वीरगंज । पछिल्लो समय जनता समजवादी पार्टी (जसपा) पर्साका नेताहरु पार्टी छोड्ने क्रम बढेको छ । मधेश अन्दोलनबाट पर्साको ४ वटै क्षेत्र जितेर मधेशकै जिल्ला मध्ये पर्सामा सबैभन्दा बलियो देखिएको जसपा अहिले कमजोर बन्दै गएको छ ।
जसपा पर्साका चार जना नेता सोमबार नेकपा एमाले प्रवेश गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोट स्थित निवासमा जसपाबाट निर्वाचित पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष फूलमति देवी चौधरी सहित वडाध्यक्षहरुलाई एमालेमा प्रवेश गराएको नेकपा एमालेका नेता यसवन्त यादवले बताए ।
यस अघि पनि तत्कालिन संघीय समाजवादी पार्टी पर्सा क्षेत्र नं. २ बाट निर्वाचित संघीय सांसद विमल श्रीवास्तव, क्षेत्र नं. ३ को ‘ख’ बाट निर्वाचित प्रदेश सभाका सांसद प्रहलाद गिरी, पकहा मैनपुर गाउँपालिकाकी उपाध्यक्ष कुसुमा देवी कुर्मी, जिल्ला सदस्य एवम् सखुवा प्रसौनी गाउँपालिका निवासी पूर्व गाविस अध्यक्ष भूपदेव राय थारु, निर्वाचित वडा सदस्य इन्द्रदेव महतो थारु लगायतका नेताहरु जसपा पार्टी छोडिसकेका छन् ।
मधेश अन्दोलनपछि स्थानीय चुनाव, प्रदेश र संघीय चुनावको मुखमा पर्सामा जसपा प्रवेश गर्नेहरुको लहर नै चलेको थियो । उतिबेला जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवलाई पार्टी प्रवेश गराउन भ्याईनभ्याई थियो । तर अहिले स्थानीय तहको निर्वाचन चैत्र बैशाखसम्म हुने तय हुन थालेपछि पर्सामा जसपाका नेताहरु धमाधम पार्टी छोड्दै गएका छन् । जसपा पर्साका जिल्ला अध्यक्ष अहिले रामनरेश यादव छन् । केही महिना पहिले मुख्यमन्त्री लालबाबु राउतको सक्रियतामा केही ठाउँमा पार्टी प्रवेश कार्यक्रम गराएपनि जिल्ला अध्यक्ष यादवको नेतृत्वमा पर्सामा पार्टीमा जुट्नुको सट्टा छुट्दै गएको जसपा कार्यकर्ताहरुको प्रतिक्रिया छ ।
मधेश आन्दोलनदेखी पार्टीको संगठन बिस्तारमा समेत अहोरात्र खट्ने नेता कार्यकर्तालाई पनि निर्वाचित पदाधिकारी तथा जिल्लाका नेतृत्वहरुले सम्मान नदिदाँ जसपा पार्टी परित्याग गरेको जिल्ला सदस्य रामबाबु चौरसिया बताउँछन् । पार्टीको लागि चौरसियाले दिएको योग्दानको कदर र सम्मान नहुँदा नेकपा प्रवेश गर्ने बेलामा जसपा अर्थात मधेशी दल लुटेरा र भ्रष्टाचारीहरुको पार्टी भएको समेत उनले आरोप लगाउँदै पार्टी परित्याग गरेका हुन् ।
पछिल्लो समय पार्टीका जिल्ला, वडा कमिटिदेखी निर्वाचित प्रतिनिधीसम्मका पदाधिकारी धमाधम पार्टी छोड्दै गए पनि जिल्ला नेतृत्व भने मौन बसेको जसपा पर्साका नेताहरुको गुनासो छ । सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जयसवालसंग असन्तुष्ट भएर उपाध्यक्षले पार्टी छोड्ने केही महिने पहिलेदेखी हल्ला चलेपनि जिल्ला नेतृत्वले यसलाई गम्भिर रुपमा नलिएकै कारण चौधरी समुदायमा राम्रो पकड बनाएकी फूलमति देवी चौधरी पनि जसपा छोडेकी नेताहरुको गुनासो छ ।