गाउँ गाउँमा सिंहदरवार पुगे पनि शहरीकरण व्यवस्थित हुन सकेको छैन । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांकले पनि यहि देखाएको छ । गाउँको तुलनामा शहरको जनसंख्या वृद्धि निकै छ । शहर बढेसंगै व्यवस्थित घरहरु निर्माण गर्ने क्रम पनि हुन पर्ने हो । तर त्यो पर्साको सन्दर्भमा हेर्ने हो भने शहर विस्तार व्यस्थित हुन सकेको छैन । घर निर्माण गर्दा आफु खुसी घरको उच्चाई राख्ने, घर अगाडी पानीको उचित व्यवस्थापन नगर्ने, भूकम्पीय जोखिमलाई पनि वास्ता नगर्ने र मिस्त्रीका भरमा जसो मनलाग्यो उसै घर बनाउने कारण वर्षात्को समयको समस्या पनि अझ विकराल बन्ने गरेको छ ।
स्थानीय पालिकामा गएर नक्सा पास गराएर निर्माण गर्नुपर्ने, निर्माण सम्पन्न भएपछि अनुगमन गराएर सम्पन्नताको कागज लिने नियम त छ । तर कडाईका साथ लागु नभएको कारण नक्सा अनुसार प्रायः धेरैको घरहरु बनेका छैनन् । सडकतर्फ कति जग्गा छोड्नुपर्ने, नालाका लागि के गर्ने ? घरको मापदण्ड कस्तो हुनुपर्ने भन्ने मापदण्ड नहुँदा त्यस्ता घरहरु भत्काएर फेरि बनाउन पर्ने बाध्यता पालिकाहरुले लागु गर्न सकेका छैनन् । यसले पनि नक्सा अनुसार काम नहुने, नक्सा बनाएर बनाइएका घरहरुमा पनि अन्य मापदण्ड पूरा नगरिने समस्या विकराल छ । तर पालिकाहरुले न त अनुगमन गरी स्तरीय बस्ती विकास गर्न सकेको छ न त बस्ती विकासको मापदण्ड नै बनाउन सकेको छ । बस्ती र कृषिका लागि ठोस मापदण्ड नै तय गर्न नसक्दा त्यसले हरेक बर्ष अनेकथरीका विपतको सामना गर्न पनि परेको छ । शहरीकरणको दू्रत वृद्धि र स्तरीकरण नहुँदा आगामी दिन निकै आपत आइपर्ने कुरालाई नकार्न सकिन्न ।
अनुगमनका लागि भनी साइडमा जाने पालिकाका कर्मचारीले के हेर्छन् ? पुराना बस्तीमा त विगतदेखिको समस्या छ नै । नयाँ बस्तीमा पनि ठोस् मापदण्ड नहुँदा शहर कुरुप बन्दै गएका छन् । अव्यवस्थित शहरीकरण अनियन्त्रित रुपमा बढ्दै गएको छ । कुनै पनि योजना बनाएर बस्ती बसाउने चलन छैन । जसलाई जहाँ मन लाग्यो‚ त्यहीँ बाटो खोल्ने, बस्ती बसाउने चलन तीव्र बढेको छ । यसले गर्दा शहरहरू कुरुप र सेवा सुविधा बिहिन जस्ता हुँदै गएका छन् । शहरको जीवन त भौतिक सुख सुविधाले आरामदायी भन्ने आँकलन गरिए पनि त्यो हुन सकेको छैन । ग्रामीण जीवनभन्दा बढी सङ्घर्षपूर्ण छ शहरिया जीवन । अहिलेका सहरमा यातायातको अस्तव्यस्तता, प्रदुषण, बाटोघाटाको अभाव, पानीको अभाव, खुला ठाउँको अभावजस्ता अभावै अभावले शहरहरु ग्रस्त छन् । शहरले मानिसको वातावरण अस्वस्थ बनेको छ । यसले बेलाबेला विभिन्न किसिमका महामारी फैलिने गरेको पाइएको छ । स्वास्थ्यसम्बन्धी महामारी मात्रै नभई भूकम्प जस्तो प्राकृतिक विपत्ले पनि शहरीया जीवनलाई गिज्याई रहेको छ । यता तर्फ खोइ त ध्यान गएको ?
व्यवस्थित शहर विकासको योजना पनि ल्याइएको छ । तर, धरैजसो ठाउँमा नीति निर्माण तहमा रहेका राजनीतिक तथा प्रशासनिक नेृतत्वले आफ्नो फाइदाको आधारमा योजना निर्माण गर्ने गरेको पाइन्छ । आफ्नो घर र जग्गा भाएको ठाउँमा स्मार्ट सिटी बनाउने घोषणा गर्ने गरेको पनि देखिन्छ । त्यस्तै, आवश्यकता र उपुक्तताकै आधारमा ल्याइएका शहरी विकासका आयोजनालाई पनि स्थानीयबासी, स्थानीय राजनीतिक दलका नेता कार्यकर्ताले व्यवस्थित शहरीकरणलाई सघाउनु त्यो चाही देखिदैन । यता तर्फ स्थानीय तथा सरोकारवाला पक्षको ध्यान पुगेकै छैन । आयोजनाहरू शिलान्यास हुने‚ तर निर्माण सुरु नहुने जस्ता समस्याहरू विगतदेखि कै हुन् । देशमा तीव्र शहरीकरण भइरहेको कुरालाई सरकार वा नियामक निकाय र राजनीतिक नेतृत्वले नजरअन्दाज गर्न मिल्दैन ।