अझैपनि दाशप्रथाको अबशेषको रुपमा रहेको कृषि बधुवा मजदुरः हरवाचरवाको मुक्ति र पुनस्र्थापनाको संयुक्त आन्दोलनमा हरवाचरवा यूवाहरुको संग्लनता बृद्धी गर्ने उद्देश्यले सिराहाको लहानमा ३ दिने हरवाचरवा यूवा एक्टिभिजम तथा जनवकालत तालिम लहानमा शुरु भएको छ ।
नेपालको परिवर्तित राजनितिक सामाजिक सन्दर्भ, कृषि बधुवा मजदुर सम्बन्धी राज्यका निति तथा कानुन सम्बन्धी हरवाचरवा यूवाहरुको क्षमता अभिबृद्धी गर्न तालिमको आयोजना गरिएको कुरा राष्ट्रिय दलित नेटवर्कका जनवकालत अधिकृत रुपनारायण पासवानले बताउनु भयो ।
३ दिन सम्म चल्ने तालिममा हरवाचरवाका बर्तमान समस्या र सवालहरु पहिचान र प्राथमिकीकरण भई मुक्ति र पुनस्र्थापनाको आन्दोलनमा ६ महिने जनवकालत योजना समेत निर्माण हुनेछ । साथै तालिममा अभियान र आन्दोलन सञ्चालनका लागि हरवाचरवा यूवाहरुको भूमिकाबारे छलफल भई स्थानिय, प्रादेशिक र संघीय स्तरमा नितिगत जनवकालत सञ्चालन गर्नका लागि एक्टिभीष्टहरुले चाल्नुपर्ने कदमका बारेमा पनि सामान बुझाई कायम हुनेछ ।
उक्त तालिममा मधेश प्रदेशका ६ वटा जिल्लाहरु सप्तरी, सिराहा, धनुषा, बारा, पर्सा र रौतहटका ३० जना हरवाचरवा यूवाहरुको सहभागिता रहेको छ । द फ्रिडम फण्डको आर्थिक सहयोग, राष्ट्रिय हरवाचरवा अधिकार मञ्चसंगको सहकार्यमा राष्ट्रिय दलित नेटवर्कको आयोजनामा मिति २०७८ फागुन २२ देखि २४ सम्म सञ्चालन हुने तालिमको सहजीकरण द फ्रिडम फण्डका बालाराम भट्टराई, जियाम श्रेष्ठ, भूमिबिज्ञ जगत देउजा, मानवअधिकारकर्मी राजु पासवान र राष्ट्रिय दलित नेटवर्कका टीम लिडर हुकुम सार्कीले गर्नुहुनेछ ।