वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाका किसान अहिले तरकारी खेतीमा व्यस्त भएका छन् । जिल्लाभरी मै सबैभन्दा बढि तरकारी खेती हुने बहुदरमाईको भौराटार, गम्हरिया र बिश्रामपुरका किसान तरकारी खेतीमा व्यस्त भएका हुन् ।
कृषि जोन घोषणा गरिएको बहुदरमाईमा मात्रै करिब २ सय विगाहा जग्गामा किसानले फूल कोभी, भण्डा, आलु, प्याज, टमाटर, खुर्सानी, बन्दा कोभी लगायतको खेती गरेका छन् । बहुदरमाई नगरपालिका वडा नं. ५ भौराटारका ३६ बर्षीय किसान निरन्जन महतोले विगत १० वर्षदेखि तरकारी खेतीलाई प्राथमिकता साथ गरेको बताए । अहिले आफ्नो गाउँ भौराटारस्थित ६ कठ्ठामा भण्टा खेती र १० कठ्ठामा बन्दा कोभी, मर्चा र टमाटरको खेती गरेको उनको भनाइ छ । यो वर्ष मात्रै नभई विगतदेखि नै तरकारी खेती गर्ने गरेको उनको भनाइ छ ।
१६ कठ्ठादेखि एक विगहासम्मको जग्गामा लगाइएको तरकारी खेतीले नै घर परिवार चलाउन सकेको उनले बताए । बन्दा कोभी, मर्चा र टमाटरको उत्पादनमा केही समय लाग्ने भए पनि भन्टा खेतीबाट अहिले आम्दानी भइरहेको छ उनले भने । भदौ महिनामा ६ कठ्ठा खेतमा करिब २५ हजारको लगानीमा गरेको भन्टा खेतीबाट केही दिन पहिलेदेखि बिक्री गरेर हालसम्म ५० हजारसम्मको आम्दानी गरिसकेको छु उनले थपे ।
उनले लगाएको भन्टाको उत्पादन चैत्र महिनासम्म हुने छ । तर अहिले चिसो मौषम भएसंगै भन्टा सुक्ने र किरा लाग्ने समस्याले महतोलाई सताइरहेको छ । कृषक महतोले भने, ‘‘ लगानी र धेरै मेहेन्तले गरिएको भन्टा खेतीले उत्पादन दिने बेलामा नै बोट सुक्ने र किरा लाग्ने भन्टाबाली नष्ट भइरहेको उनको गुनासो छ । अहिले विभिन्न विषादी छर्के पनि प्रतिफल खासै देखिएको छैन ।’’ ‘‘तरकारी बालीमा हुने रोग किराको बारेमा न त नगरपालिकाबाटै कुनै विषादीको व्यवस्था नभएको उनको गुनासो छ । सुरुमा बाली हरियो भए पनि फल्ने समयमै रोगले च्याप्दा मेहेनत र लगानी जतिको मुनाफा नहुने गरेको उनले बताए । बिज भन्डारबाट समेत विषादी खरिद गर्दा पनि कुन रोग हो भने यकिन हुन नसकी बाली उत्पादनमा क्षति हुने गरेको कृषक महतोको भनाई छ ।
भौराटाचकै अर्का किसान जलेश्वर सहनी भने फूल कोभी खेती तर्फ मनग्ये आम्दनी गर्न सकेको बताउँछन् । उनले ४ कठ्ठामा गरेको कोभी खेतीबाट हालसम्म ४५ हजारको बिक्री गरिसकेको बताउँछन् । डेढ महिना पहिले १६ हजारको लागतमा काउली खेती गरेका सहनी पुरै काउली वितरण गर्दासम्म एक लाखको आम्दनी गर्न सकिने अनुमान गर्छन् । काउली खेतीमा लाग्ने रोगको सहजै उपचार गर्न सकिने हुँदा यस खेती तर्र्फ खासै नोक्सारी नहुने गरेकोले लाभ लिन सकिएको उनको भनाइ छ ।
गम्हिरीयाका अर्का किसान रामदरस प्रसाद कुशवाहाले गरेको काउली खेती बिक्री गरेर अहिले सुर्ति खेती गरेका छन् । उनी मात्र नभई भौराटार, गम्हिरीया, बिश्रामपुरका अधिकांश किसानले गरेको काउली खेती दशैं, तिहारको बेला बिक्री वितरण गरेर अहिले सूर्ति खेती गरेको उनीहरुको भनाइ छ । सूर्य टोबाको कम्पनीले किसानले उत्पादन गरेको सूर्ति खरिद गरिदिने हुँदा पर्साका किसान पनि सुर्ती खेती तर्फ पनि आकर्षित भएको तर्क गर्छन् ।
अधिकांश मानिस कृषि पेशालाई नै जिविकोको पेशाको रुपमा लिइरहे पनि स्थानीय सरकारले भने किसान हितको लागि खासै ध्यान नदिएको किसानहरुको गुनासो छ । सरकार मातहतका कृषि प्राविधिक र स्थानीय जनप्रतिनिधीले सहयोग नगरिदिदा आफूहरु मारमा परेको उनीहरुको तर्क छ ।