हिन्दू धर्मको सामाजिक संविधानको रुपमा स्थापित रहेको मनु स्मृतिमा विवाहको आठवटा भेद निर्दिष्ट गरिएको पाइन्छ–ब्राह्मो दैवस्तथैर्वार्षः प्रजापत्यस्तथाऽऽसुरः । गान्धर्वो राक्षसश्चैव पैशाचश्चाष्टमोऽधम ।। अर्थात ब्राह्म, दैव, आर्ष, प्रजापात्य,आसुर, गान्धर्व, राक्षस तथा पैशाच गरि आठ प्रकारका विवाहका भेद मानिएको छ । राम्रो शील स्वभावका केटालाइ वस्त्राभूषणले अलंकृत तथा पूजित गरेर कन्यादान गरिदिने विवाहलाइ ‘ब्राह्म विवाह’ भन्दछन । यज्ञमा सम्यक प्रकारले कर्म गर्दै ऋत्विजलाइ वस्त्राभूषणले अलंकृत तथा पूजित गरेर कन्यादान गरि दिने विवाहलाइ ‘दैव विवाह’ भन्दछन । केटासित एक वा दुइ जोडी गोरु वा गाइ लिएर विधि पूर्वक कन्यादान गरि दिने विवाहलाइ ‘आर्ष विवाह’ भन्दछन । तिमी दुइजनाले मिलेर गृहधर्मको रक्षा गर–यति भनेर तथा केटालाइ वस्त्राभूषणले अलंकृत तथा पूजित गरेर कन्यनदान गरि दिने विवाहलाइ ‘प्राजापात्य विवाह’ भन्दछन ।
कन्याका पिता वा अन्य सम्बन्धि वा कन्यालाइ नै यथा शक्ति धन दिएर स्वच्छन्दता पूर्वक कन्या लिने विवाहलाइ ‘आसुर विवाह’ भन्दछन । कन्या तथा वर दुइटैको स्वेच्छाले संयोग हुनुलाइ ‘गान्धर्व विवाह’ भन्दछन । बिरोध गर्नेलाइ मारेर, घाइते बनाएर, घरको ढोका फोरि रुंदै गरेकी कन्यालाइ बलपूर्वक हरण गरेर गरिने विवाहलाइ ‘राक्षस विवाह’ भन्दछन । त्यस्तै सुतिरहेकी, मदविह्वल वा बहुलाही कन्याका साथ एकान्तमा संयोग गरिने विवाहलाइ ‘पैशाच विवाह’ भन्दछन जसलाइ अत्यन्त निकृष्ट विवाह भन्दछन । भोजपुरी बहुल क्षेत्र बहुसंख्यकरुपमा हिन्दू धर्मावलम्बी भएको हुनाले प्रायः उपरलिखित विवाहका प्रकारहरु मध्येकै विवाह गर्ने गरेको पाइए पनि यस लोक जनमानसमा विवाहका केहि बिशेष प्रकारहरुहरु विद्यमान रहेका पाइन्छन । जसअनुसार निम्नलिखित छ प्रकारका विवाह हुने गरेको पाइन्छ । चढके विवाह, डोला काढ के विवाह, गोलावट विवाह, छ पोछिया विवाह , बेटी बेच के विवाह तथा स्वयंवर विवाह ।
चढके विवाह देव तथा ब्राह्म विवाहको सामुहिक रुप हो जसमा कन्याको पिताले गूणी तथा सुयोग्य वर खोजेर दाइंजोको साथ कन्यादान गर्दछ । यस प्रकारको विवाहमा जन्ती आउछ तथा विवाह सम्पूर्ण विधिविधानअनुसार सम्पन्न हुन्छ । यस विवाहलाइ भोजपुरी जनमानसमा सर्वश्रेष्ट विवाहको रुपमा मानिन्छ । डोला कढवा विवाहमा कन्याको गरिब पिताले जन्तीको खर्च धान्न नसक्ने, दाइजो दिन न सक्ने भएको हुनाले कन्यालाइ केटाको घरमा पु¥याइ दिन्छन । विवाहको सम्पूर्ण विधि केटाकै घरमा सम्पन्न हुन्छ । यो विवाह वस्तुतः प्राजापात्य विवाहको नै रुप हो । यस विवाह प्रति लोक मानस उदार दृष्टि तथा पिताको गरिबी प्रति सहानुभूति राख्दछ । कुनै कारणबस कसैको विवाह हुन न सकिरहेको अवस्थामा आफ्नो केटीसित जुन केटाको विवाह गर्दछन त्यसको सट्टामा त्यस केटाको दिदी वा बहिनीसित आफ्नो छोराको विवाह गर्दछन । यस प्रकारको विवाहलाइ गोलावट विवाह भन्दछन । यस प्रकारको विवाह विवाहको सट्टा विवाह हुन्छ ।
स्मृतिहरुमा यस प्रकारको विवाहको उल्लेख आठ प्रकारको विवाहमा भएको पाइदैन । समाजमा यस प्रकारको विवाहलाइ राम्रो मानिदैन किनकि दुइटै एक अर्काका पूज्य हुन्छन । समाजले आफ्नो पूज्यबाट पूजित हुनुलाइ राम्रो मान्दैन । यस प्रकारको विवाहलाइ अपमान सूचकको रुपमा पनि लिइन्छ । गोलावट विवाहमा दुइ पविार एकअर्काको केटासित आफ्नी केटीको विवाह गर्द छ भने छपोछिया विवाहमा तेश्रो पविारमा अर्को केटाको विवाह हुन्छ । तेश्रो परिवार पहिलो परिवारको सम्बन्धी हुन्छ । यसमा दुइजना एक अर्काका पूज्य हुदैनन् । आठवटा विवाहको प्रकारमा यस्तो विवाहको पनि उल्लेख रहेको पाइदैन । यो अति सामान्य प्रकारको विवाह हो ।
बेटी बेचल विवाहमा दुष्ट पिताले पैसाको लोभमा परेर आफ्नी छोरीलाइ बेचि दिन्छ । उसले आफ्नी छोरी अन्धो, गतवयः वा कुरुप बुढो मान्छेलाइ दि रहेको छ भन्ने पनि हेर्दैन । पैसा दिन सक्ने जसलाइ पनि उसले आफ्नी छोरीलाइ बेच्न सक्दछ । समाजमा यस्ता मान्छेहरुलाइ घृणाको दृष्टिले हेर्ने गरिन्छ । जनमानसको बिश्वास अनुसार यदि कुै पशुलाइ घाउ भएकोछ र त्समा किरा परेको छ भने यस्ता दशजना बेटी बेचवाको नाम लेखेर त्यस पशुको घॉटीमा बंधि दियो भने किरा भागि हाल्छ किन भने किराहरुले पनि पनि त्यसता मान्छेसित घृणा गर्दछ । स्वयंवरप्रथा लोक कथा वा गाथाहरुमा प्रशस्तै पाइए पनि हाल यो प्रथा लोकव्यवहारमा प्रचलित रहेको पाइदैन । स्वयंवर विधिमा कन्याले थुप्रै केटाहरुको उपस्थितिमा आफुखुशी उधिनेर वरमाला लगाइ दिएर आफ्नो वर आफै रोज्ने गर्द छन ।
हिन्दू विधिविधानमा विवाहका जे जति थरिका विवाहको रुप विद्यमान रहे पनि भोजपुरी समाजमा उपरलिखित किसिमका विवाहहरु प्रचलित रहेको पाइन्छ । ती मध्ये पनि समाजमा प्रायः सम्पन्न परिवारमा चढके विवाह तथा गरिब परिवारमा डोला काढके विवाहले नै प्रमुखता पाएको देखिन्छ । यदाकदा गोलावट, छपोछिया वा बेटी बेचवा जस्ता विवाहहरु सम्पन्न भएका पाइए पनि यस्ता विवाह प्रति समाजको राम्रो धारणा न रहेको अवस्था विद्यमान छ । यस्ता विवाह घृणित तथा निकृष्ट रुपमा रहेको हुनाले भोजपुरी समाजका घरानिया तथा इज्जतदार परिवारमा यसको पूर्ण निषेध रहेको पाइन्छ ।