वीरगंज । नारायणी अस्पतालको हाताभित्र साझा औषधि पसल अवैधानिक तरीकाले सञ्चालनमा रहेको पाइएको छ । स्वास्थ्य नियमावली अनुसार अस्पताल हाताभित्र कुनै पनि निजी वा साझेदारीमा औषधि पसल खोल्न नपाउने प्रावधान रहेपनि वीरगंजस्थित नारायणी अस्पताल हाताभित्र अवैध तरीकाले साझा औषधि पसल सञ्चालनमा रहेको पाइएको हो । श्री ५ को सरकारको पालामा २०५२ सालमा भएको सम्झौता विपरित एक रुपैयाँ समेत नतिरेर फार्मेसी सञ्चालन गर्दै आएको पाइएको हो ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयको नियमानुसार अस्पताल हाताभित्र रहेका सबै औषधि पसल हटाइएको छ । देशभरि रहेका सरकारी अस्पतालभित्र सञ्चालनमा रहेका साझा औषधि पसल हटाउने क्रम अझै जारी रहेकोमा अधिकांश अस्पतालबाट हटाए पनी वीरगंजस्थित नारायणी अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गराएर साझालाई पक्षपोषण गरेको पाइएको छ ।
नारायणी अस्पतालभित्र सञ्चालित साझा औषधि पसलको कारण अस्पतालले सञ्चालन गरेको फार्मेसी समेत अप्ठयारोमा परेको छ । सम्झौताको २६ वर्ष वितिसक्दा पनी सम्झौता अनुसार अस्पताललाई बिक्रीको दुई प्रतिशत दिनुपर्नेमा आजसम्म एक सुको रुपैयाँ समेत तिरेका छैनन् । भने, भाडा वापतको रकम समेत साझाले ३ सय १२ महिनादेखी एक रुपैयाँ समेत बुझाएका छैन् ।
यता म्याद नाघेर वर्षै वितिशक्दा पनी साझाले भने नारायणी अस्पतालले नै उल्टै साझालाई ५२ लाख तिर्नुपर्ने भन्दै रकम तिरिदिन पत्र थमाईदिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानका अनुसार अस्पताललाई बुझाउनुपर्ने रकम माग्दा साझाले उल्टै २०७२ र ७३ सालमा अस्प्तालले नै ५२ लाख रुपैयाँ भुक्तानी दिनुपर्ने भन्दै पत्र बुझाएको छ । यस विषयमा साझासँग अस्पतालले लिखित अडिट रिपोर्ट मागे पनी हालसम्म उपलब्ध नगराएको उनको भनाई छ ।
तर यता भाडाको सम्बन्धमा भरतपुरस्थित साझा फार्मेसीका लेखापाल बेल बहादुर पौडेलले भने, अस्पतालले नै तत्परता नदेखाएको कारण हिसाब हुन नसकेको आरोप लगाए । उल्टै साझालाई ५२ लाख तिर्नुपर्ने भएकाले हामीले पैसा नतिरेको लेखापाल बेल बहादुर पौडेलको भनाई छ ।
अस्पताल कै जग्गा अस्पतालकै भवन तर अस्पताल भने साझाको अगाडी निरिह बनेको देखिन्छ । यस विषयमा वीरगंजस्थित साझा औषधि पसलका वीरगंज प्रमुख वरुणकुमार सिंहले भने अस्पताल रहेसम्म आफूले सञ्चालन गर्ने गरी रहन पाउने प्रतिक्रिया दिए । सम्झौतापत्र माग गर्दा सिंहले दिन मानेनन् । अस्पतालसँग समेत सम्झौतापत्र नरहेको र विगतका सबै फाइल हेटौडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिएर गएको कारण सो सम्बन्धमा के कति खर्च लिनु पर्नेसमेत अस्पतालसँग तथ्याङ्क छैन ।
अस्पतालका केही कर्मचारीले साझासँग मासिक रकम बुझ्ने गरेकाले समेत यसको आय व्यय राखेएको छैन । उपचारका लागी मधेश प्रदेशको भरपर्दो मानिएको नारायणी अस्पताल अहिले आफुले उठाउनु पर्ने रकम समेत उठाउन सकेको छैन् । जसले गर्दा स्वास्थ उपचार गर्ने गरिब निमुखाको भरपर्दो अस्पताल अहिले आफै विरामी बनेको देखिन्छ ।