बाराको जितपुर सिमराका स्थानीय हरिश्चन्द्र भगत र बिना देवी भगतका दोस्रो सन्तान हुन् डा. बिपुल भगत । एक दिदी दुई बहिनीका दाजु डा. विपुलले वीरगंजको ज्ञान ज्योति माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरेको बताए । त्यसपछि भने एमबीबीएस काठमाण्डौं यूनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सबाट र एम डी भने (ईन्टरनल मेडिसिन) कलेज अफ मेडिकल साइन्स भरतपुरबाट २०२० मा गरेका हुन ।
उनका बुबा वीरगंजको नारायणी अस्पतालमा ल्याब इन्चार्जको पदबाट अवकास प्राप्त ल्याब टेक्निसियन हुन् । शिक्षित बुबाका छोरा डा.भगत सुरुमा नेशनल मेडिकल कलेजमा र हाल नारायणी वयोधा अस्पतालमा कार्यरत चिकित्सक हुन् । परिवारीक माहोल औषधी पसल र स्वाथ्य क्षेत्रमै सम्बन्धित रहेकोले आफूलाई पनि स्वास्थ्य क्षेत्रतर्फ नै रुची भएर चिकित्सक बनेको उनको भनाइ छ। । । उनै डा. बिपुल भगतसँग गरिएको बिशेष कुराकानी :-
१) चिसो मौषममा हुने स्वास्थ्य समस्याका बारे बताइदिनुस् न !
चिसोमा कुनै रोगहरु हुने र भएका रोगहरु बल्झिने दुई थरीका स्वास्थ्य समस्याहरु हुन्छन् । चिसोमा हुने रोगहरु भन्नु पर्दा सामान्य रुघाखोकी, (नाक, कान घाँटीको समस्या, मुटु सम्बन्धी रोग, इनफ्लुयन्जा, भाइरल फ्लु, जोर्नीको दुखाई, छातीको संक्रमण, बल्झिने रोगहरुमा कुनै पनि दम हुन सक्छ । दमलाई मेडिकल भाषामा दुई भागमा बाँडिएको छ । एउटा चुरोट खाने मान्छेमा हुने सिओपिडी अस्थमा र अर्को बच्चैदेखि अस्थमा (दम) बढ्दै आउने ब्रोन्कियल अस्थमा (दम) । यी दुई मुख्य रोगहरु बढ्ने सम्भावना हुन्छ जाडोमा । योभन्दा बाहेक कहिलेकाहि प्यारालाइसेसका समस्याहरु देखिन्छन् । जाडोसंगसंगै फेरि कोभिडको नयाँ भेरिएन्ट पत्ता लागेको कुराहरु सञ्चार माध्यमबाट थाहा पाइरहेका छौ । जुन घातक हुन सक्ने सम्भावना छ ।
२) सामान्य रुघा खोकी हो कि कोरोना हो भन्ने चाही जाडोमा कसरी छुट्याउने ?
मौषम परिवर्तन भएसंगै मानिसको स्वास्थ्यमा सामान्य समस्या देखिनु स्वभाविक नै हो । तर अहिले कोरोनाको लहर चलिरहेको र मौषमी रुघाखोकी जस्तै लक्षण कोरोनाको पनि हुने भएकोले त्यसलाई सामान्य मान्छेले कसरी छुट्याउने भन्ने दुविधा हुन सक्छ । सामान्य रुघाखोकीमा मन्द किसिमको ज्वरो, रुघा, खोकी लाग्ने, नाकबाट पानी बग्ने, घाँटीमा समस्या हुने हुन्छ । यदि कोरोना छ भने हाइग्रेड ज्वरो आउने, ज्वरो आएको केही दिनमा सास फेर्न गाह्रो हुने, सुग्ने शक्ति हराउने, स्वाद हराउने, जीउहरु दुख्ने लगायतका लक्षणहरु देखा पर्दछन् । यस्तो भएमा हामीले कोरोना हो कि भनेर शंका गरिहाल्नु पर्छ र परिक्षण पनि गराउनु पर्छ ।
३) कुन उमेर समूहलाई बढी असर गर्छ मौसमी रुघाखोकी र कोरोनाले ?
मौषमी रुघाखोकी होस वा अन्य संक्रामक रोग त्यसले उमेर समुहलाई हेर्दैन । जो बढी चिसोमा एक्पोज हुन्छ । उसलाई समस्या हुन्छ नै । तर पनि वस्यकभन्दा पनि बढी वालवालिका र वृद्धवृद्धामा रोगप्रतिरोधात्मक प्रणाली कमजोर हुने भएकोले गर्दा बढी असर वालवालिका र वृद्धवृद्धामा देखिन्छ ।
४) यसबाट बच्न के गर्नु पर्छ ?
चिसोबाट बच्ने उत्तम उपाय भनेकै न्यानो भएर बस्नु । मौषम बदलिने समय भएकोले आफूलाई न्यानो राख्न तातो र बाक्लो कपडा लगाउने, चिसो खानेकुराहरु जस्तै दही, फ्रिजका खानेकुरा नखाने । सकेसम्म तातो पानी वा पेयपदार्थको प्रयोग गर्ने । आफूले प्रयोग गरिरहेको औषधी डाक्टरकै सल्लाहमा नियमित रुपमा खाने । बाहिरी धुलो धुवामा नजाने, चिसोमा काम नगर्ने, यो संगसगै जोडिएर आएको कोभिडको जोखिमबाट बच्न मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भिडभाडमा नजाने, सावधानी अपनाउने गर्नु पर्छ । अब नयाँ भेरिएन्ट आयो सतर्क हुनपर्छ । जब विश्वलाई थाहा हुन्छ अब सतर्क हुने बेला भयो । वास्तविक रुपमा रोग चाहि थाहा हुनुभन्दा दुई चार महिना अगावै सुरु भइसकेको हुन्छ । यो मेरो व्यक्तिगत अनुभव हो । मेरो आंकलनमा यो अहिले पत्ता लागेको भए पनि दुई महिना अघिबाटै सुरु भइसक्यो । त्यसैले यी रोगहरुबाट बच्ने धेरै उपायहरु हामीलाई थाहा भइसकेको छ । अघिल्लो पटकमा जस्तै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु पर्छ । तर वीरगंजमा एउटै मात्र ठाउँ छ । जहाँ परीक्षण हुन्छ । सरकारले नीजि स्वास्थ्य संस्थालाई स्वीकृति दिएको छैन । एकै ठाउँमा परीाक्षण हुने भएकोले समयमै परीक्षण र आइसुलेट गर्न समस्या भइरहेको छ । सरकारले पनि परीक्षणको दायरा बढाउनका साथै आवश्यक व्यवस्थापनमा जुट्न पर्छ ।
५) सामान्य रुघाखोकी वा ज्वरो आउँदा घरेलु औषधी वा मेडिकलबाट औषधी ल्याएर खाने चलन ठिक हो ?
घरेलु औषधी जस्तै बोझो, बेसार, अदुवा पानीको सेवनले स्वास्थ्यमा कुनै असर गदैन । सामान्य ज्वरो, टाउको दुखाई लगायतका स्वास्थ्य समस्यामा अस्पताल गएर जाँच गराएरै औषधीको सेवन गर्ने चलन हाम्रो नेपाली समाजमा बसिसकेको छैन । सामान्य औषधीहरु जस्तै पारासिटामोल, साइनेक्स, लगायतका औषधीहरु किनेर खाँदा खासै असर गर्दैन । तर ती औषधीको सेवनले पनि निको नभएमा अथवा एन्टिवायोटिक मेडिसिन चलाउनु परेमा डाक्टरकै सल्लाहमा औषधीको प्रयोग गर्नु उचित हुन्छ ।
६) अन्त्यमा थप के भन्न चाहनु हुन्छ ?
कोरोना कहर बढ्दै गएको आभाष भइरहेको छ । त्यसैले हामी अहिलेबाटै सजग भएर सर्तक रहनु पर्ने समय आइसकेको छ । यदि आज हामी सजग भएनौं भने हामीले ठूलै मूल्य चुकाउनु पर्ने हुन सक्छ । किनकी हाम्रो देश टेक्नोलोजि र स्वास्थ्य पूर्वाधारहरुमा विकसित भइसकेको छैन । हामीसंग धेरै मान्छे धान्न सक्ने अवस्था पनि छैन । त्यसैले आजकै दिनबाट हामी सजक रह्यांै भने भोलिका दिनमा आइपर्ने स्वास्थ्य जोखिमबाट बच्न सक्छौं ।