महिनावारी, अर्थात रजश्वला हुनु नियमित एक प्राकृतिक प्रक्रिया मात्रै होइन । हरेक मानिसको सृष्टिको रचना पनि हो महनिावारी हुने कुरा । यो प्रत्यक्षरुपमा महिलासँग केवल जोडिएको हुन्छ । स्वभाववैले मातृशक्ति भनौ या त मातृत्व प्रजनन् शक्तिमा प्राकृतिले नै महिलाको अस्तित्वलाई सबैभन्दा ठूलो बरदानका रुपमा राखेको छ । मातृत्वसँग जोडिएका हेरेक क्रियाकलाप अत्यन्तै संवेदनशील हुनुको एक कारण संसारिक मर्यादाको अंश पनि हो । नारीत्वको रक्षक जीवन जननीको सर्वाधिकारमा यस्ता संवेदनशील क्रियाकलापको ठूलो भूमिका रहेको हुन्छ, जो घर अनि समाजमा देखेको अनि प्रत्यक्ष भोगेको कुरा हो ।
महिनावारी एक नियमित प्रक्रियाः
विनाचोट, विनाहिंसा अनि विनापीडा शरीरको निश्चत अंगबाट बग्ने रगतले वास्तवमा महिलाहरुलाई त्यो खुशी दिन्छ जुन बगेको रगतसँग आफु महिला मात्रै होइन । यस संसारको सृष्टिकर्ताको पूर्ण हकदार हुनुको प्रमाण समेत दिएको हुन्छ । जब महिलाहरुको जीवनसँग जोडिएर कुनै पनि कुरा दिमागमा खेल्न थाल्दछ । यस्ता कुराले निक्कै भावुक पनि बनाउँछ । किन कि हामी त्यो समाजमा जन्मिएका छौ, जहाँ परापूर्वकालदेखि चल्दै, भोग्दै अनि सुन्दै आएका हरेक गतिविधिहरु हामी जन्मिनु पूर्वदेखि तय भएका छन् । जसरी म कुनै व्यक्ति यो जातिको हुँ भन्ने कुरा उ जन्मिएको त्यो परिवार कुन जातको हो ? भन्ने कुरासँग जोडिएर आउँछ । म त्यहि जातको भनेर चिनिए झै कैयौ यस्ता पूर्वनिर्धारित गन्तव्यका हामी केवल एक यात्री हौ ।
जो पहिले नै कोरिएको गोरेटोमा यान्त्रिक मात्रै छौ । यस्तै कतिपय व्यबहार पनि यस्तै एक निर्धारित चलन चल्तिलाई धरातल बनाएर विवशपूर्ण बन्धनमा सम्मिलित छौ । हरेक महिना महिलामा हुने महिनावारीको सम्बन्धमा समाजले हेर्ने धारणा, महिनावारी भएको बेला गरिने छुवाछुतपुर्ण व्यवहार, महिनावारी भएकै कारण आफ्नै घर भित्र बस्न आफ्नै परिवारका सदस्यसँगसँगै बसेर खान, अनि नियमित गर्दै आएका नित्यकर्ममा रोकटोक । अझ कतिपय ठाउँमा त महिनावारी भएकै कारण विभेदित व्यबहार । घरभन्दा पर छाउगोठमा थुनुवा गाईवस्तुको झैं बन्दीपूर्ण कष्ठकर जीवन बिताउनु पर्ने बाध्यता छ । यस्ता प्रत्येक मानवीय दृष्टिकोणले नियाल्ने गतिविधि सहितको महिलालाई हेर्ने दृष्टिकोणमा पंरम्परागत प्रणाली सहितको रुढीवादीलाई यथास्थिति मै देख्ने आँखालाई कहिलेदेखि आजको आँखाले हेर्ने ? परिवर्तन गर्ने सोचको थालनीमा विकास हुन नसक्नु दुखद कुरा हो ।
महिनावारी भनेको प्राकृतिक प्रक्रिया हो । जो सृष्टिको धरोहर भएको हुनाले महिनावारी भएको समयलाई कुनै पाप वा छुवाछुतपुर्ण व्यवहार गर्नु कतिको उचित कार्य हो ? समाज परिवर्तनको लागि ठूल्ठूला स्वरहरु उठ्दै गर्दा यस्ता मानवीय विवेदपूर्ण कुरामा पनि अबको समाजको आँखा पुग्न पर्दछ । आजसम्म चल्दै आएको मान्यताको रुढीवादीको खोल हटाएर सामाजिक चेतनाको नयाँ बाटो पहिल्याउने सोच अबका युवाहरुमा आउनु पर्छ ।
छुवाछुतको प्रचलन,
हिजोको समाजले जुन छुवाछुतको छाप बसाएको छ त्योभन्दा बाहिर आजको समाज जान सकिरहेको छैन । अर्थात त्यहिँ छापमा टेकेर आर्दशका कुरा गर्छाैं । तर यो सोच्दैनौ के यो छाप पुरेर अब नयाँ बाटो कता र कसरी तथार गर्नेबारे हाम्रो ध्यान पुग्न पर्छ कि पर्देन ? हामी धर्म शास्त्रका कुरा गर्छाैं । पाप धर्मका कुरा गर्छाैं । तर आजसम्म कुनै पनि धर्म शास्त्रले महिनावारी भएको बेला के छुन हुदैन के छुन हुन्छ, के खान हुन्छ वा हुदैन ? कहाँ जान हुन्छ वा हुदैन ? के गर्न हुन्छ वा हुदैन ? जस्ता कुनै पनि कुरा लेखिएको भेटिएको छैन ।
न त महिनावारीको बेला छोएकै कारण कुनै अपृय घटना भए पश्चात यो प्रथा सुरु गरेको भनेर कतै लेखिएको छ ? मेरो जानकारी अनुसार यो जरुर सुन्दै आइएको छ कि धर्मका कुरा वा किम्वदन्तिमा कि महिलालाई देवीको रुप, सम्मानपुर्ण बर्णन आमा अर्थात संसारको शृष्टिकर्ता माता अर्थात ‘जननी जन्मभुमिश्च स्वर्गादपी गरियसी’ अर्थात जन्मदिने आमा र जन्मभुमि स्वर्गभन्दा उच्च हुन्छन् । धर्म अनि शास्त्रले महिनावारीमा हुने गुणकै आधारमा महिलालाई सानो अथवा फरक व्यवहार कहि कतै गरेको पाईदैन । मा, दुर्गा, लक्ष्मी, पार्वती, सीता, भवानी, कालीका नामले माताको पुजा अर्जना गरिरहादा कहिँ कतै महिनावारी भएकै कारण कुनै विध्न वाधा भएको न कतै लेखिएको छ न कतै किंवदन्तीमा सुनिएको छ ।
धर्म शास्त्र, पुराण र किंवदन्तीमा छुवाछुतवाला कुनै कारण नभए पनि किन यो समाज जस्लाई हामीले नै बनाएका हौ । किन बनाइयो ? यस्तो चलन यस्तो जगन्य कुराको आवाज आजका पिढींले उठाउने कि नउठाउने ? फेरि अर्काे कुरा जसरी हाम्रो समाजले महिनावारीलाई छुवाछुतको नजरले हेरिरहँदा के आजसम्म महिनावारी भएका बेला कुनै अप्रिय घटना वा कुनै दोष भेटिएको छ ? किन नियमित हुने यो प्रक्रियालाई सहजरुपमा लिन सकिरहेका छैनौ ? हामी आफैले बनाएको प्रचलनको कारण आज महिला अनि पुरुष विचमा असमानता त छदैँछ ।
महिला महिला बिच हुने यस्ता सोचाई र एक महिलाले नै अर्काे महिलालाई महिनावारी भएकै कारण घरबाट बाहिर राख्नु , खानेकुरादेखि कहिँ जान रोकटोक लाउनु साथै नियमित गर्ने नित्य कर्ममा छुवाछुतको घेरावन्दी पार्ने जस्ता कार्य कतिको उचित छ ? अबको समाज र यो समाजमा बस्ने आजका युवाले गम्भिर हुन पर्दछ । छुवाछुतको चलन न कुनै धर्म शास्त न कसैले कुनै कारण देखाइ लगाएको चलन हो । त्यसैले यस्ता संवेदनशील कुरामा सचेतना आवश्यक छ ।
परिवर्तनको लागि सचेतना
अनेक जातजाती अनि धर्म संस्कृत, भाषाभाषी सहितको अनेकताको एकताको हाम्रो देशको परम्परा पनि पुर्वदेखि पश्चिमसम्म एक हुन नसक्नु स्वभाविक हो । जस्तो पश्चिमका कतिपय जिल्लामा छाउपडी प्रथा सचेतनाको अभावकै कारण हो । सबैले बुझेको कुरा तर यस्ता प्रचलनलाई निमूर्ल पार्न पनि त्यति सहज भने छैन । अनेकौ प्रयासका बाबजुत कानुनमै लिखित गराएका कतिपय प्रथालाई पनि परिवर्तन गर्न कठिन छ । पुरानो परम्परागत सोचबाट माथी उक्लिन सोचे जस्तो सहज छैन ।
सहि र गलतको कुरा भन्दा पनि प्रत्यक्ष रुपमा अभ्यास गर्न वा गराउन सके, मनोवैज्ञानीक शिक्षाद्घवारा विशेषत यो कुरामा महिलाहरुलाई जागृत गराउन सकिन्छ । छायपडी जस्ता अमानवीय, असामाजिक र अवैधानिक परम्पराहरु निमुल गर्न अन्य ठाँउमा महिनावारीको समय गरिने छुवाछुतको प्रचलन स्ययम् आफ्नै निस्तेज भएर जान्छ । यसको लागि हरेक घरबाट परिवर्तनको नयाँ शैली सुरु गर्ने हो । तत्काल सोच परिवर्तन हुन समय लागेता पनि हाम्रा संतानहरुले पक्कै यस्तो सोचको विकास गर्न सक्नेछन् । जसको लागि मानवीय प्रयोगात्मक सोचाई आवश्यक छ ।
कुनै पनि कार्यको थालनी स्वयम् आफु र आफ्नो घरबाट गर्ने हो भने, समाज परिवर्तनमा लामो फड्को मार्न सम्भव हुन्छ । पुरानो परम्परा अनि रुढिवादी सोचलाई मानवीय जीवनमा प्रभाव हुने वातारणको बारेमा हामी आफैले कदम चाल्नु पर्दछ । समाजमा हुने गरेका अशोभनीय र अमर्यादित गतिविधिको अन्त्यको लागी सचेत हुन पर्दछ । समाज परिवर्तन हुनु भनेकै पहिले हाम्रो सोच अनि व्यवहार परिवर्तन हो भन्ने सबैले बुझ्न जरुरी छ ।