाई छ ।
सहयात्री बचत तथा ऋण सहकारी प्रति आकर्षण बढ्ने स्थानीय थापा मात्र नभई स्थानीय बस्ढिलवाका मोहनलाल महतो, यमुना भुजेल, प्रतिमा मान्नधर जस्ता धेरै छन् । आवश्यक परेकै समयमा ऋण पनि पाइने र बचत निकाल्न खोजे सो पनि तुरुन्त पाइने भएपछि आफू संस्था प्रति आकर्षित भएको वीरगंज महानगरपालिका ३१ बस्ढिलवाका स्थानीय मोहनलाल महत्तो बताए । अरु सरकारीले जस्तो यो सहकारीले बचत दिन आनाकानी गर्दैन । म आठ वर्षदेखि यहि सहकारीमा बचत राख्दै आएको छु महतोले भने । अहिलेसम्म कुनै विवाद वा चित्त नबुझ्ने काम भएको छैन । संस्था एकदमै विश्वाशिलो छ उनले बताए ।
कर्जा लिनु पर्दा बैंकमा धरौटी राख्नु पर्ने र बैंकिङ्क प्रक्रिया झनझटिलो नभई सहज भएपछि यो सहकारी प्रति लगाव निरन्तर रहेको संस्थाकी कार्य समिति सदस्य यमुना भुजेलको पनि भनाइ छ । उनी संस्थाको स्थापना कालदेखिकै बचतकर्ता पनि हुन् । पहिलोपटक ऋण लिएर ट्याक्टर किनेको बताउने उनी दोस्रो पटकको ऋणले छोराछोरीको शिक्षादिक्षामा बल पुगेको तर्क गर्छिन् । सहयात्रीले हाम्रो दुई रुपैया राखेर सरल र सुलभ तरिकारले चार रुपैया ऋण दिएपछि विस्तारै कमाएर तिर्न पाउँदा संस्था प्रति यो क्षेत्रका सबैको भरोसा बढेको उनले बताइन् ।
५ वर्षदेखि बचत राख्न थालेकी प्रतिमा मानन्धर पनि संस्थाको कार्यबाट सन्तुष्ट छिन् । ‘सुरुमा ३० रुपैया दैनिक बचत गर्थें । धितो राखेर दुई पटक ऋण पनि लिइसके । साँवा र व्याज मासिक तिर्नुपर्दा पछिलाई साँवा ब्याज घट्दै जाने भएकोले सजिलो छ । नियमसंगत ढंगले तिर्नेका लागि यो सहकारी निकै प्रभावकारी भएको संस्थाकी सचिव समेत रहेकी प्रतिमाले बताइन् । बचत कर्ताले बचत सुरु गरेको ३ महिना पूरा भएको र रोटेसनमा पालो आएको छ भने कर्जा लिन कुनै समस्या नहुने उनको तर्क छ । कार्यसमिति भित्रै भए पनि हामीले पनि रोटेसन लगाएका छौ । यो व्यक्ति मेरो नजिकको मान्छे हो । यसले छिट्टो पाउँनु पर्छ भन्ने छैन । हामी बीचमा पनि पालोको आधारमा मात्र हुन्छ मानन्धरले बताइन् ।
गएको कार्तिक २६ गते बार्षिक साधारण सभा गरेको सहयात्री बचत वीरगन्ज नगर बाहिरका मध्ये सबैभन्दा उत्कृष्ठ सहकारी हो । पछिल्लो समय सहकारीहरु भाग्ने, बचत फिर्ता नदिने लगायतका विभिन्न हल्लाले सहकारीहरु बद्नाम पनि हुन थालेका छन् । तर सहयात्रीहरु जस्तै सहकारीहरुले सेवाग्राहीको मन जित्न सकेकोले सहकारीको गरिमा पनि बढिरहेको जिल्ला बचत संघ पर्साका अध्यक्ष राजेश पण्डितले बताए । पर्सा जिल्लामा ५ सयभन्दा बढी सहकारीहरु दर्ता छन् । त्यसमध्ये २ सय ७५ वटा बचत तथा ऋण सहकारी संस्था छन् उनले भने । पर्सा जिल्ला बचत तथा ऋण सहकारी संघमा आबद्ध भने १ सय ८० वटा मात्र सहकारी रहेको उनको भनाइ छ । १ सय ८० मा पनि गत वर्षको सहकारीको चुनावमा १ सय ३३ वटा सहकारी संस्थाले नविकरण गराएको जिल्ला बचत संघ पर्साको तथ्याँकमा छ । यो तथ्याँकाले पर्सामा सकृय सहकारी १ सय ३३ वटा मात्र रहेको पुष्टि हुन्छ । सकृय मध्ये साना ठूला दुवैले आ– आफ्नो तरिकारले काम गरिरहेका छन् अध्यक्ष पंडितले भने ।
पर्सागढी नगरपालिकाका नगर प्रमुख लोकनारायण यादवले सहयात्री बचत तथा ऋण सहकारी संस्थाको कार्य एकदमै संतोषजनक रहेको बताए । यो सहकारीको कार्यशैली हेरेर नै यसको भवन निर्माण नगरपालिकाले रु पाँच लाख नगद पालिकाबाट सहयोग गरेको पनि उनको भनाइ छ । आगामी दिनमा पनि यो सहकारीलाई नगरपालिकाले सहयोग गर्ने उनको तर्क छ ।
सहयात्री बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष तथा हाल व्यवस्थापक प्रमुख रहेका वीरेन्द्रराज कडेल नेपालका सहकारी संस्थाहरु दुई किसिमले चलेको बताउँ छन् । कुनै निश्चित व्यक्तिको धेरै पूँजीमा संचालित भने अर्को धेरै व्यक्तिको लगानीमा संचालित छन् । सहयात्री सहकारी ग्रामिण क्षेत्रका बहुसंख्यक सदस्यहरुको लगानी र सकृयताबाट चलेको छ उनले भने । समुदायका बहुसंख्यक सदस्यहरुको लगानीले चलेको भएर सहयात्री समयमा नै साधारण सभा गर्ने लगायत मापदण्ड पनि पालना गर्ने संस्थाका रुपमा रहेको उनको भनाइ छ । कोरोनाको कारण आर्थिक क्षेत्रमा मन्दी हुँदा पनि ग्रामिण क्षेत्रमा चलेको सहयात्रीका ५ सय ७१ बचतकर्ता रहेको संस्थाले जनाएको छ ।
काम गर्ने क्रममा समस्या नआउने होइन । तर चुनौतिसंगै अवसर पनि हुन्छ भनेर ‘एकले थुकी सुकी सयले थुकी नदी’ भने झैं लागि परिरहँदा संस्था पनि उत्कृष्ट भएको संस्थाकी अध्यक्ष गोमा उप्रेतीले बताइन् । परिवारको साथ कार्यालयका कर्मचारीहरुको लगनशिलता र उर्जाशिल मेहेनत र समाजका भद्रभलादमीको हौसलाले नै संस्थाले १४ बर्षे यात्रा तय गरेको उनको भनाइ छ ।
विभिन्न समस्याका कारण अपूरै रहेको भवन निमार्ण कार्यलाई पूर्णता दिने योजना मूल प्राथमिकता रहेको उनले बताइन् । प्रत्येक महिना समूह बनाएर जाने र ऋणीहरुलाई सम्झाउने कार्यले खराब ऋणीलाई किस्तामा ल्याउन सफल भएको अध्यक्ष उप्रेतीको तर्क छ ।