लमजुङ दोर्दी गाउँपालिका–९ लप्सीबोटकी सानु गुरुङ्ग चार वर्ष अघि मानव सेवा आश्रमसँग पूर्णकालीन सेविका बनिन् । २०५८ असोज १८ गते १४ वर्षको उमेरमा एस एल सी उतीर्ण गरेकी उनी स्टाफ नर्स पढ्ने सपना बोकेर सपनाको शहर काठमाण्डौ पुगेको बताइन् । तर सानुले स्टाफ नर्स अध्ययनका लागि नाम निकाले पनि पारिवारिक माहोल नमिलेर पढ्न भने नपाएको तर्क गरिन् । विस्तारै वि.सं. २०७४ जेठ १५ मा स्थापित मानव सेवा आश्रम वीरगन्ज शाखामा सेविकाको रुपमा आइपुगेकी हुन् । हाल ७० जना सहयोगापेक्षी रहेको आश्रममा उनी प्रमुखको रुपमा छन् । हालसम्म ३४ जना उपचारपछि पारिवारिक मिलनमा पु¥याउन सफल आश्रममा १३ जना त्यहि निधन भएको आश्रमको तथ्याँक छ । ३२ जना भने
आश्रमको पर्खाल नाघेर भागे पनि भाग्न नसक्ने र उपचार सेवाको खाँचो रहेका ७० जनालाई भने आश्रम बरदान भएको छ । यहि मानव सेवा आश्रमको हालकी प्रमुख गुरुङ्गसँग मध्य नेपालका लागि निलम पंतले गरेको बिशेष कुराकानी :-
१) आश्रमसंग कसरी जोडिनु भयो ?
विएस डब्लू अध्ययन गर्दै थिए । कुनै एनजिओमा काम गर्न चाहन्थे । त्यसको लागि २ सय ५० घण्टा कुनै सामाजिक संघ संस्थामा काम गरेको अनुभव चाहिने रहेछ । त्यसै क्रममा २०७२ मंसिर अन्त्य तिर राजधानीको सामाखुशीस्थित आश्रम शाखामा आउजाउ हुन थाल्यो । सुरुमा त्यहाँ पुग्दा खाना खाने समय भएको रहेछ । त्यहाँको संसार नै अलग लाग्यो । सुरुसुरुमा त केही घण्टा मात्रै बस्थे ।
मैले बाटोमा वा मन्दिरमा जाँदा त्यस्ता व्यक्तिहरु देखिनथे । तर वास्ता हुँदैन थियो । तर आश्रममा बसेका वुवाआमालाई हेर्दा उहाँहरुको हाँसो उहाँहरुको व्यवहारले मलाई खिच्यो । विस्तारै मेरो ध्यान सेवा गर्ने तर्फ नै मोडियो । अहिले वीरगंज आएको एक वर्ष पूरा भइसक्यो ।
२) आकाशमा उड्ने जागिर, आकर्षक तलब छोडेर मानव सेवामा नै लाग्ने निर्णय किन गर्नु भयो ?
सात महिना एयर होस्टेसको काम गरे । ३५ हजारको तलब स्केल दोब्बर भइसकेको थियो । पैसा त राम्रै कमाउँथे । तर खाएर, लाएर, घुमेर सकिन्थ्यो । तर यहाँ बच्चाहरुले मामुभन्दा खुशी लाग्छ । बच्चाहरु र आमावुवाहरु हाँसेको, खेलेको देख्दा थकान मेटिन्छ, रमाइलो लाग्छ । मानव सेवा गर्दा आत्म सन्तुष्टि मिल्छ, त्यो अमूल्य छ ।
३) पारिवारिक साथ सहयोग कत्तिको रह्यो ?
म घरकी एक्ली छोरी, बुबा नेपाल आर्मी, तीन दाजु भाउजु नै कमाउने । मलाई कुनै कुराको कमि थिएन । म यहाँ काम गर्दा घर फर्किदा अवेर हुन्थ्यो । बुबा आमाले पैसा नै नहुने काम किन गर्ने भन्नु हुन्थ्यो । समाजले छोरीमान्छेलाई बाहिर हिडेको काम गरेको रुचाउदैनथ्यो । गाउँका केही व्यक्तिहरुले बुबाआमालाई तेरो छोरी बिग्री, राति अबेर घर आउछे सुत्दिन भन्ने कुराहरु सुनाइदिदा सुरुसुरुमा निकै गाह्रो भयो । बुबाआमा त मसंग लगभग २ महिना जस्तो बोल्नु नै भएन । मेरो फोन पनि उठाउनु हुन्नथ्यो । साह्रै दु्ख लाग्थ्यो । आश्रमका अन्य दाइ दिदीले हाम्रो कारणले यति वुवा आमा खुशी हुनुहुन्छ भने हाम्रो बुबाआमा केही दिन रिसाएर केही हुन्न आफै बुझ््नु हुन्छ भन्नु हुन्थ्यो । पछि बुबाआमालाई बुझाए अहिले सबै ठिक छ । उहाँहरुले मलाई विश्वास गर्नु भएको छ र खुशी पनि हुुनुुहन्छ ।
४) कत्तिको सकस भयो यस क्षेत्रमा काम गर्न ?
म पहाडमा हुर्केकी केटी । पर्साको वीरगंज आश्रममा आउनु पर्ने कुराले मन आत्तिएको थियो । फेरि दाजु भाउजुले पनि त्यहाँ कसरी बस्छौ । आश्रम फोहोर हुन्छ । त्यो ठाउँ पनि फोहोर छ । भाषा बुझ्दैनौ तिमीलाई गाह्रो हुन्छ नजाउ भन्नु हुन्थ्यो । यहाँ आउँदा यहाँको वातावरण त्यस्तै पाएँ । कसरी सुरुवात गर्ने भन्ने अन्यौलता थियो । पछि आश्रममा रहँदा बस्दा बिस्तारै रमाइलो लाग्न थाल्यो आश्रमकै वुवाआमाबाट यहाँको भाषा बुझ्न सक्ने भएँ । अहिले कुनै समस्या छैन ।
५) तपाईको आगामी योजना के छ ?
मानवताको दियो बाल्नु पर्छ । सडक आश्रित मानव मुक्त देश बनाउनु पर्छ । एउटै सपना देखेको छु । यो देशलाई सडक मानव मुक्त देश घोषणा गर्ने । कोही पनि आमावुवा दिदीबहिनी कोही पनि खाना र छानाको अभावमा बस्नु नपरोस् भन्ने भावना बोकेर हिडेको छु ।
६) तपाईको प्रेरणाको स्रोत को हो ?
रामजी सर र सुमनसर । उहाँहरुले मलाई सधै भन्नु हुन्थ्यो । यो नाथै नाथ भएको देश बुद्धको जन्म भएको देश । हामीले देशलाई बनाउनु पर्छ । देश–देशमा मानवताको दियो बाल्नु पर्छ । हाम्रो देशलाई हामीले चिनाउनु पर्छ । सडक मानव मुक्त देश घोषना गर्नु पर्छ भनेर सधैं मोटिभेट गर्नुहुन्थ्यो उहाँहरुकै उत्प्रेरणाले नै मैले यो पेशा अंगाले ।
७) आश्रममा जोडिनु भएको कति भयो ?
आज भन्दा ४ वर्ष अघि मंसिर महिनामै आश्रममा जोडिएकी थिए । वीरगंज आएको असोजबाट एक वर्ष एक महिना पूरा भयो ।
८) तपाइको खर्च कसरी चल्छ ?
खाना बस्न यही छ । मलाई आवश्यक परेको खर्च वुवा आमा र मेरो सानो दाजुले खातामा पठाइदिनु हुन्छ । म अहिले अध्ययन पनि गर्दै छु । यो अन्तिम वर्ष हो । मेरो अध्ययनको पूरा खर्च मेरी ठूली भाउजुले नै हेरिरहनु भएको छ ।
९) अल्लारे उमेर छ अरुले जस्तो भौतिक सुखमा रम्न मन लाग्दैन ?
बुबाआमाको हाँसोमा जुन सन्तुष्टि छ त्यो सन्तुष्टि भौतिक सुखमा कहाँ पाइन्छ र ? म घुम्नै पर्छ राम्रो लाउनै पर्छ भन्ने सोच्यो भने मात्रै हो । नत्र त खुशी त जहाँ पनि छ । यहाँ मेरो ७० जनाको टिम हुनुहुन्छ । उहाँहरुको मुस्कान हेर्दा मन त्यसै फुरुङ्ग हुन्छ ।
१०) मानव सेवा आश्रमको खर्च कति छ । कसरी चलिरहेको छ ?
धेरै गाह्रो छ खर्च चलाउन । धेरै छ खर्च, बुबा आमाको औषधी, खाना, घरभाडा, लत्ताकपडा, यि यावत कुराहरु छन् । तर पनि वीरगंजबासीको माया, साथ, र सहयोगले आजको दिनसम्म चलेको छ । विभिन्न दाताहरुले सहयोग गरिरहनु भएको छ । हामीले अहिले कलेजमा पनि कार्यक्रमहरु गछौं त्यसमा पनि केही शुल्क राखेका छौं । त्यहाँबाट पनि खर्च चलाउन सहज भएको छ ।
११) अन्त्यमा !
यो संस्था हामी सबैको संस्था हो । यो सबैको माया, साथ सहयोगले नै चल्ने हो । आज सम्म जसरी माया साथ सहयोग गर्दै आउनु भएको छ । यस्तै माया साथ सहयोग सधैं पाइरहियोस् ।