पर्साको पर्सागढी नगरपालिकाले किसानलाई अनुदानमा दिईने पशु आहारको बजेट हिनामिना गर्न म्याद गुज्रेको पशु आहार वितरण गरेको रहस्योद्घाटन भएको छ । पशुपालन गरेका किसानहरुको सहुलियतको लागि भनी नगरपालिकाले गतवर्ष खरिद गरेको पशु आहार यसवर्षको खरिद देखाएर बजेटमा अनियमितता गर्न थालेको पाइएको हो ।
नगरपालिकाले गत वर्ष असारको अन्तिममा १ लाख ५० हजार बराबरको लागतमा खरिद गरेको पशु आहार चालु वर्षमा वितरण गर्न लाग्दा अनियमितता भएको नगरपालिकका जानकारले बताए । उनले आफ्नो नाम भने खुलाउन चाहेनन् । नगरपालिकाको पशु शाखा फाँटसँग कुनै समन्वय नै नगरी पर्सागढीका मेयर लोकनारायण यादव र प्रमुख प्रशासकीय अधिकृत भरत कुमार यादवले खरिद गरेको पशु आहार चालु वर्षमा खरिद गरेको पशु आहारमा मिसाएर वितरण गराएको तुलसी प्रसाद आचार्यले बताए । नगरपालिकाले खरिद गरेको शक्ति प्लेट फिड दाना उत्पादन भएको ६० दिन भित्रमा उपभोग गरिसक्नु पर्ने दानाको बोरा मै उल्लेख छ । तर नगरपालिकाले म्याद सकेको ५ महिनापछि वितरण गरेको आचार्यले तर्क गरे । यो दानाले पशुको स्वास्थ्यमा हानी हुन सकने कृषकहरुको पनि भनाइ छ ।
यता पर्सागढी नगरपालिका पशु शाखाका अधिकृत इन्द्रकुमार झाले आफुसंग कुनै समन्वय नगरी पशु आहार खरिद गरिएको बताए । किसानलाई वितरण गर्दा पनि आफुलाई त्यसबारे समन्वय नगरिएको उनको तर्क छ । उनका अनुसार किसानहरुलाई अनुदान स्वरुप पशु आहार खरिद र वितरण गर्दा पशु शाखाको समन्वय हुनुपर्ने हो । तर समन्वय नै नगरेको उनले दावी गरे । यो कुराले पनि बजेटलाई दूरुपयोग गर्ने नियतले मेयर लोकनारायण यादव र प्रमुख प्रशासकीय अधिकृत यादवको मिली भगतमा गत वर्षको अन्तिम मसान्तमा खरिद गरिएको पशु आहार वितरण नै नगरी चालु आर्थिक वर्षमा खरिद गरिएको पशु आहारमा मिसाएर वितरण गर्न लागिएको हुन सकने नगरपालिकाका कर्मचारीकै तर्क छ ।
यस विषयमा नगरपालिकाका मेयर लोकनाराण यादवले कुनै पनि किसानलाई पशु आहार वितरण नगरिएको बताए । जबकी ्पर्सागढी नगरपालिका–८ हरपुरका वडाध्यक्ष किसुनदेव प्रसाद यादवले २/३ दिन पहिल्यै मेरै वडामा म्याद गुज्रेको पशु आहार पाइएपछि भाडामा ट्रयाक्टर लिई फिर्ता गराएको तर्क गरे । कृषकहरुले विवाद गरेपछि म्याद गुज्रिएको मल फिर्ता पठाएर यसपाली खरिद गरिएको मल वितरण गरिएको र आईतबार पुनः वितरण गरिने उनले प्रतिक्रिया दिए ।
पशु शाखा अधिकृत झाले पनि हरपुर लगायतको वडाका किसानहरुले पशु आहार पठाएको बताए । पशु आहार खरिद गर्ने किसानले नगरपालिकाबाट कटाएको रसिद्बाट पनि प्रमाणित हुन्छ कि नगरपालिकाबाट पशु आहार वितरण हुँदैछ भनेर उनले तर्क गरे । तर मेयर यादवले म्याद गुज्रेको पोल खुल्ने डरले वितरण हुने कुरा ठाडै अस्वीकारे गरेका छन् । तर प्रशासकीय अधिकृत यादवले भने गत वर्ष नै खरिद गरिएको पशु आहारको म्याद सकिदा त्यसलाई बदलेर ल्याई वितरण हुँदै गरेको बताए ।
मेयरलाई सबै कुरा थाहा हुन नसक्ने भन्दै मेयर यादवले बोलेको झुठ ढाँकछोप गर्दै अधिकृत यादवले म्याद गुज्रे बापतको आहार ल्याएको बताए पनि गत वर्ष खरिद गरिएकोभन्दा बढि परिणाममा खरिद गरिएको पशु आहार वितरण सम्बन्धी जारी भएको सूचनामा सम्पर्क व्यक्ति रहेका फिल्ड सहायक कुमार राउतले बताए । अधिकृत यादवका अनुसार म्याद सकिएको आहार बापत पशु आहार ल्याई वितरण हुँदैछ । तर कुमार राउतका अनुसार ३५ के.जी. प्रति बोरा भएको १५० बोरा पशु आहारको बोरा खरिद गरिएकोमा करिब १०० वटा बोरा वितरण भईसकेको दावी गरे । नगरपालिकाको स्रोत अनुसार प्रतिकिलो ८७ रुपैयाको दरमा गत वर्ष १ हजार ७ सय २४ के.जी. अर्थात डेढ लाखको लागतमा पशु आहार खरिद गरिएको खुलेको छ । यो १५० बोराको मूल्य साढे ४ लाखभन्दा बढि पुग्ने तथ्याँकले देखाएको छ ।
समयमै नगरपालिकाले वितरण नगर्ने र नोक्सान सहेर फिर्ता लिने सप्लायर्स कम्पनी ? तसर्थः पर्सागढीका मेयर लोकनारायण यादव, अधिकृत भरत यादव, वडाध्यक्ष किसुनदेव यादव, पशु आहार वितरण सम्बन्धी जारी भएको सूचनामा सम्पर्की व्यक्ति रहेका फिल्ड सहायक कुमार राउतले दिएको अभिव्यक्ति र सम्बन्धी अधिकारी झासंग कुनै समन्वय वा जानकारी नगर्नुले पनि गतवर्ष खरिद गरिएको आहार म्याद गुज्रेपछि वितरण गरेर चालु वर्षृमा भएको बजेट सकाउने खेल भएको किसानहरुको बुझाई छ ।