नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक अपी पावर कम्पनीबीच ३ भदौमा विद्युत् खरिद सम्झौता भएको छ ।
अपी पावर कम्पनीले निर्माण गर्न लागेको दुई सौर्य परियोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) भएको हो । कम्पनीले धनुषाको ढल्केरबरमा १ मेगावाट र बाराको सिमरामा १ मेगावाटको ‘सोलार प्लान्ट’ निर्माण गर्न लागेको छ । ती आयोजनासँग प्रतियूनिट ७.३० रुपैयाँमा बिजुली किन्ने सम्झौता भएको प्राधिकरणले जनाएको छ ।
उत्पादन शुरु भएको २५ वर्षसम्म विद्युत् किन्नेगरी सम्झौता भएको हो । पिपिएमा प्राधिकरण योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका प्रबन्ध निर्देशक सञ्जिव न्यौपानेले हस्ताक्षर गरेका छन् । उत्पादित विद्युत् परवानीपुर सबस्टेसनमा जोडिनेछ । “प्राधिकरणले १० महिना तोके पनि हामीले ७ महीनामै पुरा गर्ने लक्ष्य राखेका छौं,” कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले भने “भदौ महीनाभित्र चिनियाँ कम्पनीले निर्माण कार्य शुरु गर्नेछ ।”
कम्पनीले यस अघि साउन २७ गते पर्साको परवानीपुरमा ८ मेगावाट र रौतहटको चन्द्रनिगाहपुरमा ४ मेगावाटको गरी १२ मेगावाट क्षमताको दुई सौर्य परियोजनाको विद्युत् खरीद सम्झौता नेपाल विद्युत् प्राधिकरणसँग गरिसकेको छ ।
अपीले रिडी पावर कम्पनी सहित प्राधिकरण सबस्टेसन नजिक सौर्य विद्युत् जडान गर्न खुला प्रतिस्पर्धाबाट १० स्थानको अनुमति पाएको छ । सरकारले २०७२ फागुनमा घोषणा गरेको ९९ बुँदे ‘ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशक’ सम्बन्धी कार्ययोजनामा प्रतियूनिट ९.६१ देखि ८.४५ रुपैयाँ ‘बेन्चमार्क’ तोकी पिपिए आह्वान गरेको थियो । तर, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत् विकास सम्बन्धी कार्यविधि २०७४’ लागू भएपछि विद्युत् प्राधिकरणले सौर्य ऊर्जाको पिपिएको दर प्रतियूनिट ७.३० रुपैयाँ कायम गरेको हो ।
यसअघि अपी पावर कम्पनीले करीब १७ महिनाभित्रै ८.५ मेगावट क्षमताको नौगड गाढ जलविद्युत् आयोजना निर्माण गरेर २०७२ साल भदौैदेखि विद्युत् प्रवाह गरिरहेको छ । कम्पनीले सोही नदीमा ८ मेगावटको अपर नौगड गाढ जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा पुर्याइसकेको छ । कम्पनीले भविष्यमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजना बनाउने तयारी गरिरहेको जनाएको छ । यसका लागि अपी पावर कम्पनी र नेपाल विद्युत् प्राधिकरणको ग्रिड सञ्चालन विभागबीच २५ साउनमा ४० मेगावट क्षमताको माथिल्लो चमेलियाको ग्रिड कनेक्शन सम्बन्धी सम्झौता भइसकेको छ ।