विगत ३/४ हजार वर्षदेखि पुरुषको नजरबाट हेरिएको संसार, पुरुषद्वारा परिभाषित गरिएको संस्कार, नीति, संरचना र सत्ताले विश्व कहाँ छ ? त्यतिमात्रै विश्लेषण गरे पुग्छ । यतिका असमानता, विभेद, हिंसा, कुरीति आजसम्म रहिरहनु के पितृसत्तात्मक शासनको असफलता होइन र ? यसतर्फ गम्भीर भई सोच्नुपर्दछ । युगौँयुगबाट गरिएको अभ्यास भएका कारण अहिलेसम्म पनि पितृसत्ताको छाया घरपरिवार,समाज,राज्य जताततै छ । भर्खरको बिरुवालाई उखेल्न सहज हुन्छ, तर वर्षौं अघि रोपिएका रूखहरूका जरा यसरी फैलिएका हुन्छन् कि तिनलाई उखेल्न धेरै गाह्रो छ । पितृसत्ता पनि त्यस्तै हो, यसका हाँगाहरू छिमल्न सुरु भएको छ, जरैबाट उखेल्न निश्चय नै केही समय लाग्न सक्छ ।
मस्यौदा संविधानमा ‘पितृसत्ताको अन्त्य गर्दै’ भन्ने कुराले निकै महत्व राख्नेछ । पितृसत्ताविरुद्धको लडाइँ निश्चय नै पुरुषविरुद्धको लडाइँ होइन, यो त सिस्टम र संरचनाविरुद्धको लडाइँ हो । समानतामा विश्वास गर्ने जोसुकैले पितृसत्ताविरुद्ध कदम चाल्न आवश्यक छ । हाम्रो समाजमा असल पुरुषको कमी छैन, पितृसत्ताको अन्त्यका लागि पुरुषको भूमिका महत्वपूर्ण छ । नारीवादको सार नारीको आँखाबाट संसार हेर्नु हो । मानव सम्भ्यतामाथिकै चुनौतीका रुपमा यसलाई व्याख्या गरिएको छ । तर, एकछिन सोच्नुस् त, युगौंदेखि समाजमा जरा गाडेर बसेको ‘पितृसत्ता भाइरस’ सिर्जित असमानताका रोगहरुले समाजलाई कति क्षति पु¥याइरहेको होला ? कतिलाई शारीरिक र मानसिक रुपमा पीडा पितृसत्ताको भाइरसबाट समाजलाई मुक्त गर्न पनि पुरुषवादी सोंचलाई लामो समय क्वारेन्टिनमा राख्नुपर्ने देखिन्छ । कतिपयले अफवाह पनि फैलाउने गरेका छन्। नारीवाद पुरुष सत्ता, पुरुषवादी चिन्तनको विरुद्धको अभियान हो तर यो कुनै व्यक्ति विशेष वा पुरुष विरुद्धको संघर्ष होइन । जसरी पुरुष नारीवादी हुँदैनन् भन्नु गलत हो, महिलामा पनि पुरुषवादी चिन्तन हुँदैन भन्नु पनि गलत बुझाइ हो ।
पुरुषवादी चिन्तन र हाम्रा संस्कारले महिलालाई यसरी स्कूलिङ गरेको छ कि महिलामा पनि पुरुषसत्तात्मक सोच गडेर बसेको छ । जसमा, हाम्रा धर्म, संस्कार, पुरातन सोचको जडता सबैभन्दा खतरनाक छ । हाम्रा धर्महरुले कसरी पितृसत्तात्मक सोचलाई संरक्षण गरिरहेका छन् भनेर बुझ्न धर्ममा महिलाको स्थान र अवस्था नियाल्नु पर्छ । यसबाट विभेद छर्लंग हुन्छ । यी सबैखाले विभेदको विरोध गर्ने पुरुष पनि नारीवादी हुन सक्छन् ।
महिलामाथि पुरुषको नियन्त्रण कायम गरेको छ ।
पितृसत्ताले धर्म, संस्कृति र परम्पराका नाममा महिलामाथि शोषण र दमन पनि गरेको छ । यो कोणबाट हेर्दा पितृसत्ताले पुरुषलाई फाइदैफाइदा र महिलालाई घाटैघाटा मात्र छ भन्ने लाग्न सक्छ । तर, यथार्थमा पितृसत्ताको बोझले पुरुषहरू पनि थिचिएका छन्, तिनमाथि पनि हिंसा भएको छ, अनावश्यक भार पनि थपिदिएको छ । मारमा परिहाल्दा पनि बोल्न छेकेको छ । पितृसत्ताले पुरुषलाई बहादुर, आँटिलो र शक्तिशाली व्यक्तिका रूपमा चित्रण गर्छ । यही आधारमा समाजले पुरुषलाई कडा स्वभावको र घरपरिवारको माग पूरा गराउन सक्ने व्यक्तिका रूपमा ठान्छ । सके पनि नसके पनि परिवारको आर्थिक दायित्व धेरैजसो घरमा पुरुषमै छ । जस्तोसुकै स्वभावका पुरुष पनि बलवान् भएको अभिनय गर्न बाध्य छन ।
समाजले पुरुष हिंसापीडितलाई महिलालाई जस्तो स्थान दिँदैन । उल्टो पुरुषलाई नै कमजोर ठानिन्छ । भावनात्मक रूपमा उसलाई अपमानित गर्छ । पुरुषत्वमाथि नै प्रश्न गर्छ तर हिंसा जसलाई भए पनि हिंसा नै हो । महिला, बालबालिका, पुरुष हुन् वा ज्येष्ठ नागरिक कसैमाथि पनि हिंसा हुनु हुँदैन । पितृसत्ता सबै ठाउँ उही रूपमा बलियो छैन, भूगोल, वर्ग र समुदाय अनुसार यसको असर फरक–फरक छ । लिंग र वर्ग दुवैमा पितृसत्ताले असर गरेको छ । पितृसत्ताले सबैभन्दा धेरै आक्रमण घरभित्रै गरेको छ ।
सुरक्षित स्थान मानिने घरलाई हिंस्रक बनाएको छ । पतिपत्नीकै कुरा गरौं, अहिलेका धेरै पुरुष समान खालका जीवनसाथी चाहन्छन । आपसमा काम र जिम्मेवारी बाँडफाँड गर्न रुचाउँछन । घरको होस् या बाहिरको काम, सबैतिर सहकार्य गर्नु आवश्यक ठान्छन्, जसलाई पितृसत्ताले रोकिरहेको छ । पितृसत्ताको विकल्प मातृसत्ता होइन । अहिलेको युग कुनै सत्ताको होइन समानताको हो । पितृसत्ताविरुद्ध उभिदा पुरुषको होइन, पितृसत्तात्मक पद्धतिको विरोध र समानताको वकालत हुन्छ ।
महिलाले अधिकार लिनु भनेको पुरुषको खोस्नु होइन । समान अधिकार उपभोग गर्नु हो । महिला पुरुष दुवैलाई आर्थिक, सामाजिक, शारीरिक, मनोवैज्ञानिक र सांस्कृतिक रूपमा स्वतन्त्र बनाउनु हो । हिंसामुक्त समाजतर्फ उन्मुख हुनु हो । पुरुषलाई समेत बोझ बनेको पितृसत्ताबारे अब पुरुषकै कोणबाट पनि बहस जरुरी छ ।