वीरगंज । भारतको एन्टी ह्युमन ट्रेफिकिङ्ग यूनिट टीमले ८ जना नेपाली किशोरीलाई उद्दार गरेको छ । विशेष सूचनाको आधारमा ह्युमन ट्रेफिकिङ्ग यूनिट टिम रक्सौल, एन.जी.ओ.रेस्क्यू मिशन फाउण्डेशन, चाइल्ड लाइन केयर सब–सेंटर रक्सौल तथा पलनवा थानाका प्रहरीको संयुक्त टोलीले मंगलबार भारतको विहार सौनाहा बजार स्थित संचालनमा रहेका २ वटा आर्केस्ट्रामा छापामारी गरि ८ जना नेपाली किशोरीहरुको उद्दार गरेको हो ।
बिहे गर्ने, राम्रो काम दिने, बढि पैसा कमाउने जस्ता विभिन्न प्रलोभन र अन्य बाहाना बनाई ललाई फकाई ती किशोरीहरुलाई भारततर्फ लगिएको अनुसन्धानबाट खुलेको ह्युमन ट्रेफिकिङ्ग यूनिट टिम रक्सौलका प्रभारी सिनियर इन्स्पेक्टर मनोज शर्माले बताए । उद्दार गरिएका ८ जना किसोरीहरुमध्ये ४ जना नाबालिका रहेको शर्माले बताए । उद्दार गरिएका किसोरीहरुले आफूहरुलाई आरकेस्ट्रामा नचाउनुको साथै जबरजस्ती शारिरिक शोषण समेत गरिएको बताएको अनुशन्धानबाट खुलेको छ ।
इन्स्पेक्टर मनोज शर्माले ती मानव तस्करलाई भारत विहार स्थित पलनवा थानाका इन्चार्ज प्रभारी उप–निरीक्षक प्रभाकर पाठकलाई जिम्मा लगाएको बताए ।
यता, माईती नेपाल वीरगंजकी प्रमुख संगिता पुरीले भारतकै एक थानामा ती किशोरीहरुलाई राखिएको आफूलाई जानकारी आएको बताईन् । ती किशोरीहरुको बारेमा हालसम्म भारतीय प्रहरीले नाम, ठेगाना जस्ता कुनै ठोस प्रमाण नदिएकोले आफूहरु केही नगरेको बताईन् ।
यता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता ओमप्रकाश खनालले आफूहरुलाई त्यसबारे केही थाहा नभएको बताए । उनले आफूहरुसंग कुनै समन्वय पनि नगरिएकोले उद्दार गरिएको छ वा छैन भने भन्न नसकिने बताए ।