बाँकेको नेपालगञ्जमा बिं.सं २०३५ सालमा जन्मिएकी रुबी चमडिया उनका बुबा ममराज मित्तल र स्व सकुन्तला देवीको चौथो सन्तान हुन् । माइती घर नेपालगन्ज भए पनि चमडिया २०५५ सालमा विवाह पश्चात वीरगन्ज आएको बताइन् । तीन सन्तानकी आमा समेत रहेकी रूबीका श्रीमान् निखिल चमडिया वीरगन्ज आदर्श नगरका एक सफल लगेज व्याग व्यापारी हुन् । सम्पन्न परीवारकी छोरीबुहारी भएकाले उनलाई केही अभाव छैन । तर मारवाडी समुदायकी बुहारी भएपछि बाहिर निस्केर व्यापार गर्न समाजमा त्यति सहज नभएपछि श्रीमानसँग टाढा भएर केही गर्ने सोच नभएको उनले बताइन् ।
घर बाहिर निस्कन सम्भव नभएकाले उनले घरमा आउने महिला बिशेष म्यागजिन तथा खाना खजानाको रेसिपिको किताब र यूट्यूबबाटै खानाहरुको अध्ययन थालेको बताइन् । समाजमा आफ्नो एक अलग पहिचान बनाउन आफ्नै घरको भान्सालाई व्यवसायीकरण गर्ने सोच बनाएर उनले रूबीज किचेनको सुरूवात गरेको तर्क गरिन् । उनले आफ्नो नामको भान्सा घर सञ्चालनमा ल्याएको १६ वर्ष भयो । अहिले उनी आफ्नो श्रीमान् र ३ सन्तानसहित सासु ससुरासँगै रमाइलो जीवन विताउँदै आएकी छन् । उनी बिहान ५ बजेदेखि रातको ९ बजेसम्म काममै व्यस्त हुन्छु भन्छिन् । घरकी एक्लो बुहारी भएपछि सासु ससुरा श्रीमान्ले अह्राएको काम र घरको अन्य जिम्मेवारी पनि उनकै काँधमा छ । उनले घरायसी काम सकेर दिउँसोको समयमा ग्राहकहरुको अर्डर अनुसार सामान तयार गर्ने गरेको खुलासा गरिन् । एउटा केकको बेस तयार गर्न ४५ मिनेट लाग्छ । कुकिज उनले ३० मिनेटमा तयार गर्छु भनिन् । अहिलेको समयमा हरेक महिलाले शिपमुलक काम गरेर आत्मनिर्भर हुन आवश्यक भन्छिन् उनी । उनै रुबी चमडियासंग मध्य नेपाल सन्देशले गरेको बिशेष कुराकानी :-
१) कस्तो चल्दैछ तपाइको व्यवसाय ?
बिस्तारै अर्डरको संख्या बढ्न थालेको छ । मैले स्टोर गरेर राख्ने होइन । तत्काल बनाएर पठाउने हो । त्यसैले जे होस मेरो हात खाली छैन । राम्रो छ ।
२) यस्तो सोच कसरी आयो ?
बच्चाहरु हुर्कदै गए । दिनभरी घरमा बस्नु पर्ने भएकोले म बोरिङ्ग हुन्थे । यसै समय खेर फाल्नुभन्दा केही गर्नु राम्रो भन्ने सोच आयो । परिवारले आफ्नो व्यापार सम्हाल्न भन्नु भयो । तर त्यस प्रति रुचि लागेन । मेरो रुचि कुकिङ्गमा थियो । साथीहरु र परिवारबाट कुकिङ्ग क्लास चलाउन भन्ने सुझाव आयो । त्यो सुझावलाई आत्मसात गर्दै मैले रुबिज् किचन नाम दिएर कुकिङ्ग क्लास सुरु गरें । राम्रै चलिरहेको थियो । त्यसपछि केक आइटम पनि ट्राइ गरौं भन्ने लाग्यो र गरे पनि । केक परिवार र आफन्तको बर्थडे एनीभर्सरी पार्टीहरुमा जान थाल्यो । बिस्तारै अर्डरहरु आउन थाल्यो । मैले बनाएको केके लगायतका आइटसहरु फेसबुक पेजमा राखिरहन्थें । २०१९ देखि त मैले कुकिङ्ग कक्षा संचालन गर्नै सकिन । किनकी केकको अर्डरहरु एकदमै आउँन थाल्यो । त्यहि भएर मैले व्यवसाय नै यसैलाई बनाउने सोच बनाएँ ।
३) मधेशमा माडवारी समुदायकी बुहारी भएर पनि यसरी अगाडि बड्नु भएको छ । तपाईको प्रेरणको स्रोत कसलाई मान्नु हुन्छ ?
मेरो आफ्नै रुचि हो । ‘मलाई कुकिङ्गमा एकदमै रुचि छ । मेरो कुकिङ्ग कलालाई आफैमा किन सिमित राख्नु भन्ने सोच बनाएर मैले यो काम सुरु गरेकी हुँ । योभन्दा पहिला मैले रुबीज् किचेन सुरू गरेकी थिए । जसमा मैले कुकिङ्गमा रुचि भएकाहरुलाई क्लास दिने गरेको थिए । तर अहिले त्यो भ्याइरहेकी छैन । अहिले सामान अर्डर गर्नेहरुको संख्या पनि बढ्कोे छ । ’यसबाट आएको आम्दानी समुदायका गरिब तथा विपन्नका लागि विभिन्न संघ संस्था मार्फत सहयोगको रूपमा खर्च पनि गर्ने छु ।
४) सम्पन्न परिवारकी बुहारी हुनुहुन्छ । तर पनि यसरी घरबाटै व्यवसाय गर्नुको कारण के हो ?
पहिलो कारण भनेको मेरो रुचि हो । अर्को कारण चाही घरभित्रै रहने महिलाले दिनहुँ गर्ने आफ्नो कामबाट पनि आय आर्जन बढाउनुका साथै समाजमा आफ्नो छुट्टै पहिचान बनाउनु पनि रुबीज किचेनको नामले बेकरी सञ्चालनमा ल्याएकी हुँ । सम्पन्न परीवारकी बुहारी भएर बिना काम सुखमय जीवन व्यतित गर्नुभन्दा काममा व्यस्त रहे आत्मसम्मान बढ्ने भएको र समयको पनि सदुपयोग हुने भएकोले बेकरीको व्यवसाय सुरू गरेकी हुँ । दिनभरी बिना काम यतिकै मोवाइल फेसबुक, वा अनावश्यक काममा समय खेर फल्नुभन्दा आफ्नो रुचि भएको कामलाई घरमै बसेर पनि निरन्तरता दिन सकिन्छ भन्ने सन्देश दिन पनि यो काम गरेकी हुँ ।
५) तपाइको रुबीज किचनमा केके पाइन्छ ?
ग्राहकको अर्डर अनुसार कुकिज बिस्कुट, बर्थडे केक, प्रेस्टिस, आईसक्रिम, चकलेट तथा बिभिन्न बेकरीका परिकार पाइन्छ । ग्राहकहरुले पनि निकै मन पराइदिनु भएको छ । त्यसैले मेरो व्यवसाय नै रुबीज किचेनबाट चलेको छ ।
६) तपाईका परिकारहरु कहाँसम्म पुग्छन् ?
मैले तयार गरेका केक तथा कुकिज नेपालीका साथै भारतीयहरूको समेत रोजाईमा परेको छ । वीरगन्जसहित नेपालगन्ज र काठमाडौंलगायत आसपासका ठाउँहरुमा केक, कुकिज र ब्रेड चकलेट अर्डर बमोजिम पुग्ने गरेको छ । मैले बनाएका सामग्रीहरु भारतको रक्सौल, पटना, दिल्ली, कलकत्ता, राजस्थान, लगायत अन्य थुप्रै ठाउँमाबाट अर्डर आउँछ । तर मेरोमा पु¥याउने व्यवस्था भने छैन । आएर आफै लैजानु हुन्छ । त्यहाँसम्म पु¥याउनका लागि त्यहाँका आफन्तले मलाई सहयोग गर्दै आएका छन् ।
७) रुबीज किचेनको मासिक आम्दानी भन्न मिल्छ ?
यतिनै भनेर यकिन हुन्न । स्वाद र समाग्रीको मात्रा अनुसार १ किलो कुकिजको ४ सय ५० र केकको (एक पाउण्ड) रु ७ सयदेखी १ हजार ४ सय रूपैयाको दरले बिक्री हुन्छ । यस्तै एक पाउण्ड केकको स्वाद र डिजाईन अनुसार ८ सय देखि १४ सय सम्ममा बिक्रि हुन्छ । मैले बनाएको केकहरु बजारको भन्दा फरक स्वादिलो स्वस्थ्यकर भएकाले दिनको ३ देखि ४ वटा केकको अर्डर आईरहेको हुन्छ ।
८) परिवारको साथ सहयोग कत्तिको छ ?
म घरकी बुहारी हुँ । घरको परिवारलेको साथ सहयोगले नै आज यो सम्भव भएको हो । मलाई मेरो काममा मेरो श्रीमान् सासु ससुरा सबैको राम्रो सहयोग छ । अझ बजार विस्तारमा मेरा आफ्ना आफ्न्त र साथीभाइले मलाई धेरै नै सहयोग गर्नु भएको छ ।
९) अन्त्यमा थप केही भन्न चाहानु हुन्छ ?
घरमा बसेर यतिकै समय खेर नफालौं । जसलाई जेमा रुचि छ, त्यसैमा अघि बढ्नु पर्छ । टेक्नोलोजिको जमाना छ । यूट्युभमा हेरेरै पनि धेरै कुराहरु सिक्न सकिन्छ । नयाँ नयाँ डिसहरु हेर्छु । र प्रयास गरिरहन्छु । म विस्किट बनाउने प्रयास गर्छु । बिक्री गर्न लायक छ कि छैन ।
त्यो बुझेर मात्रै म पेजमा राख्छु । त्यस्तै आफ्नो रुचि जे कुरामा त त्यसैमा केन्द्रित रहेर काम गर्ने हो भने सफलता पाइन्छ । आजको समयमा घरमा बसेर टिभी वा मोवाइल चलाउनुभन्दा पनि आफ्नो रुचिलाई व्यासायमा परिणत गर्न सकियो भने आफू आत्मनिर्भर हुनुका साथै महिला शसक्तिकरणमा पनि सघाउँ पु¥याउन सकिन्छ । आम दिदी बहिनी जो फूर्सदिलो हुनुहुन्छ तपाईहरु पनि आ–आफ्नो रुचिको कामलाई आर्य आर्जन्को बाटो बनाउनुस् ।