पर्सामा गतसाता दुई दिनको अवधिमा तीन जनाको हत्या भयो । हत्यामा संलग्न व्यक्ति पहिचान भए पनि केही सीमा पारी भारतमा पुग्दा प्रहरीको फन्दामा पुग्न पाएका छैनन् । सीमा क्षेत्रमा हुने अपराध अनुसन्धानमा दुबै मुलुकको समन्वयको अभाव भए अपराधीहरु यता अपराध गरी उता र उता अपराध गरी यता आएर लुकेर बस्ने चलन पुरानो होइन । पर्सामा पछिल्लो समयमा भएका घटनामा पनि सन्दिग्धहरु सीमा पार हुँदा अझै केही उम्किदै आएका हुन् ।
पुस २२ गते भारत विहार वैशाली जिल्ला महुवा ग्राम पञ्चायत स्थायी घर भई ०६३ पछि नेपाली नागरिकता बनाएर वीरगंज महानगरपालिका वडा नं. ३ मा बस्दै आएका ई रिक्सा चालक मुख्तार मियाँको हत्या भएको भेटियो । २३ गते पुसमा नै वीरगंज महानगरपालिका वडा नम्बर १५ भिष्वामा डेरा गरी बस्ने सरोज कुशवाहाकी छोरी रिजवाना खातुनको र जगरनाथपुर गाउँपालिका–६ सन्ठीका स्थानीय नागेश्वर पटेलका १२ वर्षीय छोरा मन्टु पटेलको हत्या भएको खुलासा भयो ।
ती हत्याका प्रायः सबै अभियुक्तहरुको पहिचान पर्सा प्रहरीले गरिसकेको छ । तथापि प्रहरीले ५ दिन भित्रै मुख्य अभियुक्तहरुको पहिचान गरिसके पनि उनीहरु उम्किदै आएका छन् । विभिन्न तथ्य प्रमाण, सिसि क्यामरा, क्रस भेरिफिकेशन र अपराधमा सघाएकाहरुको पोलिग्राफ चेकजाँच गरेर आरोपितहरुको पहिचान नहुने भन्ने हुँदैन । तर छिमेकी मुलुक भारतमा उनीहरु फरार हुदाँ पक्राउ गर्न भने केही समय लागिरहेको छ ।
तीन वटै घटनामध्ये पुस २२ गते भारत विहार वैशाली जिल्ला महुवा ग्राम पञ्चायत हाल वीरगंज महानगरपालिका वडा नं. ३ मा बस्दै आएका ई रिक्सा चालक मुख्तार मियाँको हत्यामा संलग्न रहेकाहरु ६ जना मध्ये यो हत्याकै लागि नेपाल आएका एक अभियुक्त भने उतै छन् ।
घटनामा पर्सा प्रहरीले मियाँको चिनजानकै साथी नाता पर्ने २ जना मुख्य आरोपी सहित ५ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक पनि गरिसकेको छ । जसमा भारत विहार राज्य पुर्वुचम्पारण मोतीहारी ६ घरभई छपकैया मै बस्दै आएका ३० वर्षिय सुनिल कुमार र बाराको परवानीपुर गाऊँपालिका ५ बस्ने २२ वर्षिय निकेश पटेल रहेका छन् । त्यसैगरी हत्यामा सघाएका भारत विहार जिल्ला मुंगेर थाना हवेली खडपपुर ग्राम बैजरपुर ३ हाल वीरगंज महानगरपालिका वडा नम्बर ३ हाल छपकैयाँ बस्दै आएका ५५ वर्षिय सपन मण्डल, त्यसैगरी विहार नै घर भएका हाल वीरगंजको छपकैयाँ बस्ने ३५ वर्षिय बक्सर भन्ने नाजिर हुसैन र छपकैया ३ बस्ने ५० वर्षिय बाबर हुसैन रहेका छन् । यस घटनामा सम्लग्न मध्ये मुख्य व्यक्ति उता हुँदा प्रहरीलाई थप अनुसन्धानमा बल मिलेको छैन ।
यसैगरी वीरगंज महानगरपालिका वडा नम्बर १५ भिष्वामा डेरा गरी बस्ने सरोज कुशवाहाकी छोरी रिजवाना खातुन मृत अवस्थामा फेला परिन् । पर्सा प्रहरीले पारिवारीक स्रोतबाटै उनको हत्या भएको भन्दै अनुसन्धान ग¥यो । अनुसन्धानबाट मुख्य आरोपित पहिचान हुदाँसम्म भारत फरार भईसकेको खुलेको छ । यस्तै जगरनाथपुर गाउँपालिका–६ सन्ठीमा स्थानीय नागेश्वर पटेलका १२ वर्षीय छोरा मन्टु पटेलको हत्यामा संलग्न मुख्य आरोपित समेत भारत फरार भएका छन् । गाउँको पूर्वपट्टी उखुबारीमा गम्छाले बेरिएर राखेको अवस्थामा ती बालकको शव फेला परेको थियो ।
खुल्ला सिमानाको मौकाको फाइदा उठाउँदै भारतका अपराधी नेपाल र नेपालका अपराधी भारत फरार हुने परिपाटी निश्तेज पार्न दुवै तर्फका सीमा क्षेत्रका प्रहरीको समन्वय आवश्यक पर्छ । खुल्ला सिमानाका कारण फरार अपराधीहरु पक्राउ पर्न नसकेको भनी तत्काल प्रहरीले जनाए पनि दुवै तर्फका प्रहरीको समन्वय कायम राखिने पर्साका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले बताए । हरेक घटनामा अपराधी भारत फरार हुने र कुर्नु पर्ने बाध्यता हटाउन पनि सीमा क्षेत्रका प्रहरीको सहकार्य अपरिहार्य रहेको स्थानीय बुद्धिजिबीहरुले पनि बताएका छन् । जिल्लामा हुने हरेक घटनामा सिमापारीका भारतीय प्रहरीसंग समन्वय गर्न नसक्ने हो भने अपराधीहरु सजिलै उम्किन सक्ने उनीहरुको तर्क छ । विगतमा दुवै देशका प्रहरीहरुको समन्वय हुँदा ठूल्ठूला अपराधी पनि नियन्त्रणमा लिएका उदाहरणहरु हेर्दै पर्सा प्रहरीले समन्वयको कार्यलाई गति दिन आवश्यक रहेको स्थानीयको सुझाव छ ।