गण्डकी अञ्चलको स्याङजा कृष्णगण्डकी गाउँका रुक्माङ्गत न्यौपाने र तारादेवी न्यौपानेको पहिलो सन्तानका रुपमा जन्मिएका हुन् डा घनश्याम न्यौपाने (परिश्रमी) । वि.सं.२०१५ साल असार १४ गते जन्मिएका उनी ६ वर्षको अत्यन्तै कलिलो उमेरदेखि नै साहित्यमा जोडिएको बताउँछन् । स्कूले जीवनको पहिलो कक्षामा भर्ना हुँदै कविता लेखेर विद्यालयमा सुनाउने परिश्रमीले नेपालीमा एमए, व्याकरणमा आर्चाय र गजलमा विद्यावारिधी गरिसकेको उनको भनाइ छ । त्रिविको सेवाबाट गत असारमा अवकाश भएका परिश्रमी अहिले विभिन्न खोजअनुसन्धान तथा साहित्य सृजनामा सकृय रहेको बताउँछन् । मुलतः गजलकार व्यातित्वका रुपमा स्थापित उनी समालोचक, एकाङकीकार, कवि, कथाकार, निबन्धकार, मात्रै होइन गीतकारका रुपमा पनि परिचित छन् । निकै सरल अनि मिजासिलो स्वभाव उनका अहिलेसम्म दुई दर्जनभन्दा बढि कृति प्रकाशित छन् ।
नेपाली गजलमा पिएचडी गर्ने परिश्रमी पहिलो नेपाली हुन् । २०४२ सालदेख निरन्तर गजल लेखनमा क्रियाशिल उनी गजल परिष्कार अभियानका अभियान्ता समेत रहेको बताउँछन् । परिश्रमको फल मिठो हुन्छ भन्ने सानैदेखि सुन्दै आएको शब्दकै कारण आफ्नो नामसंग परिश्रमी उपनाम जोडेको उनको तर्क छ । प्रगतिशील, यर्थातवादी दार्शनिक चिन्तन र रुढीवादीप्रति श्रृंगारिक आलोचना गर्ने वरिष्ठ गजलकार डा. घनश्याम परिश्रमीसँग मध्यनेपालकी गीता भण्डारीले गरेको बिशेष कुराकानी :
१) पछिल्लो समयमा यहाँ केमा व्यस्त हुनुहुन्छ ?
म त्रिविको सेवाबाट गएको असार ४ गतेदेखि अवकाश प्राप्त गरी यतिखेर घरमा छु । कुनै योजनाबद्ध कार्यमा लागेको त छैन, तर पनि सिर्जनात्मक र खोज अनुसन्धानका काममा लागिरहेकै छु । यसै बिच मेरो आफ्नै नगरी बर्दघाट नगरपालिका नवलपरासीले स्थानीय स्तरको पाठ्यक्रमानुसार पाठ्यपुस्तक लेखनका लागि जिम्मेवारी दिएको छ । त्यसमा पनि व्यस्त छु ।
२) सिर्जना भनेको के हो ?र सिर्जना कस्तो हुनुपर्छ ?
संक्षेपमा भन्नुपर्दा सिर्जना भनेको मूलतः साहित्य हो । त्यसैले यसलाई कलात्मक र भावसम्पृक्त भाषिक अभिव्यक्तिका रूपमा चिनिन्छ । यसलाई समाजको ऐना पनि भनिन्छ । अझ समाजलाई अन्धकारमा मार्गप्रशस्त गर्ने दीपकका रूपमा पनि लिइन्छ । सिर्जनामा खासमा समाजको चित्रण त हुन्छ नै, तर यत्तिले पुग्दैन । यसमा समाजको रूपान्तरण गर्ने शक्ति र सामथ्र्य पनि साधन पनि हुनुपर्छ । यसर्थ सिर्जना समाज सुधार तथा रूपान्तरणको साधन पनि हो र हुनुपर्दछ ।
३) यहाँका झन्डै दुई दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । पछिल्लो कृतिका बारेमा केही बताइदिनुहोस् न ?
मेरा हालसम्म दुई दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । तीमध्ये सबैभन्दा पछिल्लो कृति हो– निभेका शिखा नामक गजल सङ्ग्रह । यो २०७७ साल फाल्गुनमा प्रकाशित भएको हो । यस कृतिमा १ सय ३३ वटा गजलहरू छन् । यी सबै गजल बहरबद्ध छन् । झन्डै तीन दर्जन बहरहरू यी गजलमा प्रयोग भएका छन् । यसमा डा. नारायणप्रसाद शर्मा गैरेद्वारा गजलको सिद्धान्त र कृतिमा प्रयुक्त बहरहरूको विश्लेषण गरेर लेखिएको निकै लामो भूमिका पनि छ । गजल सिक्नेहरूका लागि पनि यो कृति निकै महŒवपूर्ण हुने देखिन्छ ।
४) साहित्यमा परिमाणात्मक कलम बढी चलेको देखिए पनि गुणात्मक विकास सोचेजस्तो छैन भनिन्छ नि ?
तपाईको जिज्ञासासँग म केही हदसम्म सहमत छु, सम्पूर्णतः भने होइन । । लेख्ने धेरै छन् वा हुन्छन्, तर स्तरीयता सबैमा हुँदैन । एउटै लेखकका पनि कुनै कृतिमा गुणात्मकता हुनसक्छ कुनैमा नहुन सक्छ, होइन र ? अधिकांश स्रष्टाहरूले रहरले कृति प्रकाशन गरेका हुन्छन् । यस्ता कृतिमा गुणात्मकताको अपेक्षा गर्नु पनि बेकार हुन्छ । तर न्यून प्रतिशतमा नै कमि नहोस्, गुणात्मक विकास नभएको भने होइन ।
५) साहित्य लेखनमा जीवन र संस्कारले कस्तो प्रभाव पारेको हुन्छ ?
जीवन र मृत्युका बारेमा अनेकानेक परिभाषाहरू छन्; अवधारणा र मान्यताहरू छन्; दर्शन र धर्मका दृष्टिकोणहरू छन् । यथार्थमा जीवनसँग मृत्यु सँगसँगै जोडिएर आएको हुन्छ । यसबिचमा खासगरी मानव जीवनसँग सम्बन्धित विविध संस्कारहरू हुन्छन् । लेखनमा पनि संस्कारको प्रभाव हुन्छ नै । जीवन साहित्य लेखनको महŒवपूर्ण पाटो हो । जीवन र यसका संस्कारविनाको साहित्यको कल्पना हुनै सक्दैन ।
६) पाठकवर्गले अत्यन्त रुचाएको नाम हो घनश्याम परिश्रमी; यो स्नेहलाई कसरी अक्षुण राख्नु हुन्छ ?
पाठकवर्गको म प्रतिको स्नेहलाई मैले अत्यन्त सकारात्मक रूपमा लिँदै आएको छु । हरेक स्रष्टाले ऊर्जा पाउने पाठकवर्गबाट नै हो । यो नै पाठकको स्नेह हो । यदि पाठकवर्गबाट स्नेह नपाउने हो भने लेखकको अस्तित्व नै रहँदैन । यसकारण पनि पाठकमुखी लेखनले पछिल्लो समयमा महŒव पाएको हो । यद्यपि मैले कविता, गीत, मुक्तक, कथा, निबन्ध, एकाङ्की, समालोचना र बाल रचना पनि लैख्दै आएको छु । तर पनि मलाई पाठकले बढी मात्रामा गजलमा मन पराउनु भयो । त्यसैले मैले आफ्नो लेखनको सर्वाधिक समय गजलमा नै व्यय गरिरहेको छु । पाठकको मन बुझेर नै मैले यस्तो कदम चालेको हुँ ।
७) साहित्यमा सबैभन्दा कठिन कार्य के हो जस्तो लाग्छ ?
पठकवर्गको मन छुने विषय तथा शैली र शिल्पको खोजी र तिनको सफल प्रयोग गर्नु सबैभन्दा कठिन कार्य हो ।
८) यहाँले बहरमा गजल लेखनको अभियान नै चलाउँदै आउनुभएको छ । यहाँले बहरहीन स्वतन्त्र गजललाई कसरी हेर्नुहुन्छ ?
गजल र बहरको सम्बन्ध नङ र मासुको जस्तै अन्योन्याश्रित छ । नेपाली भाषामा भने पुनर्जागरण कालदेखि बेबहरमा गजल लेख्न थालियो । मैले पनि सुरुसुरुमा त धेरै गजल बेबहरमा नै लेखेँ । तर गजल बहरमा लेखिन्छ भन्ने कुरा सिद्धान्तमा पढेपछि र यसको छन्दसँग निकटता रहेछ भन्ने बुझेपछि २०४४ सालतिरबाट नै बहरमा पनि फाट्टफुट्ट लेख्न थालेँ । जब गजलमा विद्यावारिधिको अध्ययन अनुसन्धान सुरु गरेँ, त्यसपछि भने म स्पष्ट भएँ । बहरबिना गजल हुँदैन भनेर । यसपछि मसँग सिक्न चाहने वा जिज्ञासा राख्ने हरेकलाई बहरमा लेख्न आग्रह गर्दै आएको छु । बेबहरमा लेखिएका वा तपाईंले भनेजस्तै स्वतन्त्र गजललाई गजलको सिद्धान्तविना नै लेखिएका गजल शैलीका रचनाका रूपमा सम्मान गर्दछु ।
९) साहित्यमा चारदशक लामो जीवन सुम्पेको व्यक्ति मात्रै नभएर गजलमा विद्यावारिधि गर्ने पहिलो नेपालीले हैसियतले साहित्यिक यात्राका बारेमा भन्नु पर्दा के भन्नु हुन्छ ?
यसबारे बोल्दा निकै लामो फेहरिस्त दिनुपर्ने हुन्छ । म मध्यम वर्गीय पठित पुरोहित ब्राह्मण परिवारमा २०१५ साल असार १४ गते जन्मिएको हुँ । ६ वर्षको उमेरदेखि साहित्यमा जोडिएको र १३ वर्षको उमेरमा नै परिश्रमी उपनाम राखेर लेख्दै आएको छु । अनि अहिले ६४ वर्षमा हिँड्दै गरेको उमेरसम्म निरन्तर साधनारत घनश्याम परिश्रमीको साहित्यिक यात्राका अनेकौं मोडहरू छन् ।
१०) मूलतः गजलका स्रष्टा र अनुसन्धाता तथा समालोचक, यति सहज ढङ्गले समयको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
म आफैलाई पनि कहिलेकाहीँ अचम्म लाग्दछ । कसरी व्यवस्थापन गरिरहेको छु भनेर । तर पनि हरेक पल भाषा, साहित्यको लागि समर्पित गरेको हुनाले भ्याएकै छु । मैले घर व्यवहारका लागि कहिल्यै समय दिइन । तासजूवा, सुर्तीचुरोट, जाँडरक्सी र खेलकुद आदिमा मेरो न आदत छ, न त रुचि नै । मेरो लत केहीमा छ भने त्यो हो फगत पढ्ने र लेख्ने । मेरो नसा हो लेख्नु ।
११) साहित्य क्षेत्रमा प्रवेश गर्दै गरेका युवापुस्तालाई साहित्य बारे बताउनु पर्दा के भन्नु हुन्छ ?
वास्तवमा म उपदेशक बन्न चाहन्नँ । सिर्जनात्मक क्षमतामा उपदेशको कुनै अर्थ रहँदैन पनि । तर कहिलेकाहीँ सुधार र परिष्कार, परिमार्जनमा सुझाव र सल्लाहले महŒवपूर्ण भूमिका खेल्छ । युवापुस्ताले गुणात्मक लेखनका लागि मूलतः धेरै अध्ययन गर्नु आवश्यक हुन्छ । अर्काले लेखिसकेका कुरा लेखेर हुँदैन । अर्काकै शैली र शिल्पको प्रयोगको अर्थ रहँदैन । नयाँनयाँ विषयको खोज र नवीन शिल्पर शैलीको प्रयोगमा गर्न सके मात्र युवापुस्ताका स्रष्टाको साहित्यिक जीवनको भविष्य उज्ज्वल हुनेछ ।
१२) नेपाली साहित्यका बारेमा मैले सोध्न छुटाएका र पाठकले सुन्नै पर्ने कुरा भए थप बताइदिनुस् न ?
नेपाली साहित्यकोस्तर अहिले सन्तोषजनक छ । आख्यानमा नवनव प्रयोग भइरहेका छन् । तर पनि विश्वसाहित्यको मानक स्वरूपका दृष्टिले हामी अझै धेरै पछाडी छौं । भरखरै भारतीय नागरिकका हैसियतले बसाइँ जस्तो कालजयी उपन्यासका लेखक लीलबहादुर क्षेत्री भारत सरकारबाट प्रदान गरिने उच्चस्तरको पद्म श्री पुरस्कारबाट सम्मानित भएका छन् । यो नेपाली स्रष्टाहरूले गर्व गर्ने विषय हो । संसारको जुनसुकै कुनाबाट लेखिएको भए पनि नेपालीमा लेखिएको कृतिले वैश्विक रूपमा अन्य भाषाभाषीहरूको पनि मन जित्न सके अबको लेखनको सार्थकता हुनेछ । म यस दिशामा नव लेखकहरूको ध्यान पुग्नु जरुरी देख्दछु । लेख्नका लागि मात्रै लेखेर हुँदैन, कालजयी कृति लेखनमा ध्यान पुग्नु आवश्यक छ ।