रामाज्ञा चतुर्वेदी, मा. आशा चतुर्वेदीका तीन सन्तान मध्यका माइलो सन्तान हुन् डा अभिशेक चतुर्वेदी । ललितपूर स्थित रहेको आदर्श विद्या मन्दिरबाट माध्यमिक तह उतीर्ण गरेका उनले बिराला पब्लिक स्कुल, राजस्थानबाट उच्च माध्यमिक र अखिल भारतीय आयुर्विज्ञान संस्थान न्यू दिल्ली (एम्स्) बाट एम.वि.वि.एस पूरा गरेका हुन् । अमेरीकाबाट न्यूरो सर्जरी सम्बन्धी स्पेशल ट्रेनिङ्ग लिएका उनी हाल नारायणी वयोधा अस्पतालना वरिष्ठ न्यूरो सर्जनका रुपमा कार्यरत छन् । मध्य नेपालले उनै बरिष्ठ न्यूरो सर्जन डा. अभिषेक चतुर्वेदीसँग ढाड दुख्ने समस्याको बारेमा गरिएको कुराकानी :
ढाड दुख्ने समस्या : ढाड दुख्ने समस्यालाई बुझ्न, ढाड तथा मेरुदण्डको रचना र व्रिmयालाई थाहा पाउँन जरुरी हुन्छ । मेरुदण्ड ३३ वटा अलग–अलग हड्डीहरुको दण्डाकार संरचना हो । यी हड्डीहरुलाई आपसमा इन्टर भट्टेब्रल डिक्स भनिने लचकदार संरचनाले छुट्याइएको हुन्छ भने लिगामेन्टले अलगअलग हड्डी तथा डिक्सहरुलाई बाँधेर एउटै लामो दण्ड बनाएर राख्छ । मेरुदण्डमा टाँसिएका मांसपेसीले ढाडलाई मोड्न तथा चलाउनलाई सहयोग गर्छ ।
ढाडका हड्डीमा स्पाइनल क्यानल नामक लामबद्ध प्वाल हुन्छन् जसबाट (स्पाइनल कर्ड) मुख्य स्नायु नसा गएको हुन्छ र हरेक हड्डीको दायाँ बाँया स्पाइनल फोरामिन हुदै स्पाइनल कर्डबाट स्पाइनल नर्भहरु निस्किएका हुन्छन् । यी नशाहरु ढाडको स्पाइल कर्डबाट सुरु भएर शररिका विभिन्न भागसम्म पुग्छन् । जसले शरीरका विभिन्न अंग चलाउनका साथै तातोचिसो, दुखाइ, कम्पन्न स्पर्श आदि थाहा पाउँन मद्दत गर्दछ । ढाडको हड्डीहरुको बिचमा रहेको इन्टर भर्टेवल डिक्सले हड्डीहरुलाई एकआपसमा घर्षण हुन नदिनुका साथै ढाडमा पर्ने झट्का तथा दवावलाई नियन्त्रण गर्छ ।
कारण : ढाड दुख्ने समस्या पनि यिनै डिक्स, हड्डी र नसाको अन्तरसम्बन्ध छ । यी डिक्सहरुले आफ्नो ठाउँ छाड्दा मेरुदण्डको मुख्य नसा (स्पाइनल कर्ड) तथा कर्डबाट निस्किएका नसाहरु च्यापिन पुग्छन् । सामान्य तया अर्धबैसे वा त्यो भन्दा माथिल्लो उमेर समूहका व्यक्तिहरुमा ढाड दुख्ने समस्या देखिन्छ । तर अहिलेको जीवनशैली रहनसहन र कामको प्रकृतिका कारण ढाड दुखाईको समस्या वयस्क अवस्थाका व्यक्तिहरुमा पनि देखिन थालेको छ ।
संसारमा १० जना ४० वर्ष माथिका व्यक्तिहरु मध्ये १ जनालाई ढाडको समस्या देखिन्छ भन्ने तथ्याङ्ग छ । नसा च्यापिने मुख्य कारण भनेकै अमिल्दो बसाई हो । अचानक झुक्ने, भारी वस्तु उठाउने, व्यायम नगर्ने, खाल्डो बाटोमा बाइक चलाउने, कुप्रो परेर लामो समयसम्म कुर्सीमा बस्ने डाक्टर, बैंकसं, गार्ड, धेरै बच्चा जन्माएकी आमा, मोटो व्यक्तिहरु, लामो समयदेखि मोटरसाइकल चलाउनेहरुमा ढाड दुख्ने समस्या बढी देखिन्छ । यस्तो जीवनशैली भएका व्यक्तिहरुको डिक्स तथा हड्डी चाडै खिइने, सुनिने, घोटिने हुन्छ । फलत डिक्सले आफ्नो ठाउँ छोडेर नसा च्यापिन पुग्छ । त्यस्तै महिनावारी बन्द भएका महिलाहरुमा एस्ट्रोजन हर्मोनको कमी हुन्छ । जसले गर्दा उनीहरुमा हड्डी सम्बन्धी समस्याहरु आउने हुन्छ ।
लक्षण : सामान्य जस्तै लाग्ने ढाड दुखाइका समस्या समयमै उपचार वा निदानका उपायहरु अपनाइएन भने पछि गएर थप कठिनाइहरु पनि आउँन सक्छन् । नसा च्यापिदा नसाको काममा अवरोध हुन्छ । जसले गर्दा कम्मर दुख्ने नसा गएका खुट्टा वा हात दुख्ने, हातखुट्टा निदाउने, झमझमाउने, ढाडमा असह्य पीडा हुने, उठ्दा, बस्दा, हिड्दा, ढाड र हातखुट्टा दुख्ने गर्छ । समस्या बढ्दै गएमा औलाहरुमा कमजोरी देखिने हुन सक्छ । साथै प्यारालाइसिस भई मलमूत्र विसर्जनमा नै समस्या समेत हुन सक्छ ।
न्यूनिकरणका उपाय : उमेरसंगसंगै शरीरका हड्डीहरु पनि बिस्तारै खिइदै जाने, नसा च्यापिने, समस्याहरु आउँछन् । त्यो सामान्य प्रक्रिया नै हो । तर वयस्क अवस्थामै हुने ढाड दुखाईको समस्यालाई हाम्रो जीवनशैली र कार्यशैलीमा केही परिवर्तन मात्रै ग¥यौ भने मात्र पनि ढाड दुख्ने समस्याबाट राहत पाउन सकिन्छ । हरेकले आफ्नो कामकाज वा परिवारलाई ध्यान दिन्छौ त्यस्तै ध्यान शरीरलाई पनि दिनुपर्छ । ढाड दुख्ने समस्याबाट जोगिन, भारी सामानहरु नउठाउने, लामो समयसम्म एकै ठाउँमा नबस्ने, निहुँरिएर गर्ने कामहरु सकभर नगर्ने गर्नै परेमा सावधानी पूर्वक गर्ने, वजनलाई बढ्न नदिने, व्यायम गर्ने, खाल्डोबाट ध्यान पूर्वक सवारी चलाउने, यदि सामान्य ढाड दुखिरहेको छ र सकिन्छ भने डाक्टरको परार्मश अनुसारका योगाहरु गर्न पनि सकिन्छ । त्यसैगरी महिनावारी बन्द भएका महिलाहरुले नियमित क्याल्सियम र भिटामिन डि को प्रयोग गर्न पर्ने हुन्छ ।
उपचार विधि
ढाड दुख्दैमा सबैलाई चिकित्सा नै चाहिन्छ भन्ने होइन । यदि ढाडको दुखाई असह्य छ भने हामीले न्यूरोलजिस्ट, न्यूरो सर्जन वा अर्थोपेडिक डाक्टरसंग परामर्श लिनु पर्ने हुन्छ । प्राय ढाडको दुखाईलाई हामीले औषधीको प्रयोगले नै ठिक पार्न सक्छौ । ढाड, हात खुट्टाको जाँच गर्छौ । अवस्था पत्ता लगाएर मात्रै हामीले रोग निवारण तर्फ लाग्छौ । ६० देखि ७० प्रतिशत बिरामीहरु रिकभर हुन्छन् । आफ्नो परानै दैनिकीमा फर्किन्छन् पनि । त्यस बाहेकका ३० देखि ४० प्रतिशतमा मेडिकल ट्रिटमेन्ट गर्दा पनि समस्याहरु जटिल हुँदै जाने वा एकैनास रहन्छ । एमआरआई सिटीस्क्यान गराएर ढाडको हड्डी र नशाको अवस्था हेरेर उपचार गर्छौं । यदि समस्या धेरै नै जटिल छ भने शल्यक्रिया नैै गर्नुपर्छ ।
उपलब्ध सेवा : नारायाणी वयोधा अस्पतालमा ढाड दुखाई सम्बन्धी उपचार सेवा उपलब्ध छ । अहिले नयाँ नयाँ प्रविधिको विकास भइसकेको छ । अहिले शल्यक्रियाका लागि दुरबिन, माइक्रोस्कोप लगायतका औजारहरु भित्रिसकेका छन् । जसले गर्दा शल्यक्रियामा सहजता हुनुका साथै बिरामीको सुरक्षा पनि बढ्छ । अब जमाना मिनिमली इन्भेजिभ स्पाइन सर्जरी तर्फ अघि बढिसकेको छ । जसमा धेरै चिरफार नगरी साना प्वाल पारेर शल्यक्रिया गरेर बिरामीलाई चाडै नै घर पठाइन्छ ।
(बरिष्ठ न्यूरो सर्जन डा. अभिषेक चतुर्वेदी हाल नारायणी वयोधा अस्पतालमा कार्यरत छन् )