सहकार्य अर्थात एक आपसमा मिलेर गरिने काम । यसै सहकार्यबाट विकसित हुँदै गएको रुप ‘सहकारी’ अन्ततः सहकारी ऋण तथा बचतसम्म झाँगिएर मुलुकको आर्थिक खम्बा मध्ये तेस्रो खम्बाका रुपमा परिभाषित समेत हुन थालेको छ । सानो सानो पूँजीहरुलाई संकलन गर्दै जीविकोपार्जनमा सहयोगी बनेको सहकारी त्यसैसँग आबद्ध संस्थाका सरोकारवालाले चाही कसरी बुझेका छन् ? अर्थात के भन्छन् ? भनी सहकारीको आवश्यकता किन र के का लागि ? भनी उनीहरुसँग लिएको प्रतिकृया :-
डिल्ली विक्रम कार्की (अध्यक्ष)
वीरगंज बचत तथा ऋण सहकारी संस्था लि.सहकारी भनेको एक आपसमा मिलेर गरिने कामलाइ जनाउँदछ । “सबैकालागी एक र एकका लागि सबै” भन्ने सिद्धान्तबाट अभिप्रेरित भै समान सामाजिक आर्थिक हैसियत भएका ब्यक्तिहरु मिली समान उद्देश्य प्राप्तिका लागी गठन गरिने सांगठनिक संस्था नै सहकारी हो । यसका सन्दर्भमा बिद्वानहरुका आ–आफ्नै धारणाहरु छन् । समग्रमा भन्नू पर्दा सामाजिक आर्थिक शैक्षिक उत्पिडनमा परेकाहरुको जीवनस्तर उकास्नु नै सहकारीको मुल मर्म हो । सानो होस् या ठूलो कुनै पनि काम एक्लैले गर्न मुस्किल या गर्नै नसक्ने हुन्छ । त्यसलाई सहज अनि सरल रुपमा गर्नका लागि व्यक्ति–व्यक्ति वा समुदायको आवश्यक्ता पर्दछ । त्यसैले कार्य सम्पादन गर्नको लागि सामुहिक प्रयासको सांगठनिक कार्यसम्पादन गरिने हुन्छ । हाम्रो परमपरालाई सम्झने हो भने अन्यत्र देशको सिको गरिराख्नु पर्दैन । सहकार्य अर्थात सहकारी जस्तै ः– अर्म पर्म, मर्दा पर्दा , जन्ती मलामी, पालो पैंचो जस्ता थुप्रै सहकारीका उदाहरणहरु छन् । समग्रमा सबै उद्देश्य प्राप्त गर्दै व्यक्ति, परिवार, समुदाय, समाजको शिक्षा दीक्षा, स्वास्थ, उद्योग व्यवसाय आर्थिक सामजिक उत्थानका साथै समग्र रास्ट्रको उन्नति र समृद्धिका लागि सहकारीको आवश्यकता छ ।
धिरेन्द्र राउत ( नि–व्यवस्थापक )
श्री गणेश बचत तथा ऋण सहकारी संस्था लि.
श्रीपुर ११ वीरगंज, पर्सासाझा हितको लागि एक आपसमा सहयोगी भावनाले स्थापना गरिएको सङ्गठन नै सहकारी हो । सहकारी संस्थाले समानका व्यक्तिहरुलाई शेयर सदस्य बनाई आवश्यकता अनुसार ऋण प्रदान गर्नुका साथै बचत गर्ने बानीको विकास गर्दछ । यसले रोजगारीको अवसर र्सिजना गरी जिवनशैलीमा पनि आर्थिक सुधार गर्दछ । वर्तमान समयमा सहकारीले सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा ठूलो टेवा पु¥याएको छ । समाजका व्यक्तिहरुको आर्थिकस्तर वृद्धि गर्न सहकारी एकदमै जरुरी हुन्छ ।
तस्विरन खातुन ( कार्यकारी प्रमुख )
सानोपाइला बचता तथा ऋण सहकारी संस्था लि.
सहकारीको मूल सिद्धान्त भनेकै सबैका लागि एक र एकका लागि सबै भन्ने हो । तसर्थ आवश्यक पर्दा कर्जा लिनुको साथै आफूसंग भएको बेला बचत गर्ने उपयुक्त ठाउँ सहकारी हो । यसमा दुईवटा पाटा छन् । एकतर्फ बचतकर्ता अर्कातर्फ ऋणी । आफूसंग पैसा भएको बेला निश्चित ब्याज पाउन साथै आफ्नो पैसा सुरक्षित राख्नको लागि सहकारीमा बचतकर्ताले पैसा राख्ने गर्छन् । जब आफ्नो व्यापार व्यवसाय बढाउन होस् वा कुनै समस्यामा पर्दा बचतको व्याजभन्दा केही बढी प्रतिशत व्याजमा कर्जा लिई नियमित किस्ता बुझाउन पनि सक्छन् ।
कर्जाकै कुरा गर्ने हो भने अहिले पनि धेरै बैंकहरुमा साना व्यक्ति अथवा व्यापारको पहुँच पुग्न सकेको छैन । उनीहरुको व्यापार व्यवसाय गर्ने इच्छा हुँदाहुँदै पनि धितो नभएर वा आवश्यक कागजपत्र नहुँदा खुम्चिएर बस्नु पर्ने हुन्छ । त्यस्ता स–साना व्यक्ति तथा व्यवसायीलाई समेत सहकारीले निश्चित नियममा बाँधेर कर्जा उपलब्ध गराइ उनीहरुको व्यवसायलाई टेवा दिइरहेको हुन्छ भने समय समयमा सीप विकास व्यक्तित्व विकासका तालिमहरु दिएर आफ्ना सदस्यहरुलाई दक्ष बनाउने काम पनि सहकारीले गरिरहेको हुन्छ ।
कुन्दन प्रसाद पाल (सचिव)
बिराटलक्ष्मी बचत तथा ऋण सहकारी संस्था
संगसंगै मिलेर गर्ने कार्य नै सहकारी हो । कुनै कार्य गर्न एक्लै सकिदैन । समुदायमा कसैसंग पैसा हुन्छ । कसैसंग सीप हुन्छ । तर सीप र पैसा हरेकसँग नहुन सक्छ । यो दुवैलाई फाइदा पुग्ने कार्य सहकारीबाट सम्भव हुन्छ । जो संग सीप छ । उसले पैसा हुनेले सहकारीमा लगाएको पैसा झिेकर सिपमा लगानी गर्न सक्छ । यसरी पैसा भएको व्यक्तिले गरेको सानो लगानीबाट उसलाई पनि अरु लाभ गर्न सीपले मद्दत गरिरहेको हुन्छ ।
सीप हुनेले सहकारीबाट केही रकम निकाली लगानी गरेर केही उत्पादन गरेर समाज र देशलाई सेवा गर्न समेत सक्छ । उसले आफ्नो आर्थिक स्थिति पनि उकास्न सक्ने भयो । सहकारी भनेको आफ्नै समुदाय भित्रको सीप र पैसालाई दुवै पक्षले सदुपयोग गर्न सक्ने माध्यम बनेको छ । जसको मालिक पनि उनीहरु नै हुने भए । यसको नियन्त्रण पनि स्वयमले नै गर्न पाउँछ । यसको नाफा पनि सेयर सदस्यहरुलाई नै बाँडफाँड हुने र ऋण लगानी पनि सदस्यलाई मात्रै गर्ने गरिएको हुन्छ ।
रविभुषण श्रीवास्तव (प्रबन्धक)
गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.समाजमा पहिलेदेखि फैलिरहेको आर्थिक विकृतिलाई रोक्नको लागि सहकारीको माध्यमबाट स–साना व्यापारी तथा व्यवसायीहरुलाई आर्थिक रुपमा सबल बनाउनको लागि हामीलाई सहकारी चाहिन्छ । सहकारीमा आवद्ध भई उहाँहरुले आर्थिक र व्यवसायीक रुपमा सवल बन्न सकिन्छ भन्ने हो । बजारमा चलेको चर्को व्याजबाट पनि बचाएको छ सहकारीले । खासमा भन्नु पर्दा आर्थिक समृद्धिको लागि सहकारी हो । अहिले विभिन्न टेक्नोलोजी र इन्टरनेटको विकासले गर्दा बैंकले दिने सबै सेवाहरु सहकारीले उपलब्ध गराउँदै आइरहेको छ ।
मनु पटेल (प्रबन्धक)
श्री विन्दवासिनीमाई बचत तथा ऋण सहकारी संस्था लि.
संगसंगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामुहिक प्रयासलाई नै सहकारी भनिन्छ । नेपाली समाजमा सहकारी ग्रामिण समुदायको एकता र समृद्धिको आधारको रुपमा रहेको छ । सहकारी व्यवसाय हो । तर यसमा स्वामित्व, नियन्त्रण, अधिकार, कारोबार मुनाफाको वितरण, कार्यक्षेत्रमा सुमदायकै स्वामित्व रहन्छ । हाम्रो जस्तो विकासोन्मुख देशमा सहकारी आर्थिक सामाजिक, विकास गर्ने दरिलो माध्यम भैसकेको छ । मानिसहरुसंग छरिएर रहेको श्रोत साधनलाई संगठित गरेर सहकारी मार्फत स्वरोजगारको सृर्जना, आर्यआर्जन र व्यवसायीक कार्य संचालन गर्ने माध्यम हो सहकारी ।
सिता कुमारी चासिले (पोखरेल) (अलौ १७ बचतकर्ता)सहकारी भनेको समूहमा मिलेर काम गर्ने संस्था हो । जसले आर्थिक अवस्था कमजोर भएका र पैसाको खाँचो परेका सेयर सदस्यहरुलाई रकम लगानी गरी व्यवसाय विस्तार गर्न र आत्मनिर्भर बनाउन सघाउँ पु¥याउँछ । महिला सशक्तिकरणको क्षेत्रमा पनि सहकारीको महत्व एकदमै रहेको छ । चुल्हो र चौकामा सिमित महिलाहरुलाई सहकारी मार्फत संगठित बनाई क्षमता वृद्धि तथा व्यवसायीक विकासमा सक्रिय बनाएको छ । हातमा पैसा नभएकाहरुलाई ऋण लगानी गरेर आत्मनिर्भर बनाई आफ्नो परिवार पाल्न सक्ने बनाउँछ । आफूसंग भएको सानो–सानो रकमलाई जम्मा गर्ने सहज खु्त्रुकेभन्दा पनि हुन्छ सहकारीलाई ।