अहिलेको सौकिन र व्यस्त जीवन शैलीका कारण सबैजसो कामकाजी मानिसका लागि मोटरसाइकल अत्यावश्यक साधन बनेको छ । आफूले चाहेको समयमा घर, कार्यालयल गायत गन्तव्य सम्म पुग्न सकिने भएकाले पछिल्लो समय मोटरसाइकल चलाउनेहरू बढ्दै गएको छ । त्यसमा पनि ग्रामीण क्षेत्रको तुलनामा शहर, बजारमा यस्तो सङ्ख्या बढ्दै गएको देखिन्छ ।
सेवा सुविधा, विकासका पूर्वाधार, रोजगारीको सम्भावना, बाटोको सहज पहुच, दिन भरी काम गरेर साझ सम्म घर फर्किन मिल्ने लगायत कारणले वीरगंज आसपास क्षेत्रमा मोटरसाईकलाको प्रयोग बढदो छ । जनसंख्या बढेसँगै निजी सवारीको रूपमा मोटरसाइकलको प्रयोग पनि दिन प्रतिदिन बढ्दो छ । सवारी साधनको तुलनामा सडक विस्तार तथा स्तरोन्नति हुन नसक्दा पछिल्लो समय जाम तथा सडक दुर्घटना बढ्दै गएको देखिन्छ । शहरी क्षेत्रमा अत्यधिक रूपमा बढिरहेको मोटरसाइकल लगायत साना सवारीसाधन ट्राफिक व्यवस्थापनमा चुनौती बन्दै गएका छन् । मोटर साईकल लगायतका सवारी चालकहरु आफनो सुरक्षा भन्दा पनि प्रहरीलाई देखेर मात्र हेल्मेट तथा बेल्ट लगाउने गरेको देखिन्छ । मोटरसाईकल चालकहरु किन आफनो सुरक्षामा ध्यान दिदैनन् त ? आखिर सुरक्षित यात्रा कसका लागि आफनै लागि त हो नि ?
नेपालमा बढी दुर्घटना हुने सवारीमा मोटरसाइकल अग्रस्थानमा रहेको विभिन्न ट्राफिक तथ्याङ्कहरूले देखाएका छन् । मोटरसाइकल बढी दुर्घटनामा पर्नुमा मादकपदार्थको सेवन, तीव्र गति, ट्राफिक नियमबारे जानकारीको कमी, नियम पालनामा उदाशीनता लगायत चालककै कमजोरी मुख्य कारण रहेको ट्राफिक प्रहरीको भनाइ छ । सवारी सञ्चालनसम्बन्धी विभिन्न निमय, कानून भए पनि मोटरसाइकल चालकहरूले त्यसको पालना गरेको पाइँदैन । यसमा मुख्यतः लेन अनुशासनको पालना नगर्नु, सडकमा जथाभावी पार्किङ गर्नु, फूटपाथमा पार्किङ तथा चलाउने गर्नु, अनावश्यक एक्सिलेटर बढारेर ध्वनि प्रदूषण गर्नु, जिक–ज्याक तरीकाले (नागबेली बनाउँदै) चलाउनु कानूनी विपरीत कार्य हुन् ।
यसैगरी, स्पटलाइन एरियामा अन्य सवारी साधनहरूभन्दा अगाडि मोटरसाइकल रोकेर सबैलाई बाधा र्पुयाउने, जेब्राक्रशिङबाट बाटो काटिरहेका पैदलयात्रीलाई प्राथमिकता नदिई उल्टै चर्कौ हर्न बजाउँदै अगाडिबाटै मोटरसाइकल हुइँक्याउने र अन्य सवारीसाधनलाई बाधा हुने गरी बीचबीचमा मोटरसाइकल छिराउने कार्यलाई पनि ट्राफिक नियमले अवैध ठहर गरेको छ । तर यसलाई मोटरसाईक चालकहरुले अटेर गर्ने गरेको पाईन्छ । आखिर नियम तोडेर कसलाई बेफाईदा हुन्छ यस तर्फ ध्यान जान जरुरी छ ।
दुर्घटना अकल्पनीय कार्य हो । यो जुन कुनै बेला पनि हुन सक्छ । यद्यपि, ट्राफिक नियमको पूर्ण परिपालन र होशियारी अपनाउन सके यस्तो जोखीमलाई अवश्य पनि कम गर्न सकिन्छ । मुख्यतः सवारी सञ्चालनसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान नहुँदा नै बढी दुर्घटना हुने भएकाले यसमा योग्य भएर मात्र चलाउने गर्नुपर्छ । सानो मात्र गल्ती, कमजोरीले पनि आफू र सँगै यात्रा गर्ने व्यक्तिको ज्यान जोखीममा पर्न सक्छ । त्यसैले, चालकले सुरक्षाका अत्यावश्यक र आधारभूत विषयमा ध्यान दिनुपर्छ । दुर्घटना हुनुमा सधैं चालक एक्लै पनि जिम्मेवार हुँदैन ।
यसमा अप्रत्यक्ष रूपमा उसका परिवार÷अभिभावक पनि जिम्मेवार हुन्छन् । छोराछोरीले रहर गरे भन्दैमा उमेर र क्षमता नपुगी मोटरसाइकल चलाउन दिनु अभिभावकको कमजोरी हो । यस्तो कार्यले ठूलो क्षति निम्त्याउन सक्छ । अभिभावकले आफ्नो छोराछोरीको वास्तविक समस्या, आवश्यकता, र योग्यता बुझेर मात्र मोटरसाइकल चलाउन दिने गर्दा उनीहरू बढी सुरक्षित हुन सक्छन् । साथै, तुलनात्मक रूपमा किशोरकिशोरीले बाइकरस्कुटी तीव्र गतिमा चलाउने हुँदा त्यसको निगरानी राख्नु पनि अभिभावकको कर्तव्य हो ।
उनीहरूले सधैं सवारी नियमको पालना गर्न प्रोत्साहन गर्नुपर्छ । आफूले नियन्त्रण गर्न सक्ने साधनबाट दुर्घटनाको सम्भावना कम हुने भएकाले यस्ता सवारीको प्रयोगमा जोड दिनुपर्छ । समयमा ट्राफिक प्रहरीले पनि सचेतामुलक कार्यक्रम संचालन गरेर सवारी चालकलाई सचेत गराउन जरुरी छ ।