नेपालको दक्षिणी छिमेकी मुलक भारतमा कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको छ । खुल्ला सीमाना भएको नेपालमा सरकारले संक्रमण रोक्न देशका प्रमुख नाका वीरगंज सहित भैरहवा, विराटनगर र नेपालगञ्जमा समेत हेल्प डेस्क राखिएको छ । तर त्यहाँको जाँच प्रकृया र हेल्प डेस्कको दयनीय अवस्थाले भने राज्यको पूर्व तयारी फितलो देखिएको हो ।
कोरोना महामारीले विभिन्न देश अक्रान्त हुदैँ जाँदा सरकारले मुलुकका विभिन्न सीमा नाकामा हेल्प डेस्क स्थापना र होल्डिङ्ग क्याम्पको ठोस तयारी गरिसक्नु पर्ने थियो । नेपालको सन्दर्भमा पनि मुलुकको प्रमुख भन्सार नाका वीरगन्जमा हेल्प डेक्स चाही राखेको छ । तर दैनिक हजारौं मानिसको अवागमन हुने यो नाकामा राखिएको हेल्पडेक्सको पर्याप्त व्यवस्थापन र स्तरीयतामा भने झारो टार्ने काम मात्र भएको प्रत्यक्षर्शीहरुले बताए । कमसेकम हेल्प डेस्क राखिएपछि त्यस क्षेत्रबाट हुने मानिसको आवागमनको संख्या हेरी सोही अनुपातमा स्वास्थ्यकर्मी र दक्ष जनशक्ति राख्नु पर्नेमा वीरगन्ज नाकाको हकमा २५ प्रतिशत मानिसको पनि निगरानी हुन नसकेको उनीहरुको तर्क छ । पर्याप्त जनशक्ति र पूर्वाधार विनाको तयारीले हरेक दिन नाकाबाट नै संक्रमित छिरिरहेको हुन सक्ने प्रत्यक्षदर्शीको भनाइ छ ।
तीन सिफ्टमा चिकित्सकहरु खटाइएको भने पनि संक्रमित आउने बाटोको ठोस व्यवस्थापनमा अझै कमी रहेको नाका खटेका स्वास्थ्यकर्मीले पनि बताए । बाहिरबाट आउने मानिसलाई रोक्ने र हेल्पडेक्ससम्म ल्याउने जनशक्ति यतिले पुग्दैन उनीहरुले भने । देशको प्रमुख प्रवेशद्वारा वीरगंजमा पहिलो चरणमा ३ हजार १ सय ८४ जना संक्रमित भएका थिए भने ५५ जनाको मृत्यु भएको थियो । दोस्रो चरणमा ३ हजार ५ सय २२ जना संक्रमित र १ सय ४२ जना नागरिकले ज्यान गुमाएका थिए । तेस्रो भेरियेन्ट आइसक्दा पनि यो नाकाको कडाईमा कमी रहेको पाइन्छ ।
परिक्षण गरेपछि हात धुने र बाथरुममा समेत पोजेटिभ र नगेटिभ केशका सबै मानिसले प्रयोग गर्ने शौचालय समेत अलग नभएको समयमा स्वास्थ्यकर्मी नै सुरक्षित हुने अवस्था नरहेको हेल्प डेस्कका ईन्चार्ज डा. अनिता महतोले बताइन् । भन्सारस्थित हेल्प डेस्कमा कठ्ङ्ग्रिदो सितलहरमा पाल झुण्डयाइएको छ जसमा एकजना डाक्टरको जिम्मेवारीमा, २ जना स्टाफ नर्स, २ जना हेल्थ एसिस्टेन्स, ४ जना ल्याब एसिस्टेन्स र २ जना अफिस एसिस्टेन्स खटाइएको छ । यात्रु चेकजाँच र संक्रमित भएको खण्डमा तिनीहरुलाई गन्तव्यसम्म पठाउनु पूर्व राख्ने ठाउँको पनि अभाव छ । होल्डिङ्ग क्याम्प पनि तेस्रो लहर आइपुग्दा पनि अझै निर्माण सम्पन्न भइसकेको छैन । दैनिक हजारौँ ओहरदोहर गर्ने प्रमुख नाका रहेको हेल्प डेस्कमा न त यात्रुहरु आउदाँ बस्ने प्रतिक्षलय छ, न त बच्चा भएका महिलाहरुका लागि स्तनपान गराउन सक्ने खालको व्यवस्था । शौचालय समेत एउटै रहेकाले आउने जाने र चिकित्सकहरु पनि संक्रमणको उच्च जोखिम पर्न सक्ने हेल्प डेस्कका स्टाफ नर्स सुनन्दा सिंह बताउँछिन् ।
हेल्थ डेस्कमा कहाँबाट आएको त्यसको आधारकार्ड, र जाने स्थान सोधेर वहाँहरुको डाटा कलेक्सन गर्ने र चेकजाँच गरेर नगेटिभ आए नेपाल भित्रन दिने र पोजेटिभ आएका भारतियलाई नेपाल प्रहरीको पहलमा फिर्ता पठाउने गरेको हेल्प डेस्कका कर्मचारीले बताए । नेपालमा फेब्रअरीमा ओमिक्रोन फैलिने चिकित्सकहरुको आकलन रहे पनि यसको सर्तकताका लागि अझै प्रभावकारी कदम भने सरकारको तर्फबाट चालिएको छैन ।
क्याम्प सम्पन्न हुन अझै तीन महिना लाग्ने
वीरगन्ज नाका उत्तर तर्फ वीरगंज – १६ इनर्वाको भन्सार क्षेत्रमा निर्माणाधिन रहेको होल्डिङ्ग सेन्टर सम्पन्न हुन अझै चैतसम्म पर्खनु पर्ने भएको छ । भारतको विभिन्न सहरमा कोभिड संक्रमितको संख्या बढ्दै जादाँ नेपालमा भने यसको व्यवस्थापनमा अझै राज्यपक्ष यति लोसे भएको हो ।
भारत लगायत तेस्रो मुलुकबाट आउने खुल्ला सीमाको फाइदा उठाउँदै नाकाभन्दा बाहिरबाट पनि आइजाइ गर्छन् । नाकाबाटै आउनेहरुको लागि त उचित निगरानी राख्न नेपाल सरकारले ठोस मापदण्ड बनाइसक्नु पर्ने स्थानीय बुद्धिजिबीहरुको पनि तर्क छ । तथापि यसको व्यवस्थापन हुन नसक्नु बिडम्वना भएको उनीहरुको भनाइ छ । नेपाल सरकारको लगानीमा नेपाली सेनालाई जिम्मा दिइएको होल्डङ्ग सेन्टरमा अहिले विजुली बत्ती, झ्याल, पंखा लगायत जडान गर्न बाँकी नै छ ।
श्री हनुमान कन्स्ट्रक्सनले निर्माण गरिरहेको होल्डिङ्ग सेन्टर सम्पन्न हुन मुख्य बाधा बजेट अभावको रहेको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए । २०७८ असार ३ गते सम्झौता भएर निर्माण सुरु भएको होल्डिङ्ग सेन्टरमा पौष मसान्तमा बजेट नआएपछि कामदारहरु फर्किएर गएको उनले बताए । समयमा नै बजेट आएको भए अहिले सम्म होल्डिङ्ग क्याम्पको निर्माण सम्पन्न भइसक्ने उनको तर्क छ ।