वीरगन्ज महानगरपालिकाले विधिवत उद्घाटन गरेको ‘ग्रीन हस्पिटल वेष्ट मेनेजमेन्ट सेन्टर’ औपचारिक सञ्चालनमा भने अझै केही दिन लाग्ने भएको छ । आवश्यक जनशक्ति र प्राविधिकको अभावमा वीरगन्जका अस्पतालहरुबाट निस्केको फोहोर व्यवस्थापन गर्ने केन्द्र सञ्चालनमा भने अझै केही दिन विलम्भ हुने भएको हो ।
यो सेन्टरको औपचारिक उद्घाटन भने गएको सोमबार वीरगन्ज महानगरपालिकाले गरिसकेको छ । कुल ६ करोड २२ लाख ७७ हजार ९ सय ८१ रुपैयाँमा निर्माण गरिएको सेन्टरको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले रिवन काटी विधिवत उद्घाटन गरिसकेका छन् । वीरगन्ज महानगरपालिकाका लागि फोहोर व्यवस्थापन नै प्रमुख चुनौतिहरु मध्ये एक रहेको समयमा यहाँका अस्पतालहरुबाट निस्कने फोहोरको व्यवस्थापन त्यतिकै चुनौति थियो । यो चुनौतिलाई सहज हल गर्न महानगरले चालेको कदम सह्रानीय रहेको अस्पताल संचालकहरुले पनि बताए । तर उनीहरुको तर्फबाट सकारात्मक सहयोग नभए योजना निर्माण हुनु र उद्घाटन हुनुले मात्र खासै अर्थ नराख्ने स्थानीयको तर्क छ ।
गएको असार १५ गते नै निर्माण सम्पन्न भएर बल्ल संचालनको लागि रिवन काटिएको फोहोर व्यवस्थापन केन्द्रको उचित कार्य सम्पादन हुनु पर्ने स्थानीय राम प्रवेश साहले बताए । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख सरावगीले पनि केही दिन भित्रमा नै सेन्टरको सञ्चालनका लागि बैठक बसी किनारा लगाउने बताए । हाललाई फोहोर व्यवस्थापन गर्ने ल्याण्डफिल्ड साइड हेर्ने ठेकदारलाई नै संचालनको लागि दिने र पछि प्रक्रियागत रुपमा टेन्डर आवहान गरी ठेक्का मार्फत काम अगाडी बढाउने उनको भनाइ छ । नियमित सञ्चालनका लागि पिपीपी मोडलमा जाने र कुनै नीजि क्षेत्रलाई दिने बारे नै महानगरले सोचेको महानगरको योजना शाखाका इन्जिनियर प्रकाश अधिकारीले पनि बताए ।
वीरगन्जका दुई दर्जनभन्दा बढी अस्पताल र दर्जनौं क्लिनिकबाट निस्किने फोहोर उक्त केन्द्रमा व्यवस्थापन गरिने बताई सेन्टरमा दुई वटा ‘अटो क्लेव’ तयारी अवस्थामा राखिएको छ । सेन्टरमा जडान गरिएका अत्याधुनिक अटो क्लेव नेपालकै सबैभन्दा ठूलो साइजको भएको सो जडान गर्ने कम्पनी अमृत जलुकेनी जेभीका प्रतिनीधि नवराज खड्काले बताए । अटो क्लेबको एउटाको साइज ३५१ लिटर क्षमताको रहेको उनको भनाइ छ ।
त्यसै गरी एकै दिन ४ टन फोहोर प्रशोधन गर्न सक्ने २१ किलोको वासिङ मेसिन पनि सेन्टरमा जडान गरिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । भविष्यलाई पनि लक्षित गरी थप फोहोर उत्सर्जन भए त्यसलाई स्टोर गरी पुनः व्यवस्थापन गर्ने पूर्वाधारसहितको सेन्टर बनाइएको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेले पनि बताए । नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट वीरेन्द्र प्रधानले यस क्षेत्रका अस्पतालहरुबाट निस्किएका फोहोर व्यवस्थापनमा गर्ने सेन्टर संचालनमा आउनु राम्रो पक्ष भएको तर्क गरे ।
२०७७ मंसिर २५ गते सम्झौता भई गत असार १५ मा निर्माण सम्पन्न भएको सेन्टरको सञ्चालनमा विलम्भ नभए हुने थिने चिकित्सकहरुको भनाइ छ । फोहोरमा पनि अस्पतालबाट निस्कने फोहोर निकै खतरनाक हुने भएकोले यसको व्यवस्थापनमा अस्पतालहरुले पनि सकारात्मक सहयोग गर्नु पर्नेमा स्थानीय बुद्धिजीबीहरुको सुझाव छ । यो सेन्टरका लागि विलम्ब नगरिने वीरगन्ज महानगरपालिकाका अर्का इन्जिनियर राकेश साहले पनि बताए । यसको संचालनका लागि पनि पीपिपी मोडलमा जाने महानगरको तयारी रहेको उनले पनि बताए । हस्पिटलको फोहोर कतिपय हस्पिटल आफैले केहस् आफै पनि व्यवस्थापन गरिरहेको छन् । बाँकी मेडिकल वेस्टेजहरु मनिसको स्वास्थ्य र वातावरणका लागि हानिकार नहुने गरी उठाएर महानगरले पनि व्यवस्थापन गर्दै आएको थियो । अब भने अझ व्यवस्थित रुपले व्यवस्थापन हुने वीरगन्ज महानगरपालिकाको सरसफाई महाशाखा प्रमुख सफूद्दिन मियाँले बताए ।
वीरगन्ज महानगरमा दर्ता भएका अस्पताल, पोलिक्लिनिक, डायग्नोष्टिक सेन्टर, एक्स रे, अल्ट्रासाउन्ड र फिजियोथेरापी गर्ने स्वास्थ्य संस्थाको संख्या १ सय ७४ वटा छ । त्यस बाहेक वीरगञ्जमा ३ सय ५० को हाराहारीमा स्वास्थ्य संस्था सञ्चालनमा रहेको अनुमान गरिएको उनको भनाइ छ । ती अस्पताल, पोलिक्लिनिक लगायत स्वास्थ्य संस्थाबाट दैनिक ४ दशमलव ७ मेट्रिक टन अस्पतालजन्य फोहोर निस्कने गरेको पनि अनुमान छ सरसफाई महाशाखा प्रमुख मियाँले भने । त्यसमा १ दशमलव ७ मेट्रिक टन टक्सिक (अति संक्रामक) फोहोर निस्किने गरेको अध्ययनले देखाएको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।
स्वास्थ्य संस्थाबाट निष्कने फोहोरलाई संक्रमित र असंक्रमित गरी दुई भागमा छुट्याउने गरिन्छ । संक्रमित फोहोर अटोक्लेव मेसिनमा राखेर निर्मलीकरण गरी किटाणु रहित भएपछि अरु फोहरमा मिसाइ ल्याण्डफिल साइटमा पठाउने दायित्व स्वास्थ्य संस्थाहरूको हुन्छ । तर वीरगन्जका स्वास्थ्य संस्थाले त्यसो नगरिदिंदा समस्या हुने गरेको वीरगञ्जको फोहोर संकलन तथा प्रशोधनको काम गर्दै आएको पृथ्वी तारा÷एनके इन्टरनेशनल जेभीका निर्देशक शिवजी गुप्ताले बताए ।
‘अस्पतालजन्य फोहोर ट्याक्टरबाट छुट्टै संकलन गर्छौं । दुई टनको हाराहारीमा संकलन हुन्छ,’ उनले भने, ‘तर संक्रामक र सामान्य फोहोर भनी छुट्टाइएको हुँदैन । सबै मिसिएर आउने गरेको छ ।’ त्यसरी फोहोर पठाउँदा व्यवस्थापन गर्न निकै कठिनाइ हुने गरेको उनको तर्क छ ।