वीरगंज । प्रहरीसम्म पुगेका श्रीमान् श्रीमतीबीचको झगडालाई विगतका दिनमा प्रहरीले समान्य सम्झाई बुझाईमा मुद्दा टुँग्याउने गरेको थियो । पीडित महिलाहरुका मुद्दा अदालतसम्म पुग्न पाउँदैन थिए । फलतः न्याय नपाउने निश्कर्ष सहित परिणाम आत्म हत्यासम्म पुग्ने गरेको पाइन्थ्यो । तर अहिले त्यो परिस्थिति बद्लिन थालेको प्रहरी र अदालतसम्म पुगेका मुद्दाको तथ्याँकले देखाउन थालेको पाइएको हो ।
तथापि महिला हिंसाका घटनामा अपेक्षाकृत रुपमा न्यूनिकरण नभए पनि मर्नु या हिँसा सहेर बस्नुभन्दा छुटिएर बस्नु राम्रो भन्ने सोच बढ्न थालेको जिल्ला अदालतका अधिवक्ता ध्रुपदेव कुर्मीले बताए । उनले भने मधेशका महिलाहरु सचेत हुन थालेका छन् त्यसैले हिंसाका घटना थोरै कम हुने बाटोमा गएको उनको तर्क छ । खासगरी सरकारी तथा गैर सरकारी संस्थाहरुले महिला हिँसाका विभिन्न कार्यक्रमहरु संचालन गर्न थालेपछि प्रतिफल थोरै परिवर्तन भई तराई मधेशका महिलाहरु पनि पहिला जस्तो हिँसा सहन बाध्य हुन छोडेको अधिवक्ता कुर्मीले बताए । तर सम्बन्ध विच्छेदका घटनाहरु भने बढ्न थालेको उनको भनाइ छ ।
जिल्ला अदालत पर्साको तथ्याङ्कमा पनि आ.व २०७६÷०७७ मा १ सय ६५ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको तथ्याँकले देखाएको छ । जसमा १ सय ४६ वटा त फछ्यौट नै भएको जिल्ला अदालत पर्साले जनाएको छ । त्यसैगरी अदालतसम्म हिंसाका मुद्दा पुग्न थालेपछि आ.व २०७७÷०७८ मा १ सय ८६ वटा मुद्दा दर्ता भएको पनि अदालतको भनाइ छ । ती मुद्दामा पनि १ सय ५४ वटा फछर्यौट भएको पर्सा जिल्ला अदालतको मुद्दा दर्ता फाँटका कर्मचारी रवि चौहानले बताए ।
यो आर्थिक वर्ष पनि अहिलेसम्म नै १ सय १ वटा मुद्दा दर्ता भइसकेको उनको भनाइ छ । जसमध्ये ६६ वटा त चालु आर्थिक बर्षमा पनि फछ्र्यैोट भईसके उनले भने । ३५ वटा भने अझै फछ्र्यैोट हुन बाँकी रहेको कर्मचारी चौहानले बताए । तराईका जिल्लाहरुमा महिला हिँसाका घटनाहरु धेरै हुने गरेको र त्यसमा पनि खासगरी वैदेशिक रोजगारमा गएका परिवारका महिला पुरुषहरुको विभिन्न कारणले बढि सम्बन्ध विच्छेदसम्मको मुद्दा प्रहरी र अदालतसम्म आउने गरेको स्थानीयको भनाइ छ । पर्सा जिल्ला अदालतमा पनि यसका अलावा लेनदेन, अंश, लिखत बदर लगायतका मुद्दाहरु बढी मात्रामा आउने गरेको अदालतको तथ्याँकमा उल्लेख गरिएको छ । गम्भीर प्रकारका मुद्दा अन्तर्गत जबरजस्ती करणीको मुद्दामा पनि विगत वर्षको तुलनामा बढेको जिल्ला अदालत पर्साले जनाएको छ ।
अघिल्लो आर्थिक बर्ष २०७६÷०७७ मा भन्दा २०७७÷०७८ मा मुद्दा बढि दर्ता भएको पनि तथ्याँकले आफै देखाएको छ । त्यो भनेको अघिल्लो आर्थिक बर्ष दर्ता भएका ४७ वटा मुद्दाको संख्या बढेर गत आव ०७७÷०७८ मा ५३ वटा मुद्दा दर्ता भएको पनि त्यसैले हो । जसमध्य २६ र ४१ वटा मुद्दा वसमेत फछ्र्यौट भएको अदालतले जनाएको छ । यसवर्षको ४ महिनामै हिंसा तथा जबरजस्ती करणीका २४ वटा मुद्दा दर्ता भएको पनि अदालतले जनाएको छ । जसमध्ये १७ वटा त फछ्र्यैोट भएको पनि कर्मचारी चौरसियाले बताए ।
उता पर्सा प्रहरीमा पनि घरेलु हिँसाको निवेदन लिएर पुग्ने पीडितको संख्या पहिलेका बर्षहरुभन्दा बढेको पर्सा प्रहरीको तथ्याँकले देखाएको छ । पर्सा प्रहरीको महिला तथा बालबालिका सेलको तथ्याँक अनुसार यस आर्थिक वर्षको हालसम्ममा नै २ सय २५ वटाभन्दा बढी घरेलु हिंसाको उजुरी परेको जनाइएको छ । जिल्लामा पछिल्लो पटक कर्तव्य ज्यान, बाल विवाह, बहुविवाह, श्रीमतीलाई खान लाउन नदिने, छोराछोरीको जन्मदर्ता नगरी दिने, विभिन्न आरोप लगाई हिंसा गर्ने घटना प्रहरी कार्यालयमा दर्ज हुन आएको तथ्याँकले देखिएको प्रहरीले जनाएको छ ।
अनुसन्धान गर्दै जादाँ दाईजोकै कारण कुटपिट गर्ने गरेको जस्ता हिंसाका मुद्दाहरु दर्ज हुन आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक ओम प्रकाश खनालले बताए । प्रहरी कार्यालयमा घरेलु हिंसाको तथ्याँक बढे पनि पर्सा जिल्ला अदालतसम्म भने जम्मा २९ वटा मात्रै मुद्दा दर्ता भएको जनाइएको छ । जसमध्ये ६ वटा फैसला भएसकेको र २३ वटा फछ्र्यौट हुन बाँकी रहेको बताइएको छ ।
खासगरी घरेलु हिँसामा प्रहरीले गाउँबाट आउने पीडितहरुका पक्षमै अनुसन्धान गर्ने गरेको प्रहरी नायब उपरीक्षक खनालले दाबी गरे । छोरा–छोरी पाइसकेको अवस्थामा सकभर श्रीमान्लाई सम्झाई बुझाई दिनु भन्ने पीडितको आग्रह अनुसार उनीहरुलाई त्यसै गर्ने गरेकोे उनको दावी छ । धेरै दुःख पीडा भयो भने मात्र अदालतमा मुद्दा दिन भन्छौं उनले भने । त्यसैले प्रहरीकोमा धेरै मुद्दा दर्ज हुने र अदालतमा कम पुग्ने गरेको तथ्याँक हुन सक्ने उनले तर्क गरे ।