काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। यसअघि पार्टीको नेतृत्व सम्हाल्दै आएका कमल थापालाई २ सय मतले पराजित गर्दै लिङ्देन एकता महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका हुन् ।
आइतबार बिहान सकिएको मतगणना अनुसार लिङदेनले १ हजार ८४४ मत पाएका छन्। त्यस्तै, थापाले १ हजार ६१७ मत पाएका छन्। राजेन्द्र लिङ्देन पार्टीको स्थापनाकाल देखिकै सदस्य थिए । विसं २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका लिङ्देनले २०३६ देखि राजनीति सुरुआत गरेका थिए।
उनले राजनीतिसँगै पढाइलाई निरन्तरता दिँदै राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । विसं २०४८ मा राप्रपाको विद्यार्थी सङ्गठन बन्दा संस्थापक केन्द्रीय अध्यक्ष बनेका थिए ।
जनताका बीचमा रमाउन चाहने यी विकासप्रेमी नेता स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस–३ बाट दुईपटकसम्म वडाध्यक्ष पनि बनेका थिए । राजनीतिमा अनेकौँ दुःख र कष्ट भोगेका उनी विसं २०६०र६१ मा तत्कालीन जिविस झापाको सभापतिसमेत बनेका थिए।
उनी विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गर्दै झापा क्षेत्र नं ३ बाट सांसद निर्वाचित भएका थिए ।
नवनिर्वाचित अध्यक्ष लिङ्देनले सिटौलालाई १३ हजार ४४३ मतान्तरले पराजित गरेका थिए । देशप्रेमी, विकासप्रेमी, भ्रष्टाचारविरोधी नेता अध्यक्ष लिङ्देन युवापुस्तामा प्रिय छन् । उनको प्रभावकै कारण स्थानीय तहका निर्वाचनमा जिल्लाका तीन तह गौरीगञ्ज, हल्दिबारी र केचनकवल गाउँपालिकामा राप्रपाले अध्यक्ष जितेको थियो ।
पार्टीको केन्द्रीय जिम्मेवारीमा रहँदा पनि उनले अधिकांश समय आफ्नो निर्वाचन क्षेत्रका जनतासँगै बिताए । पार्टीको केन्द्रीय सदस्य, महामन्त्री, सङ्गठन विभाग प्रमुखलगायत जिम्मेवारी सम्हालिसकेका उनले एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित भएका हुन्। -रासस