पर्साको ठोरी गाउँपालिकाको विभिन्न स्थानमा अबैध रुपमा लगाईएको गाँजा खेती प्रहरीले नष्ट गर्दै आएको छ । अवैध रुपमा लगाइएको गाँजा जनप्रतिनिधिको समेत संलग्नतामा लगाइएको खुलेको छ । नेपाल सरकारले पूर्ण रुपमा प्रतिबन्ध लगाएको गाँजा खेती पर्सामा फेरी फस्टाएको जानकारी भएसंगै प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान थालेको थियो ।
अभियान अन्तर्गत ठोरी गाउँपालिकाभित्रको करिब २१ विग्हाभन्दा बढि खेतमा लगाइएको गाँजा खेती नष्ट गरेको हो । प्रहरीले गाजा खेती नष्ट गर्ने अभियानलाई तीब्रता दिएपनी गाँजा खेती गर्ने व्यक्तिहरुको भने पहिचान गर्न सकेका छैनन् । पर्सा प्रहरीले शुक्रबार पनि पर्साको पटेर्वा सुगौली गाउँपालिकामा करिब ८ कठ्ठा जग्गामा लगाईएको गाँजा खेती नष्ट गरेको पर्साका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए । ठोरीसंगै पटेवा सुगौली, जिराभवानी गाउँपालिका लगायतका ठाउँमा पनि अबैध रुपमा लुकाई छिपाई गाँजा खेती गरिएको स्थानीयहरु बताउँछन् ।
प्रहरीले खोलाउन सकेन गाँजा खेती गर्नेको पहिचान
ठोरी गाउँपालिका अन्तर्गत लगाईएको झण्डै २१ विग्हाभन्दा बढि गाँजा खेती नष्ट गर्दा गाँजा खेती गर्ने मानिसहरुको पहिचान भने स्थानीय निकायले गरिदिएका छैनन् । यसले जनप्रतिनिधिकै संलग्नतामा गाँजा खेति भएको प्रस्ट देखिन्छ । पर्सा प्रहरीका अनुसार प्रहरीले गाऊँमा अनुशन्धान गर्न जाँदा न त स्थानीय वडाध्यक्ष, न त वडा सदस्यले नै जग्गा धनीहरुको नाम बताउन सहयोग गरे न त पहिचान गराउन सहयोग गरेका छन् ।
स्थानीयले गाँजा खेती गर्नेको पहिचान खुलाउन प्रहरीलाई सहयोग नगर्दा प्रहरीले नापी कार्यालयका कर्मचारीलाई समेत गाँजा फडानी भएको स्थलमा लागेर जानकारी लिन खोजेको पर्साका प्रहरी नायब उपरीक्षक एमं प्रवक्ता ओम प्रकाश खनालले बताउँछन् । तर मसुर निसानामा नापी कार्यालयलाई पनि गाँजा खेती गरेका जग्गाधनीको नामखुलाउन समस्याभईरहेको खनालले बताए ।
जनप्रतिनिधीहरुले नै गाँजा खेती गरेको खुलासा
ठोरी गाउँपालिकाको विभिन्न वडाहरुमा गरिएको गाँजा खेती स्थानीय जनप्रतिनिधीहरुले पक्ष पोसन गरिरहेको खुलेको छ । खासगरी राष्ट्रिय वन र निकुन्जसँग जोडिएका गाउँहरुमा स्थानीय केही जनप्रतिनिधीहरुले नै लुकाई छिपाई २१ विग्हाभन्दा बढि जग्गामा गाँजा खेति गरेको नाम नराख्ने सर्तमा एक जना ठोरीबासी बताउँछन् ।
स्थानीय प्रहरीको पनि संरक्षण
ठोरी विभिन्न ठाउँमा गरिएको गाँजा खेती बारे स्थानीय प्रहरीलाई समेत पहिलादेखी नै जानकारी रहे पनि प्रहरीकै संरक्षणमा गाँजा खेती भएको खुलेको छ । राष्ट्रिय वन र निकुन्जसँग जोडिएको गाउँहरुमा प्रहरीले रातदिन गस्ती गर्दा उक्त क्षेत्रमा गाँजा खेती भएको थाहा हुँदा हुँदै पनि गाँजा खेती गरेका मानिसहरु मिलाई जुलाई उक्त खेती गरेको बताईन्छ ।
सरुवा भएर केही दिन पहिले पर्साबाट गएका प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेले समेत स्थानीय प्रहरीको पनि गाँजा खेतीमा संलग्नता भएकोले उनीहरुको पनि पहिचान गरिएको कारबाही गरिने बताएका थिए । गाँजा खेती गर्नेहरुको पहिचान खुलाउन प्रहरीले ठोरी गाउँपालिकाको वडा कार्यालयमा पत्रचार समेत गरिसकेको छ । गाँजा खेती गर्ने मानिसहरुको पहिचान खुलाई प्रहरीलाई सहयोग नगरे जनप्रतिनिधीमाथि पनि मुद्दा चलाउने पर्साका निबर्तमान एसपी पाण्डेले चेतावनी दिएका थिए ।
अब के हुन्छ ?
नेपाल सरकारले पूर्ण रुपमा प्रतिबन्ध लगाएको गाँजा खेती गर्ने जुनसुकै पदका व्यक्ति अपराधि हुन् र अपराधलाई न्युनिकरण गर्न प्रहरीको अनुसन्धानमा जनप्रतिनिधीले असहयोग गर्नु कानुन कार्यन्वयन र अपराध निर्मूल नहुनु हो । तर स्रोतले दाबी गरे अनुसार जनप्रतिनिधी नै गाँजा खेती गरेको र प्रहरीले समेत जनप्रतिनिधीहरुले आफुलाई सहयोग नगरेको बताएपछि अपराधलाई सहयोग गर्ने अपराधि सरह नै हो ।
गाँजा खेती फडानी गरिसकेका पर्सा प्रहरीले कसरी गाँजा खेती गर्ने मानिसहरुको पहिचान गर्छ, केही दिन पहिले आएका एसपी रमेश बस्नेतले गाँजा खेती गर्नेलाई कसरी पहिचान गरी सार्वजनिक गर्छन्–जनचासोको विषय बनेको छ ।