विगतका वर्षहरुमा नियमित रुपमा सञ्चालनमा नआएको सुपथ मुल्यको पसल यसवर्ष सञ्चालनमा आउने भएको छ । गतवर्ष चुनाव, त्यसअघि मधेस आन्दोलन लगायतको कारणले सुपथ मुल्यको पसल व्यवस्थित रुपमा चल्न नसकेको वीरगंजमा यो बर्ष भने व्यवस्थित रुपमा सबै सामाग्री एकै ठाउँमा पाउने गरी संचालनमा आउने भएको हो । आगामी असोज २४ गते घटस्थापनाको दिनदेखि छठ पर्व सम्मका लागी सुपथ बजार सञ्चालनमा ल्याउने तयारी भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले बताए ।
केन्द्रमा नेपाल सरकारका जिम्मेवार मन्त्रालय र निकायहरुको समन्वयमा हरेक बर्ष सुपथ मोलको पसलहरु संचालनमा आउने भए पनि जिल्लामा भने त्यो किसिमको व्यवहार हरेक बर्ष हुन सकेको थिएन । यो पटक भने पर्सामा पनि जिल्ला प्रशासन कार्यालयको समन्वयात्मक अगुवाईमा दशैँ तिहार र छठ पर्वलाई लक्षित गरी सुपथ मूल्यको बजार संचालन हुने कुरा सकारात्मक भएको स्थानीयले बताए ।
यो बर्ष केन्द्रमा मात्र नभएर पर्सामा पनि संचालन गरिने प्रमुख जिल्ला अधिकारी पौड्यालको भनाइले राज्य संयन्त्रको सकारात्मक कदम भएको उनीहरुको भनाइ छ । दशैंमा सुपथ मुल्य पसल देशभरमा साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल खाद्य संस्थान, दुग्ध विकास संस्थान र सहकारी संस्था मार्फत हुँदै आएको छ । तर पर्साको हकमा भने, हामीले उद्योग वाणिज्य संघ र साल्ट ट्रेडिङ्गलाई जिम्मा दिएका छौँ । यसरी सञ्चालन हुने सुपथ मूल्य पसलले बजारमा पाउने मूल्यभन्दा ५ देखि १० प्रतिशत सम्म छुट दिईने प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए ।
नेपाल सरकारले देशभरको सुपथ पसलमा चिनीमा ५ रुपैयाँ छुट र चामलमा प्रतिकेजी ५ रुपैयाँ सम्म कम गर्नु पर्ने ९१ रुपैयाँ प्रतिकेजी पर्ने बास्मती चामलाई ८१ रुपैयाँ, यस्तै साल्ट ट्रेडिङको वस्तुमा २० रुपैयाँ पर्ने नुनलाई १८ रुपैयाँ दिने तय भएको जनाइएको छ । यस्तै तेल, घ्यूमा समेत १० रुपैयाँदेखि ५० रुपैयाँ सम्मको छुटको व्यवस्था गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
यता सरकारले शहरी क्षेत्रमा मात्रै सुपथ मुल्यको पसल चलाएकाले कमजोर आर्थिक अवस्था भएका नागरिकहरु दोहरोमारमा पर्ने गरेको उपभोक्ताहरुले जनाएका छन् । देशको केन्द्र भागमा जस्तो जिल्लाको पनि सदरमुकाममा भए जसरी नै शहरी क्षेत्रमा बसोबास गर्ने हरुको लागि मात्र नभएर ग्रामिण बस्तीहरुमा पनि सुपथ मुल्यको पसल संचालन गरिनु पर्ने नीति स्थानीय सरकारहरुले पनि अंगिकार गर्नुपर्ने उपभोग्ताहरु मध्येकै वीरगंज महानगरपालिका वडा नं. १२ निवासी राजन साहले बताए ।
नेपाल सरकारले सुपथ मुल्यको पसलमा समेत भेदभाव गर्ने गरेको उनले गुनासो गरे, काठमाडौँमा खसी बोका च्याग्रा र पनीर, दही, दुध समेत विक्रि गर्ने गरेको भए पनि वीरगंजको हकमा भने नामका लागी मात्र सुपथ पसल सञ्चालन गर्ने गरेको उनले आरोप छ ।
पर्व लक्षित बजार अनुगमण शुरु
दशैँ नजिकिदैँ गर्दा व्यापारीहरुले आ – आफ्नै ढंगको मुल्य सुची राखेर उपभोक्तालाई ठगिरहेको गुनासो बढ्न थालेपछि पर्सामा बजार अनुगमन कडाईका साथ सुरु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मुलुकको व्यापारिक तथा आर्थिक केन्द्र वीरगंजमा चाडबाड भित्रिने क्रमसंगै बजारमा अति आवश्यक उपभोग्य वस्तु विक्री बितरण गर्ने व्यवसायीले मनपरी मुल्य निर्धारण गर्दा पनि सम्बन्धित पक्षले यसको नियन्त्रणको प्रयास नगरेको भनी गुनासो बढ्दै गएको समयमा राज्यका नियमनकारी निकायको अग्रसर भएको हो ।
महानगरमै पसलै पिच्छे दैनिक उपभोग्य वस्तु फरक फरक मुल्य सुचिमा बेच्न लागेको गुनासो बढ्दै गएपछि प्रशासनले बाध्य भएर छुट्टछुट्टै रुपमा बजार अनुगमन समिति नै बनाएर अनुगमन सुरु गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी पौड्यालले भने ।
वीरगंजको आदर्शनगर, माईस्थान, बिर्ता बजार, घण्टाघर, मुर्ली चोक लगायतका स्थानमा उपभोग्य समानको मुल्य पसलैपिच्छे फरक पाउने गरेको छ ।
अनुगमनको क्रममा उपभोक्ता ठग्ने मनोसायले मुल्य निर्धारण गरेर बेच्ने पसल सञ्चालकलाई खाद्य गुणस्तर तथा नापतोल विभाग अन्तरर्गत कार्वाही गरिने प्रजिअ पौड्यालको भनाइ छ ।