चितवन र पर्सा राष्ट्रिय निकुञ्ज आजदेखि राष्ट्रिय बाघ सर्वेक्षण (गणना) सुरुआत हुँदै छ।
चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित र आसपासका वन क्षेत्रमा बाघ पाइन्छ। चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर सर्वेक्षण गरिँदै छ । देशैभरको सर्वेक्षणको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जको सौराहामा आज विशेष कार्यक्रमका बीच सुरु गर्न लागिएको हो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा। रामचन्द्र कँडेलका अनुसार यही मङ्सिर २९ गतेबाट बर्दिया र बाँकेलाई समेटेर एउटा ब्लक बनाएर सर्वेक्षण गरिँदै छ। यहाँको टोलीले पहिलो दुई साता काम गरेपछि शुक्लाफाँटा र लालझाडी क्षेत्रमा सर्वेक्षण गर्ने छ।
उनका अनुसार बाघ गणना सम्पन्न गर्न करिब रु चार करोड खर्च हुने अनुमान गरिएको छ । गणकको सुरक्षाका लागि विशेष ध्यान दिइएको उनले बताए।
उनीहरुको प्रतिव्यक्ति १० लाखको बिमा गरिएको छ भने सुरक्षाका लागि निकुञ्ज सुरक्षार्थ नेपाली सेनासँगै रहने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिए। सुरक्षित ठाउँ छनोट गरी क्याम्प खडा गर्न लगाइएको छ । तालिमका समयमा कसरी सुरक्षित भई काम गर्ने भन्ने विषयमा समेत विषेश प्रशिक्षण दिइएको छ।
बाघ गणना सुरु हुनुअघि दुई दिन गणनामा सहभागी हुनेहरूलाई तालिम दिइएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा मात्र १२० प्राविधिक र सहयोगीहरुसँगै केही हात्ती गणनामा परिचालन हुनेछन्।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार गणकहरू निकुञ्जभित्र आफ्नो कार्यक्षेत्रमा क्याम्प खडा गर्ने काम सुरु गरेका छन् । कतिपय स्थानमा शनिबार क्याम्प खडा गरेर प्राविधिकहरु बसेका छन् भने कतिपय अहिले बिहान जाँदैछन् । १६ स्थानमा क्याम्प खडा गरेर प्राविधिकले आजबाट गणना थाल्ने उनले जानकारी दिए।
सन् २००८ देखि यहाँ राष्ट्रियस्तरको बाघ गणना सुरु गरिएको हो। दोस्रोपटक सन् २०१३, तेस्रोपटक सन् २०१८ र अहिले चौथोपटक बाघ गणना गर्न लागिएको हो। प्रमुख संरक्षण अधिकृत आचार्यका अनुसार हिउँदयाममा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयुक्त मानिन्छ । झाडी सुक्दै गएपछि बाघ घाँसेमैदानमा बस्ने हुँदा गणना कठिन हुने भएकाले यो मौसम छानिएको हो।
चितवन र पर्सालाई एउटा कम्प्लेक्स, बाँके र बर्दियालाई दोस्रो कम्प्लेक्स र शुक्ला र नजिकैको लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स अर्थात् ब्लक बनाएर बाघको गणना गर्न लागिएको हो । सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ वयस्क बाघ फेला परेका थिए । यतिबेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए । यो सङ्ख्या बढेको अनुमान छ। -रासस