विद्यालय खुलेसंगै अध्ययनलाई विस्तारै आफ्नै लयमा फर्काउदै गरेका विद्यार्थीहरु कोरोनाको तेस्रो लहरले विद्यालय पुनः बन्द हुनथालेपछि फेरि त्रासमा छन् । त्यस्तै त्रासमा छन् सुमित चौधरी पनि । विद्या सदन माध्यमीक विद्यालयको कक्षा नौ मा अध्ययनरत छात्र चौधरी मोनज प्रसाद चौधरी र रिता देवीका पहिलो सन्तान हुन् । उनका वुवा वैदेशिक रोजगारमा छन् भने आमा गृहिणी हुन् । काका काकीसँग बसेका उनी वीरगन्जकै मूर्लिमा ६ जनाको सामुहिक परिवारमा बस्छन् ।
पढाइमा अबल सुमित आफ्नो कक्षाका प्रथम विद्यार्थी हुन् । अध्ययन संगसंगै विद्यालयमा हुने अतिरिक्त कृयाकलाप अन्तर्गतका वादविवाद, वक्तृत्वकला, हाजिरीजवाफ लगायतका प्रतियोगितामा सहभागिता जनाउने गरेको उनले बताए । पढ्न सहज हुने अंग्रेजी विषय चौधरीलाई मन पर्ने विषय र नेपाली विषय गाह्रो लाग्ने उरेको पनि उनको भनाइ छ । हामी बोडिङ्ग स्कुल पढ्नेलाई गाह्रो लाग्ने विषय नै नेपाली हो उनले आफ्नो जस्तै अरुको पनि समस्या हुन सक्ने बताए । बुझाएर पढाउने र पढाइ बाहेक विद्यार्थीलाई हौसला र उत्साह दिने कुराहरु गर्ने विक्रान्त ठाकुर उनका मन पर्ने शिक्षक हुन् । आफ्नो हरेक कुराहरु सहजै भन्न सक्ने र हरेक कुरामा साथ सहयोग अनि सल्लाह दिने कृश गूप्ता र मुस्तर इर्साद उनका मन पर्ने साथीहरु भएको पनि चौधरीले बताए ।
अध्ययन वाहेक प्रायः गित सुन्न मन पर्ने, गित सुन्दै अध्ययन पनि गरिरहने सुमित भविष्यमा डाक्टर बन्छु भन्छन् । म पहिलो सन्तान हुँ मेरो धेरै जिम्मेवारी छन् । बुबा वैदेशिक रोजगारीमा हुनुहुन्छ । तर म यहीं केही गर्न चाहन्छु । आमाले मलाइ पाइलट भएको हुर्न छ भन्नु हुन्छ । तर मेरो चाहाना डाक्टर बनी स्वास्थोपचार गर्ने छ । वुवाले चाही तिमी आफै विचार गर भन्नु भएको छ ।
आफ्नो अध्ययन जतिकै परिवार प्रति पनि निकै जिम्मेवार देखिन्छन उनी । घरमा भएको समयमा गित सुन्ने आफ्नो पढाइ सक्ने र आमालाई खाना बनाउन र बजारबाट आवश्यक सामान ल्याउनमा सहयोग गर्ने गरेको परिवारका सदस्यले बताए । आफ्नो विद्यालयका विद्यार्थीहरुको मनोभाव बुझेर नै नीति नियम बनाउने र हरेक कार्यक्रममा विद्यार्थीहरुसंग छलफल गरेरनै निर्णय गर्ने शिक्षकहरु उनलाई सबैभन्दा बढी मनपर्ने बताउँछन् । आफू चौधरी भएकोले चौधरी परिकारमा निकै फेमस र महत्वपूर्ण मानिने घोङ्गि धेरे नै मन पर्ने चौधरीले बताए । त्यो बाहेक हरियो सागसब्जी पनि खाने तर भन्टा मन नपर्ने उनको भनाइ छ ।
विद्यालयमा बसेर पढ्न रुचाउने सुमितलाई विद्यालय बन्द भएको कुराले निकै चिन्ता थपेको छ । ‘२ वर्षदेखि राम्ररी पढ्न पाएका छैनौ । यस वर्ष पनि उस्तै होला जस्तो छ’ । कोरोनाको तेस्रो लहरका कारण अर्को सूचना नआएसम्म विद्यालय बन्द भएको छ । अनलाइन कक्षालाई निरन्तरता दिन पनि सकिदैन । सबै विद्यार्थी सम्पन्न परिवारबाट छैनन् । हुनेले त इन्टरनेट मोवाइलबाटै कक्षा लेलान नहुनेले कसरी गर्ने ? बरु साना कक्षाहरुलाई बन्द गरेर ८, ९ र १० कक्षालाई सिफ्ट सिफ्ट गरी अध्यापन गराए हुने थियो उनले सुझाव सहितको तर्क गरे । ‘नत्र त पछि हामीलाई निकै गाह्रो हुन्छ’ उनले समग्र विद्यार्थीको प्रतिनिधित्व गर्दै बताए ।