अहिले शहरहरुको विभिन्न ठाउँमा हर्न निषेधित क्षेत्रको बोर्ड लागेको हेर्न सकिन्छ । राजधानीबाट सुरुको भएको यो अभियान अहिले विभिन्न शहरमा लागु गर्न खोजिएको छ ।
स्थानीय तहको निर्वाचनको समयमा शहरलाई स्मार्ट सिटी बनाउने वाचा गरेकोले होला धेरै स्थानीय तहहरुले विना तयारीको हर्न निषेधित क्षेत्र लगाएको हुन सक्छ । कुनै ठाउँमा प्रदेश नै हर्न निषेधित क्षेत्र घोषणा गएिको हल्ला छ भने कतै कतै शहर वा क्षेत्रगत रुपमा हर्न निषेधित क्षेत्र घोषणा हर्न निषेधित क्षेत्रको बोर्ड राख्ने गरिएको छ । बजारमा ध्वनी प्रदुषण कम गर्न हर्न निषेधित क्षेत्र घोषणा गरिए पनि यसको नियम उल्लङ्घन गरेको पाइन्छ । हर्न बजाउन अभ्यस्त भएका सवारी चालकहरुले हर्न निषेधित क्षेत्रको ।पूर्ण कार्यान्वयन गरेको पाइदैन । हर्न निषेधित क्षेत्रकै कतिपय सडक विग्रिएर खाल्डाखुल्डी भएको कारण पनि सवारी चालकहरुलाई हर्न बजाउन बाध्यता भएको सवारी चालकहरु बताउँछन् ।
सडक पेटी अतिक्रमण हुन र सडक पार गर्ने यात्रीहरुले तोकिएको स्थानबाट सडक पार नगर्दा पनि सवारी चालकहरु हैरान भएर पनि हर्न प्रयोग गर्न परेको उनीहरु बताउँछन् । यता सार्वजनिक सवारीहरु पनि निश्चित स्थानमा नरोकी आफु अनुकुल स्थानमा मात्रै रोक्नुले ट्राफिक व्यवस्थापनमा पनि समस्या हुँदै आएको देखिन्छ । प्रयाप्त जेब्राक्रस नहुनु, साइकल, मोटरसाईकल, रिक्सा, विद्युतीय रिक्साले तोकिएको रुट प्रयोग नगर्नुले पनि हर्न निषेधित क्षेत्र उल्लङ्घन भइरहेको पाइएको छ । हर्न निषेधित क्षेत्रको बार्ड त लगाइएको छ । तर यसको बारेमा आम चालकहरुमा जानकारी गराइएको पाइन्न । बोर्ड लगाउने वितिक्कै चाकलहरुको व्यवहारमा परिवर्तन नआउने भएकोले यसको बारेमा जनचेतना लगाउन आवश्यक छ ।
हर्न निषेधित क्षेत्रको बोर्ड लगाएको क्षेत्रमा हर्न बनाउनेलाई खोई त कार्वाही गरेको ? के नामको लागि मात्रै बोर्ड लगाईएको हो त ?
बजारका विभिन्न क्षेत्रमा हर्न निषेधित क्षेत्र लेखिएका ‘होर्डिङ बोर्डहरू’ देख्न सकिन्छ । तर त्यसको कार्यान्वयनमा सर्वसाधरण समक्ष सरोकारवाला निकायहरूले कुनै किसिमको गतिविधि अगाडी बढाएको पाइँदैन । जथाभावी हर्न बजाउनेलाई कुनै किसिमको कारबाही चेतावनी नहुने, जथाभावी हर्न बजाउन नपाउने विषयमा कुनै किसिमका अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन भएका छैनन् ।
हर्न भन्ने साथ ध्वनि प्रदुषण भन्ने बुझ्न खासै कठिन हुन्न तथापि हर्न के हो ? र किन बजाउनु हुदैन ? भन्ने विषयमा सर्वसाधारणलाई हालसम्म सरोकारवाला निकायले जानकारी गराएकै छैन । ‘यता किन हर्न बजाउनु हुँदैन्’ भन्ने विषयमा जानकारी नभएका कतिपय सर्वसाधारणले ‘हर्न निषेधित क्षेत्र’ लेखिएको बोर्डहरू समेत नियाल्न भ्याएका छैनन् । सचेतनामुलक कार्यक्रमहरू सञ्चालन नगरिँदा राम्रो अभियान भए पनि यसमा आम जनताको सकारात्मक सहयोग हुन सकिरहेको छैनन । हर्न निषेधित क्षेत्र घोषणा गर्ने स्थानीय सरकारले यो के लागि ? किन गरेको भन्ने विषयमा आम जनतलाई बुझाउनु पर्ने भए पनि बोर्ड मात्र झुन्डाउने काम भएको देखिन्छ ।
हर्न निषेधित क्षेत्रम हर्न बजाउनेलाई खासै कार्वाही नभएका कारणले पनि बुझेका चालकले पनि नबुझेको जस्तो गरी हर्न बजाएको पाइन्छ । त्यसैले वास्तवमा यसको कार्यन्वयन गर्ने हो की नामको लागि मात्र घोषणा गरिएको हो ? सोच्न जरुरी छ । हर्न निषेधित क्षेत्र घोषणा गर्नु राम्रो भए पनि पर्याप्त तयारी बिना नै हर्न निषेध गरिँदा प्रभावकारी नहुन सक्छ । ‘बटुवाहरु जथाभावी बाटो काट्छन्, गतिलो सडकपेटी पनि छैन, सडक लेन पनि प्रष्ट छैन, यस्तो अवस्थामा हर्न नबजाए दूर्घटना हुने स्थिति हुन सक्छ । त्यसैले हर्न निषेधित क्षेत्र घोषण संगसंगै यसको बारेमा सर्वसाधारण तथा सवारी चालकमा सचेतना जगाउन जरुरी छ । होईन भने कतै हर्नै हर्न कतै नो हर्न भनेजस्तै मात्र भएको छ ।
कुनै पनि अभियानलाई सफल बनाउनका लागि स्थानीयवासीको सहयोग र समर्थन आवश्यक हुन्छ । त्यसैले यस अभियानमा पनि स्थानीयवासीले जानेर अन्जान बन्नुको सट्टा सहयोगी भूमिका निर्वाह गर्न जरुरी छ ।