केही समय यता सीमावर्ती जिल्लाहरुमा हतियार सहित युवाहरु पक्राउ पर्ने क्रम बढेको छ । नेपाल भारत दुवै देशमा कोरोनाको कारण सुरक्षाकर्मी उता बढि केन्द्रित भएको मौका छोपी अपराधमा संलग्न हुने र भएका व्यक्तिहरु पूनः हतियार सहित पक्राउ पर्ने क्रम सुरु भएको पाइएको छ ।
गएका पाँच दिनमा चारवटा गोली लोडेड साना हतियार सहित सुनसरी, धनुषा र बाराबाट चार भारतीय युवा र एक नेपाली युवा पक्राउ परेका छन् । पाँच दिनमा सीमावर्ती यी जिल्लामा यति धेरै हतियार र व्यक्ति पक्राउ पर्नु निश्चय पनि राम्रो संकेत होइन । यसले आगामी दिनमा फेरि पनि नेपालमा अपराधका घटना बढ्न सक्ने सम्भावनालाई इंगित गएको छ ।
फेला परेका हतियारहरुमा पनि अटोमेटिक पेस्तोल र गोली लोड हुनु अझ खतरनाक अवस्थाको संकेत मानिन्छ । गएको पुस ११ गतेदेखि १५ गतेको बीचमा पछिल्लो पटक बिहिबार साँझ बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ नहरचोकबाट दुई भारतीय युवा पक्राउ परे । पक्राउ पर्ने युवा भारतको पूर्वी चम्पारण मोतिहारी डेकाग्राम पञ्चायत वडा नम्बर १३ बस्ने बर्ष २१ का चन्दन राम र सोही ठाउँका बर्ष २० का अभिशेक कुमार रहेका छन् । त्यसै गरी गएको १२ पुसमा पनि सुनसरीको लौकहीबाट प्रहरी टोलीले भारतको बिहार अररिया, बासमटियाका ३५ वर्षीय विद्यानन्द राम र २४ वर्षीय हासिम अंसारीलाई पनि लोड गरिएको दुई थान पेस्तोल सहित स्थानीय बीएस होटलबाट पक्राउ गरेको थियो ।
त्यसको भोली पल्ट फेरि सुनसरीकै इटहरी उपमहानगरपालिका १२ खनारबाट पनि कोशी गाउँपालिकाका एक युवक गोली लोड गरिएको पेस्तोल र म्याग्जीन सहित पक्राउ परे । ११ पुसमा पनि धनुषाबाट लोड गरिराखेको पेस्तोल मात्र बरामद भयो । अभियुक्त भने भाग्न सफल भएको प्रहरीले आशंका गरेको छ । यस्तो भेटिनु सुरक्षाका दृष्टिकोणले निकै सम्वेदनशिल मानिन्छ । यहि गतिमा साना हतियार भित्रिदै छन् र प्रयोग हुने हो भने त्यसले फेरि नेपालमा अपराधले शिर उठाउने कुरा प्रष्ट छ ।
हतियार सहित पक्राउ परेका युवाहरुमा पनि पेसेवर समेत रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाउनु अर्को खतराको संकेत गरेको छ । यसरी पाँच दिनको अन्तरालमा गोली लोड गरिएका चार साना हतियार र चार भारतीय सहित एक नेपाली पक्राउ पर्नुले सीमावर्ती जिल्लामा फेरि भारतीय अपराधीहरुको आगमन बढ्न थालेको पनि संकेत गरेको प्रहरी अनुमान छ ।
अभियुक्तहरुलाई सशस्त्र प्रहरीले पक्राउ गर्न त नेपाल प्रहरीलाई पनि सघाउँछ । तर अनुसन्धानको पाटो नेपाल प्रहरीको भएको कारणले अब नेपाल प्रहरीलाई अनुसन्धानमा निकै चनाखो हुन नैतिक दवाव परेको छ । सीमाको सुरक्षा गर्ने काम सशस्त्र प्रहरीले गर्ने र अनुसन्धानको पाटो नेपाल प्रहरीले गर्ने हुँदा अब नेपाल प्रहरी योजनाबद्ध तरिकाले अनुसन्धानमा सकृय हुन जरुरी देखिन्छ । विगतमा भारतीय अपराधकर्मी नेपाल प्रवेश गर्दा सीमावर्ती जिल्लामा निकै अपराधका घटना भएका थिए । तर नेपाल भारत दुवै तर्फका सुरक्षाकर्मीको सकृयताले त्यसलाई निश्तेज पार्न सफलता मिलेको थियो ।
अपराध गर्नेको निश्चित भौगोलिक दायरा नहुने र उसले जहाँ पनि अपराध गर्न सक्ने हुँदा नेपाली वा भारतीय जो कोही अपराधकर्मी भए पनि सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीको सहकार्यले मात्र फलदायी परिणाम निस्कन सक्छ । समयमा नै यतातर्फ ध्यान दिन आवश्यक छ ।