धान काटिसकेपछि गहँु खेती गर्न किसान अहिले खेत जोती तयार गरिरहेका छन् । तर गहुँ छर्ने बेलामा आवश्यक पर्ने रासायनिक मलको अभाव छ । यो अहिलेको मात्रै समस्या होइन । बर्षेनी कृषकहरुले लगाएको धान बाली वा गहुँवालीको समयको समस्या हो ।
गहँु खेती गर्न खेतमा लगाईएको धान किसानहरु धमाधम काट्दै छन् । कतिपयले काटेर खेत जोतखन गरी तयार गरिसकेका छन् । किसानहरुलाई सहुलियत हुने दरमा सरकारले दिने महुँ, मल, खाद कृषकहरुले नपाउँदा गहुँ खेती गर्न समस्या भएको पर्साको जगरनाथपुरका किसान भोला कुर्मीले गुनासो गरे । एक विगाहा खेतीको लागि एक क्विनटल मल खादको सट्टा जम्मा ३० किलो मल खाद पाउँदा कसरी खेती गर्ने भन्दै अर्का किसान शिवनारायण साहको पनि गुनासो गरे । ‘‘एक त मल, खाद पाईरहेका छैन । अर्को दौडधुप गरेर पाए पनि त्यसले गहुँ खेती गर्न पर्याप्त नभएको उनले बताए ।
एक विगहा गहुँ खेतीको लागि बिउ छर्ने बेलामा नै २५ किलो नुुनमर्चा र डेढ बोरा अर्थात ७५ किलो डिएपी खाद र २५ किलो युरिया मल चाहिने बहुदरमाई नगरपापलिका वडा नं. ६ का अर्का किसान शिवनारायण महतो बताउँछन् । धान काटेर बाली भित्रियाएसंगै गहु खेती गर्न किसानलाई भ्याई नभ्याई हुन्छ । तर गहँु छर्ने बेलामा आवश्यक पर्ने मल, खादको हाहाकार भएपछि गहुँ छर्ने किसान बिचलीमा परेको महतोले बताए ।
गहँु खेतीको लागि प्रति कठ्ठा ५ किलो मल खाद चाहिन्छ र मैले २ विगाहामा गहुँ खेती गर्न जम्मा २ बोरा मल, खाद पाएको बहुदरमाई नगरपालिका वडा नं. ६ कै अर्का किसान रामानन्द महतोले बताए । उनले भने, ‘‘खेतीको लागि ४ बोराको ठाउँमा जम्मा २ बोरा मल खाद पाउँदा बाँकीको एक विगाहामा हामी कसरी गहुँ छर्ने ?’’ न त सरकारले उन्नत जातको गहँुको बिउ नै दिन्छ न त आवश्यकता पर्ने जति मल खाद ? हामीले आफ्नो घरमै राखेको गहुँको बीउ छरेर गहुँ बाली लगाउने गर्छाै । गहुँको बिउ रोपिसकेपछि यदि खेत अनुसार मल खाद दिईने भने खेत जोताई सहित घरबाट छरिएको गुहँुको बिउ र मेहेनत समेत खेर जाने उनको दुःखेसो छ ।
बहुदरमाई नगरपालिका वडा नं ५ बलिरामपुरका किसान योगेन्द्र प्रसाद यादवले सहकारीहरुले ल्याएको मल खादबाट १०/१२ बोरा जति बिक्रि गरेर बाँकीको मल खाद बल्याकमा बेच्ने हुँदा किसानहरुले पाउँने पर्ने जति मल खाद नपाएको आरोप लगाए । यादव यो वर्ष करिब ५ बिग्हा जग्गामा गहुँ छर्नको लागि तयार गरेका छन् । उक्त खेतीको लागि कमसेकम ५/६ बोरा मल खाद चाहिए पनि लगातार ५ दिनको दौडधुपले डेढ बोरा मात्रै मल खाद पाएपछि बाँकीको खेती बाँझो नै रहने चिन्ताले सताईरहेको किसान यादवले बताए ।
उनले भने, ‘‘हामीले ५ विग्हा गहुँ खेतीको लागि जम्मा डेढ बिग्हा जति खेतमा गहुँ छर्ने जति भ्याउने मल खाद पाउँदा बाँकीको खेती कसरी गर्ने ? कि त किसानलाई खेतीपातिको लागि आवश्यक पर्ने जति मल खाद सरकारले दिओस्, नत्र सरकार आफै आएर हाम्रो खेत जोतोस् ।’’ सरकारी अधिकारीसंग मिलेर सहकारीहरुले मल खाद ल्याएर महंगो दरमा अन्यत्र बेच्ने गरेकोले कृषि पेशामै निर्भर रहेका हामी जस्ता किसानहरुको खेत बाँझो भई बर्बाद हुने अवस्था आउने गरेको यादवले दुःखेको पोखे ।
कृषि सामग्री वीरगंजका प्रमुख गोरख केसीले गहुँ खेती गर्ने किसानहरुको लागि यो सिजनमा करिब १२/१३ टन मल खाद उपलब्ध गराइसकेको उनले दावी गरे । गत वर्ष गहुँ खेतीको लागि ७/८ टनसम्म मल खादले नै पर्याप्त भएको बताउँदै यो वर्ष दिईएको मल खादले पर्याप्त हुनु पर्ने बताउँछन् । प्रत्येक पालिकामा भएको सहकारी मार्फत किसानहरुको नाम संकलन गरी हामीले सहकारीलाई मल खाद दिएको उनले तर्क गरे । तर अहिलेसम्म मल खाद नपाएको कुनै पनि किसानको गुनासो नआएको उनले बताए ।
सरकारीहरुलाई दिइएको मल खाद स्थानीय प्रतिनिधीको रोहबरमा बितरण भईरहेकोले सहकारीले कालोबजारीमा मल खाद बिक्री गरिरहेको भन्न नमिल्ने उनले दावी गरे । उनले भने,‘‘यदि कुनै सहकारीले व्ल्याकमा मल खाद वितरण गरेको पाइए कडा कारबाही गर्ने छौं।’’
केषि ज्ञान केन्द्र पर्साका बागवानी अधिकृत श्याम किसोर प्रसादले गत वर्ष पर्सामा २६ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती भएको बताउँछन् । तर यो वर्ष अहिले धान काट्ने दाउने क्रम जारी र्नै रहेकोले हालसम्म पर्सामा १० हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती भएको तर्क गर्छन् । यो वर्ष किसानले मल, खाद नपाउनु र गहुँ उत्पादनको लागि आवश्यक पर्ने पोटास मल नहालेकोले यो वर्ष गहुँ उत्पादनमा समेत कमी हुन सक्ने अनुमान रहेको उनले तर्क गरे ।